कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद् बैठक : २ हजारभन्दा बढी कर्मचारी दरबन्दी स्वीकृत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले नयाँ संगठन र व्यवस्थापनका लागि २ हजार ५ सय ५५ कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । आफ्नो संगठन र व्यवस्थापनमा हेरफेर गर्दै कर्णाली सरकारले प्रदेशअन्तर्गत जम्मा १ सय ५९ एकाइ रहने गरी संगठन र व्यवस्थापनको निर्णय गरेको हो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता विमला केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रस्तावमा कर्णाली प्रदेशअन्तर्गत मन्त्रालय, सचिवालय, आयोग, कार्यालय गरी १ सय ५९ एकाइ रहने गरी प्रस्ताव स्वीकृत गरेको जनाइन् ।


प्रवक्ता केसीका अनुसार नयाँ व्यवस्थापन तथा संगठन सर्वेक्षण (ओएनएम) गरी मन्त्री केसीले नयाँ संरचनाअनुसार सबै मन्त्रालयमा ब्रिफिङसमेत गरिसकिएको छ । ‘जनतालाई संघीयताको अनुभूति गर्न डिभिजन कार्यालयलाई जिल्ला कार्यालयमा परिवर्तन गरिएको छ,’ उनले भनिन्, ‘जनतालाई सेवा प्रवाहमा सहज गराउन नयाँ व्यवस्था गरिएको छ ।’ यसअघि खडा भएका डिभिजन कार्यालयले २/३ वटा जिल्ला हेर्ने गरेको थियो भन्दै प्रवक्ता केसीले सहजताका लागि प्रत्येक जिल्लामा विकास कार्यालय खोल्ने निर्णय गरिएको बताइन् ।


त्यस्तै केही प्रयोगशाला मर्ज गरिएको छ । मन्त्रिपरिषदको बैठकले दैलेखको गुराँस गाउँपालिकाको प्रशासनिक केन्द्र साबिक बराह गाविस ४, रतिखोलाबाट रानीमत्तामा सार्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।


यस्तै वैठकले जुम्लाको कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गरी खस हाँटसिँजा नामाकरण गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । बैठकले प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई केही परिमार्जनसहित प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?