पासागाड पुल ५ वर्षदेखि अलपत्र

‘दैनिक डोजर लगाएर ट्र्याक नबनाए यातायातका साधन वारपार हुन सक्दैनन्, ‘जबरजस्ती खोलामा गाडी गुडाउँदा फस्ने र बगाउने डर उस्तै’
भीमबहादुर सिंह

जाजरकोट — छिन्चु–जाजरकोट खण्डमा यातायात सञ्चालन भएको ११ वर्ष बित्यो । सडक कालोपत्र भएको पनि ४ वर्ष बितेको छ । तर उक्त सडकमा पर्ने पासागाड खोलामा पुल निर्माण ५ वर्षदेखि अलपत्र छ । 

पुल निर्माणका लागि ५ वर्षअघि ठेक्का सम्झौता भएको थियो । खलंगाको प्रवेशद्वार मानिने खोलामा पुल बन्न ढिलाइ हुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । पुल नहुँदा वर्षायाममा पटकपटक यातायात सेवा अबरुद्ध हुने गरेको छ । खोलामा आएको बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती भएको हो । पुल नबन्दा बाढी आएको बखत रातभर सवारी साधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक भीमबहादुर बुढाले बताए । ‘दैनिक डोजर लगाएर ट्र्याक नबनाए यातायातका साधन वारपार हुन सक्दैनन्,’ उनले भने, ‘जबरजस्ती खोलामा गाडी हाल्दा फस्ने र बगाउने समस्या छ ।’

पासागाड खोलामा गलत डिजाइनका कारण ५ वर्षदेखि पुल अलपत्र परेको हो । सडक विभाग र आईएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीको कारण पुल निर्माण अलपत्र परेको हो । परामर्शदाता कम्पनीले ७ लाखको लागतमा पुलको डिजाइन बनाएको कार्यालयले जनाएको छ । २ वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अझै सुरु भएको छैन । परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण कार्य हुन नसकेको सडक डिभिजन कार्यालय, चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए ।

पुल निर्माणका लागि ५ वर्षअघि ३ करोडमा लुम्बिनी(आशिष जेभी निर्माण सेवा काठमाडौंले सडक विभागसँग सम्झौता गरेको थियो । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबिच तालमेल नमिल्दा काम सुरु नभएको डिभिजन प्रमुख भट्टले बताए । उनका अनुसार सम्झौता अनुरुपको लागत र निर्माण कार्यको तालमेलसमेत मिलेको छैन । ‘पुलको डिजाइन एक छ, निर्माणस्थलको लोकेसन अर्को छ,’ उनले भने, ‘त्यसैले निर्माणमा समस्या देखियो ।’ परामर्शदाता कम्पनीले ४६ मिटर लम्बाइको पुल डिजाईन गरेको छ । तर पासागाड खोलामा सर्भे गर्दा २५ मिटरभन्दा लामो दूरी नभेटिएको उनको भनाइ छ ।

प्राविधिकले ३ वर्षअघि निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको हो । सडक विभागलेे फेरि डिजाइन गरेर ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने निश्चित भए तत्काल कार्य सुरु गर्ने कम्पनीले जनाएको छ । आईएमई आरसी कन्सल्टेन्सीलाई नै पुलको ‘रि–डिजाइन’ गर्न लगाएर पुल निर्माण प्रक्रिया अधि बढाउन लागेको डिभिजन प्रमुख भट्ट बताउँछन् । २ साताभित्र रि–डिजाइन स्वीकृतिका लागि विभागमा पेस हुने उनले दाबी गरे । ‘डिजाइन परिवर्तन हुन्छ,’ उनले भने, ‘तर ठेक्का रकम परिवर्तन हुदैन ।’

प्रकाशित : भाद्र ९, २०७६ ०९:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वन्यजन्तुको त्रासले बारीमै बास, बाली जोगाउनै मुस्किल

कान्तिपुर संवाददाता

सल्यान, मुगु — कालीमाटी गाउँपालिकास्थित बालुवामा लगाएको अन्नबाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । वन्यजन्तुले जथाभावी मकैबाली नष्ट गर्न थालेपछि स्थानीयलाई अन्नबाली जोगाउन मुस्किल भएको छ ।

बालुवाका किसानले ३ सय रोपनीमा लगाएको बाली बाँदर, बँदेल र दुम्सीले नष्ट पार्न थालेको छ । वन्यजन्तुले मकैबाली नष्ट पार्न थालेपछि गाउँका सय परिवारले पालो लगाएर बारीमा पहरा दिन थालेका छन् ।

