१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

निःशुल्क खाजाले विद्यार्थी बढे

विद्यालयबाहिर रहेकालाई ल्याउने, भर्ना भएकालाई टिकाउने र गुणस्तर बढाउने भन्दै अघिल्लो वर्षदेखि विद्यार्थीलाई निःशुल्क दिवा खाजा
हरि गौतम

रुकुम पश्चिम — यमुनानन्द नमूना मावि सेरीगाउँको कक्षा ३ का लवकुमार बिक विद्यालयमा सधै दिवा खाजा खान्छन् । सोही विद्यालयमा अध्ययनरत कक्षा ४ की एन्जिला केसीले पनि विद्यालय आएको दिन सधैं खाजा खाइरहेकी छिन् । 

निःशुल्क खाजाले विद्यार्थी बढे

उनीहरू मात्र होइन्, विद्यालयका आधारभूत तह (कक्षा १ देखि ५ सम्म) का १ सय ५० विद्यार्थीले विद्यालयमै खाजा खान्छन् । उनीहरूलाई विद्यालयले निःशुल्क खाजा खुवाउँछ ।


विद्यार्थीले घरबाट ल्याएको प्लेटमा झन्डै डेढ वर्षदेखि विद्यालयले खाजा उपलव्ध गराइरहेको छ । विद्यालयबाहिर रहेकालाई ल्याउने र भर्ना भएकालाई टिकाउने गुणस्तर वृद्धि गर्न भन्दै अघिल्लो वर्षदेखि विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउन थालेको हो । विद्यालयको निःशुल्क खाजा खाएपछि विद्यार्थीले थप २ घण्टा पढ्नुपर्छ ।


विद्यालयले थालेको खाजा खाएपछि विद्यार्थीले बेलुकी ४ बजेपछि थप दुई घण्टा पढ्छन् । ‘२०७५ वैशाख १० गतेदेखि १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई हामी नियमित थप २ घण्टा पढाउँछौं,’ दिवा आवासीय कार्यक्रमका इन्चार्ज शिक्षक युवराज गिरीले भने, ‘पठनपाठनका साथै अतिरिक्त कार्यकलाप गराएर विद्यार्थीको क्षमता बढाउने प्रयास भइरहेको छ ।’


थप कक्षामा नियमित कक्षाको पाठ दोहोर्‍याउनुका साथै खेलकुद, सामान्य ज्ञान, सामाजिक र व्यवहारिक कुरा सिकाउने गरिएको गिरीले जनाए । उनका अनुसार हरेक कक्षामा एक/एक जना शिक्षकले जिम्मा लिएर पठनपाठन गराउने गरेका छन् ।


आधारभूत तहमा विद्यार्थी संख्या घटै गएपछि विद्यार्थी बढाउन निःशुल्क दिवा खाजा सुरु गरिएको विद्यालयले जनाएको छ । मुसीकोट नगरपालिकाको आर्थिक सहयोगमा दिवा खाजा सञ्चालन गरिरहेको प्रध्यानाध्यापक दामोदर पौडेलले बताए ।


विद्यालयमा निःशुल्क दिवा खाजाको साथै पठनपाठन पनि अंग्रेजी माध्यमबाट सुरु गरिएको प्रअ पौडेलको भनाइ छ । ‘हामीले दिवा खाजा पनि निःशुल्क खुवाउन थाल्यौं,’ प्रअ पौडेलले भने, ‘पठनपाठन पनि अंग्रेजी माध्यमबाट थाल्यौं, यसले विद्यार्थीको आगमनदर बढाएको छ ।’


अंग्रजी माध्यमबाट पठन पाठन सुरु भएको र खाजा पनि निःशुल्क दिन थालेपछि निजि स्कूल छाडेर पनि विद्यालय आउने गरेको दावी प्रअ पौडेलको छ । दिवा खाजाले विद्यार्थीलाई नियमित बनाएको, विद्यार्थी जंक फूड खानबाट टाढा रहेको र अभिभावक पनि आर्थिक भारबाट बचेको प्रअ पौडेलले जनाए ।


थप कक्षा लिन थालेपछि विद्यार्थी पढाइको साथै सामाजिक र व्यवहारिक कुरा पनि सिक्न थालेको विद्यालयले जनाएको छ । गत वर्ष निःशुल्क दिवा खाजाका लागि मुसीकोट नगरपालिकाले ११ लाख ८२ हजार रुपैयाँ दिएको थियो ।


उक्त बजेटबाट विद्यालयले यो वर्षसमेत खाजा खुवाइरहेको छ । एक वर्षका लागि आएको बजेट मितव्ययी रुपमा परिचालन गरेर २ वर्षसम्म पुर्‍याउने लक्ष्य राखिएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार सोही बजेटबाट भान्से तथा शिक्षकको व्यवस्थापन गरिएको छ ।


हरेक दिन थप २ घण्टा कक्षा लिने शिक्षकले हरेक दिनको एक सय रुपैयाँमै विद्यार्थीलाई पढाइरहेका छन् । मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना दर बढाउने उपाय खोज्दै जाँदा निःशुल्क खाजाको उपाय निस्केको बताए ।


‘निःशुल्क खाजाले कतिको विद्यार्थी आउछन् भनेर एउटा विद्यालयमा परीक्षण गरेका हौं,’ नगरप्रमुख गौतमले भने, ‘नतिजा राम्रै आएको छ, अब अरु विद्यालयका लागि पनि गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

प्रकाशित : भाद्र ७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?