१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

शारदाको भेलले सम्पर्क विच्छेद

सल्यान — त्रिवेणी गाउँपालिका–१ काभ्रा र २ नम्बर वडाको कारागिठी जोड्न शारदा खोलामा पुल छैन । सदरमुकाम खलंगा र गाउँपालिकाको कार्यालय रहेको लुहाम आउजाउ गर्नेले खोला नतरी सुख छैन । 

खोलामा पुल नभएकाले वर्षामा स्थानीय आउजाउ गर्न सक्दैनन् । सरकारी सेवा गाउँमा नपुग्ने, केन्द्र आफैं धाएर जान खोलाले बाधा पर्दा दुर्गमका बासिन्दालाई सास्ती छ ।


शारदा खोलामा पुल नहुँदा साबिक कारागिठी गाविसका ४ सय ६३ घरधुरीलाई मर्का परेको हो ।स्थानीय कर्णबहादुर बोहराले कारागिठीसम्म पुग्ने सडक भए पनि खोलामा पुल नभएकाले यतिबेला गाडी पनि नचलेको बताए । ‘राजागिठी र शंखपीपल जोड्ने झोलुंगे पुल तर्न नै कम्तिमा एक घण्टा हिड्नुपर्छ,’ उनले भने, ‘पुल पनि धराप छ । त्यो पुलबाट आउजाउ गर्न नपरे हुन्थ्यो जस्तो लाग्छ ।’


पक्की पुल नहुँदा स्थानीयलाई खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या छ । सरकारका निकायमा पुल निर्माणका लागि बारम्बार आग्रह गरिए पनि बेवास्ता भइरहेको स्थानीयको गुनासो छ । पुद निर्माणका लागि स्थानीय तहले बजेट हाल्न सक्ने हैसियत नभएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताए । ‘शारदा खोलामा पक्की पुल गर्न गाउँपालिकाको बजेटले भ्याउँदैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका छौं, सुनेनन् ।’

प्रकाशित : भाद्र ८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?