२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पढाउँदै कार्यालय सहयोगी

विप्लव महर्जन

सल्यान — शिक्षक अभाव हुँदा बन्गाडकुपिण्डे नगरपालिका ४, देउलीमा रहेको बाललीला प्राविमा कार्यालय सहयोगी राधिका परियारले अध्यापन गराइरहेकी छिन् ।२०६६ सालमा स्थापना भएको विद्यालयमा अहिलेसम्म सरकारी दरबन्दीका शिक्षक छैनन् ।

निजी स्रोतबाट भर्ना गरिएका २ शिक्षकमध्ये प्रकाश बुढाले छाडेपछि कार्यालय सहयोगीले पढाउनुपर्ने बाध्यता भएको हो । बुढाले १ वर्षसम्म तलब नपाएको भन्दै पढाउन छाडेका थिए ।


बाल शिक्षादेखि कक्षा ३ सम्म सञ्चालित विद्यालयमा शिक्षिका जयन्ती बुढा मात्र कार्यरत छिन् । निजी स्रोतबाट भर्ना गरिएका शिक्षकलाई नगरपालिकाले तलबको व्यवस्था गर्ने भने पनि बेवास्ता भइरहेको विद्यालयले जनाएको छ । शिक्षक अभावमा विद्यालको पठनपाठन गुणस्तरीय बन्न सकेको छैन ।


शिक्षक अभाव भएपछि विद्यार्थी संख्या बर्सेनि घटदै गएको शिक्षिका बुढाले बताइन् । विद्यालयमा अहिले २६ विद्यार्थी मात्र अध्ययनरत रहेको उनको भनाइ छ ।


शिक्षिका बुढाले एउटा कक्षामा पढाउँदा अर्को कक्षाका बालबालिका खेलेर बस्ने भएकाले आफूले पनि पढाउन थालेको सहयोगी परियारले बताइन् । ‘एकजनाले सबैलाई पढाउन नभ्याउने अवस्था छ त्यसैले दुवैले सामूहिक पठनपाठन गराइरहेका छौं,’ उनले भनिन्, ‘कहिलेकाहीं शिक्षिका बाहिर जाँदा विद्यालय बन्द हुने भएकाले मैले पनि पढाउन थालेकी हुँ ।’


स्थानीय सरकार शिक्षकको व्यवस्थापन गर्न गम्भीर नदेखिएको शिक्षिका बुढाको गुनासो छ । उनले पनि १ वर्षदेखि तलब नपाएको दुःखेसो पोखिन् । ‘पहिले अभिभावकबाट संकलन भएको रकमबाट तलब खाने गरेका थियौं, जिल्ला शिक्षा कार्यालयले वितरण गर्ने शिक्षक–विद्यार्थी अनुपातको अनुदानले पनि धेरै सहयोग पुर्‍याएको थियो,’ उनले भनिन्, ‘शिक्षाले दिने अनुदान पनि हट्यो, सुरुमा शिक्षकको तलबको व्यवस्था गर्छौं भनेका जनप्रतिनिधिले पनि अहिले बेवास्ता गरिरहेका छन् ।’ उनले कतिपय अवस्थामा शैक्षिक सामग्रीसमेत आफैंले किन्नुपर्ने अवस्था आएको सुनाइन् ।


निजी स्रोतका शिक्षकलाई लामो समयदेखि तलब खुवाउन नसक्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर बुढाले बताए । नगरपालिकामा गत वर्ष शिक्षा क्षेत्रमा विनियोजन गरिएको रकम फ्रिज गए पनि आफ्नो विद्यालयको विकासमा बेवास्ता भइरहेको उनको भनाइ छ ।


‘घरनजिकै विद्यालय छ,’ उनले भने, ‘तर शिक्षक अभावमा यहाँका विद्यार्थी एक/डेढ घण्टा टाढाका अन्य विद्यालयमा पढ्न बाध्य छन् ।’ उनका अनुसार नगरपालिकाका करिब एक दर्जन विद्यालय दरबन्दीका शिक्षकविहीन भएपछि पठनपाठनमा समस्या भइरहेको छ ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?