भर्खरै घोगा लाग्न थालेको बाली नष्ट पार्न थालेपछि समस्यामा परेको स्थानीयको गुनासो छ । स्थानीय चित्रबहादुर खत्रीले ४ रोपनीमा लगाएको मकै वन्यजन्तुबाट जोगाउन समस्या भएको बताए । ‘बारीमा पालो लगाइ पहरा दिइरहेका छौं, वन्यजन्तु हुल बाँधेर बारीमा पस्ने गरेकाले नियन्त्रणमा समस्या भइरहेको छ,’ उनले भने, ‘मकैमा भर्खरै घोगा लाग्न थालेको छ, तर बाली बचाउनै मुस्किल भइसक्यो ।’ रातिको समयमा वन्यजन्तुले बढी दुःख दिने गरेको उनको भनाइ छ । उनका अनुसार रातभर बारीमा कुकुर छोडे पनि वन्यजन्तुलाई नियन्त्रणमा लिन समस्या भएको हो ।

बाँके राष्ट्रिय निकुञ्जबाट आउने वन्यन्तुले बारीमा क्षति पुर्‍याउने गरेको स्थानीय दिलाराम पुनले बताए । उनले वन्यन्तुकै कारण बर्सेनि मकैबाली भित्र्याउन नपाइने गुनासो गरे । ५ रोपनीमा लगाइएको मकैमध्ये आधा वन्यजन्तुले नष्ट पारिसकेको स्थानीय विमला बस्नेतले गुनासो गरिन् । विभिन्न उपाय गर्दै वर्षौंदेखि बाली जोगाउने प्रयास विफल भएको उनको भनाइ छ । ‘बाली जोगाउन वर्षैपिच्छे नयाँ उपाय लगाउँछौ, तर बाली बचाउन सकेका छैनौं,’ उनले भनिन्, ‘पासो थाप्ने, बारीमा बुख्याँचा राख्ने, पहरा दिने, बारीमा घण्टी झुण्ड्याउने लगायत उपाय अपनायौं, तर अहिलेसम्म सफल भएनौं ।’

जंगली जनावरले यस वर्ष क्षति गर्दैन कि भन्ने आशामा मकै लगाए पनि बाली जोगाउन मुस्किल हुने गरेको स्थानीय रेवती घर्तीले बताइन् । उनका अनुसार सबैभन्दा बढी बाँदर धपाउन समस्या हुने गरेको छ । ‘दुम्सी र बँदेल बारीमा पस्न नदिन आसपासका क्षेत्रमा आगो बालेर धुँवा निकाल्ने गरेका छौं, तर बाँदर बारीमा पसेपछि धपाउनै हैरान छ,’ उनले भनिन्, ‘एकातिरबाट धपायो अर्कोतिरबाट हुलका हुल बाँदर पस्ने गरेकाले सास्ती भएको छ ।’

जंगली जनावरले जिल्लाका विभिन्न स्थानमा मकै र तरकारी बालीमा क्षति पुर्‍याउने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रेशमबहादुर बस्नेतले बताए । उनले भने, ‘तर कार्यालयमा राहतको लागि बजेट व्यवस्था नहुँदा समस्या भइरहेको छ ।’

रोकिएन भालु आतंक
रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भालु आतंक बढेपछि स्थानीय त्रसित बनेका छन् । निकुञ्जबाट बस्तीमा पस्ने भालुले अन्नबाली र स्याउ नष्ट गर्न थालेपछि किसानलाई सास्ती भएको हो । भालुले पशुचौपायालाई आक्रमण गर्ने क्रम बढेको स्थानीयको गुनासो छ ।

मुगुका झयारी, माथितुम, मुर्मा, ताल्चा, पिना, सिगाडी, चुगालगायत गाउँका बासिन्दा भालु आतंकका कारण त्रसित बनेका हुन् । भालुले पाक्न थालेको कोदो, मकै र स्याउ खाने र जथाभावी नष्ट गर्ने गरेको झयारीका बिजलाल कामीले बताए । ‘भालु गाउँ पसेर मेरो २ गोरु र घोडा मार्‍यो,’ उनले भने, ‘अन्नबाली पनि नष्ट पार्ने क्रम बढेको छ, नियन्त्रणका लागि निकुञ्जले ध्यान नदिँदा किसान समस्यामा परेका छौं ।’

निकुञ्ज क्षेत्रमा चरनमा गएका गाईभैसी र घोडाखच्चरलाई भालु आक्रमणबाट जोगाउन मुस्किल भएको स्थानीयले गुनासो गरेका छन् । भालुले स्थानीयको मौरी घारमा समेत क्षति पुर्‍याउने गरेको छ । भालुको डरले चौपाया चराउन र घाँस–दाउरा जान समस्या भएको कामीले सुनाए ।

निकुञ्जका वन्यजन्तुले केही क्षति पुर्‍याए मुल्यांकनका आधारमा पीडितलाई क्षतिपूर्ति दिइने निकुञ्ज संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । उनका अनुसार पीडितले क्षति खुल्ने तस्बिरसहित मुचुल्का र निबेदन कार्यालयमा पेस गरे आवश्यक मूल्यांकन गरी राहत दिने व्यस्था छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT