१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

पासागाड पुल ५ वर्षदेखि अलपत्र

‘दैनिक डोजर लगाएर ट्र्याक नबनाए यातायातका साधन वारपार हुन सक्दैनन्, ‘जबरजस्ती खोलामा गाडी गुडाउँदा फस्ने र बगाउने डर उस्तै’
भीमबहादुर सिंह

जाजरकोट — छिन्चु–जाजरकोट खण्डमा यातायात सञ्चालन भएको ११ वर्ष बित्यो । सडक कालोपत्र भएको पनि ४ वर्ष बितेको छ । तर उक्त सडकमा पर्ने पासागाड खोलामा पुल निर्माण ५ वर्षदेखि अलपत्र छ । 

पासागाड पुल ५ वर्षदेखि अलपत्र

पुल निर्माणका लागि ५ वर्षअघि ठेक्का सम्झौता भएको थियो । खलंगाको प्रवेशद्वार मानिने खोलामा पुल बन्न ढिलाइ हुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । पुल नहुँदा वर्षायाममा पटकपटक यातायात सेवा अबरुद्ध हुने गरेको छ । खोलामा आएको बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती भएको हो । पुल नबन्दा बाढी आएको बखत रातभर सवारी साधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक भीमबहादुर बुढाले बताए । ‘दैनिक डोजर लगाएर ट्र्याक नबनाए यातायातका साधन वारपार हुन सक्दैनन्,’ उनले भने, ‘जबरजस्ती खोलामा गाडी हाल्दा फस्ने र बगाउने समस्या छ ।’


पासागाड खोलामा गलत डिजाइनका कारण ५ वर्षदेखि पुल अलपत्र परेको हो । सडक विभाग र आईएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीको कारण पुल निर्माण अलपत्र परेको हो । परामर्शदाता कम्पनीले ७ लाखको लागतमा पुलको डिजाइन बनाएको कार्यालयले जनाएको छ । २ वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अझै सुरु भएको छैन । परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण कार्य हुन नसकेको सडक डिभिजन कार्यालय, चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए ।


पुल निर्माणका लागि ५ वर्षअघि ३ करोडमा लुम्बिनी(आशिष जेभी निर्माण सेवा काठमाडौंले सडक विभागसँग सम्झौता गरेको थियो । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबिच तालमेल नमिल्दा काम सुरु नभएको डिभिजन प्रमुख भट्टले बताए । उनका अनुसार सम्झौता अनुरुपको लागत र निर्माण कार्यको तालमेलसमेत मिलेको छैन । ‘पुलको डिजाइन एक छ, निर्माणस्थलको लोकेसन अर्को छ,’ उनले भने, ‘त्यसैले निर्माणमा समस्या देखियो ।’ परामर्शदाता कम्पनीले ४६ मिटर लम्बाइको पुल डिजाईन गरेको छ । तर पासागाड खोलामा सर्भे गर्दा २५ मिटरभन्दा लामो दूरी नभेटिएको उनको भनाइ छ ।


प्राविधिकले ३ वर्षअघि निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको हो । सडक विभागलेे फेरि डिजाइन गरेर ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने निश्चित भए तत्काल कार्य सुरु गर्ने कम्पनीले जनाएको छ । आईएमई आरसी कन्सल्टेन्सीलाई नै पुलको ‘रि–डिजाइन’ गर्न लगाएर पुल निर्माण प्रक्रिया अधि बढाउन लागेको डिभिजन प्रमुख भट्ट बताउँछन् । २ साताभित्र रि–डिजाइन स्वीकृतिका लागि विभागमा पेस हुने उनले दाबी गरे । ‘डिजाइन परिवर्तन हुन्छ,’ उनले भने, ‘तर ठेक्का रकम परिवर्तन हुदैन ।’

प्रकाशित : भाद्र ९, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?