कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सल्यानमा थपिए ११ वटा सिंचाई कुलो

विप्लव महर्जन

सल्यान — सल्यानका विभिन्न स्थानमा परम्परागत कुलो भत्काएर पक्की कुलो बनेका छन् । यसले उब्जनी बढ्ने भन्दै स्थानीय किसान खुसी देखिएका छन् ।

सल्यानमा थपिए ११ वटा सिंचाई कुलो

कृषि ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७५/७६ मा विनियोजन गरेको २ करोड २२ लाख रूपैयाँबाट जिल्लाका बिभिन्न ठाँउमा ११ वटा सिँचाइ कुलो निर्माण भएका हुन् । ५ किलोमिटर लामो पक्की कुलोबाट तीन सय घरपरिवार लाभान्वित भएका ज्ञानकेन्द्रका कृषि अधिकृत रेशमकुमार बस्नेतले बताए । उनका अनुसार कुलो बनेपछि २३ हेक्टर जग्गामा किसानले बाह्रैमास सिँचाइ सुविधा पाएका छन् ।


कृषि ज्ञानकेन्द्रको अनुदानमा बनगाडकुपिण्डे नगरपालिका–१०, टाटकेमा पक्की कुलो बनेको छ । ज्ञानकेन्द्रको ८ लाख अनुदानमा ७ सय ५० मिटर पक्की सिँचाइ कुलो निर्माण गरिएको हो । कुलो निर्माणपछि अहिले स्थानीयलाई धानबालीमा सिँचाइ गर्न सहज भएको छ । उनीहरूले तरकारी खेतीसमेत गर्न थालेका छन् । ‘पहिले त मकै र गहुँमात्र लगाउँथ्यौं, अहिले धान र तरकारीसमेत लगाउन थालेका छौं,’ स्थानीय चम्फा पुरीले भनिन्, ‘बाह्रैमास बाली लगाउन पाइने भएपछि खुसी लागेको छ ।’


त्यस्तै ज्ञानकेन्द्रकै अनुदानमा कालीमाटी गाउँपालिका १, लहरेमा पनि जर्खेनी सिँचाइ कुलो निर्माण भएको छ । ७ लाख अनुदानमा १ सय ३८ मिटर लामो कुलो निर्माण भएको हो । कुलो बनेपछि १ सय ५० रोपनी जग्गामा सिँचाइ सुविधा उपलव्ध भएको छ । ‘कुलो बनेपछि हामीले मकै काटेर धान रोपिसकेका छौं,’ लक्ष्मीपुरका किसान केशव बोहोराले भने, ‘सिँचाइले हामीलाई धेरै सुविधा दिएको छ ।’ उनले पक्की सिँचाई कुलोले खेतीप्रति नित्साहित भएका किसानलाई उत्साहित बनाएको बताए । सिँचाई अभावमा कतिपयले त खेतीपाती नै छाडिसकेका उनको भनाइ छ । सिँचाईपछि तीनवटा बाली लगाउन मिल्ने उनको भनाइ छ ।


शारदा नगरपालिका(६, बरलामा निर्मित कुलोले त्यहाँको १ सय ५ रोपनी जग्गामा सिँचाइ सुविधा पुगेको छ । कुलोबाट एक दर्जन किसान लाभान्वित भएका कृषि ज्ञानकेन्द्रले जनाएको छ । कच्ची कुलोलाई पक्की संरचनामा ढालेपछि बर्षातको समयमा धानबाली लगाएको जग्गामा सिँचाइ गर्न सजिलो भएको बरलाका किसान टोपेन्द्रप्रसाद गौतमले बताए । ‘कुलो कच्ची भएका कारण बर्षायाममा पनि खेतमा सिँचाइ गर्न धौ थियो,’ उनले भने, ‘कच्ची कुलोले गर्दा पानी बीचैमा हराउने गर्थ्यो, कुलो भत्किने समस्याले बारम्बार सताउँथ्यो, अहिले धेरै राहत भएको छ ।’


ज्ञानकेन्द्रका कृषि अधिकृत बस्नेतले किसानलाई कृषिप्रति आकर्षित गर्न सिँचाइमा ध्यान दिइएको बताए । सिँचाइ अभावमा अब खेतबारी बाँझो नरहने उनको भनाइ छ । ‘सिँचाइ सुविधापछि गाउँमा कृषिको व्यावसायिकीकरणमा पनि टेवा पुग्नेछ,’ उनले भने, ‘यसले गर्दा गाउँमा केही पनि छैन भन्दै रोजगारीको लागि विदेश जाने युवालाई पनि गाउँमै रोक्न सहयोग मिल्नेछ ।’ ज्ञानकेन्द्रले साना सिँचाइ आयोजना कार्यक्रमअन्तर्गत सिँचाई कुलो निर्माण गर्दै आए पनि अझै पनि जिल्लामा करिब ४ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझो रहेको उनले बताए ।

प्रकाशित : भाद्र ८, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?