कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बिकेन खाद्यको चामल

जाजरकोट — नेपाल खाद्य संस्थानको डिपो (बिक्री केन्द्र) गाउँभन्दा टाढा हुँदा चामल बिक्रीमा समस्या भइरहेको छ । संस्थानको घाट, घोगी र चौखा डिपोमा चामल बिक्री हुन नसकेको हो । 

स्थानीय भने बजारबाट महंगो चामल किनेर गुजारा चलाउन वाध्य छन् । स्थानीयलाई संस्थानको डिपोमा पाइने अनुदान चामल लिन दिनभर हिड्नुपर्ने बाध्यता छ । बारेकोटका धुम, ताँसी, कुम्द, जिरी, मुल्सामलगायत गाउँका बासिन्दा घाट डिपो पुगेर चामल ल्याउन दिनभर हिड्नुपर्ने बाध्यता छ ।


त्यस्तै पैराम, गर्खाकोट, वुँदीडाडा, स्याङ्ग्रीलगायत गाउँका बासिन्दालाई घोगी डिपोमा पुगेर चामल ल्याउन कम्तिमा ७ घण्टा लाग्छ । ध्यारगाउँ, वानियागाउँ, सिउन, वायाकाडालगायत गाउँबाट चौकास्थित डिपोमा पुगेर अनुदानको चामल ल्याउन १ दिन लाग्ने गरेको स्थानीयको गुनासो छ ।


घाट डिपोमा पुगेर अनुदानको चामल लिन दिनभर हिड्नुपर्ने बाध्यताले बजारको महंगो चामल किनेर गुजारा चलाउन वाध्य भएको बारेकोट गाउँपालिका ४, कम्दका खड्ग रावतले बताए । उनका अनुसार स्थानीय बजारमा मोटो चामल प्रतिकिलो ७० रुपैयाँमा बिक्री भइरहेको छ । खाद्य संस्थानले अरुवा मध्यम चामल प्रतिकिलो ४५ रुपैयाँमा बिक्री गर्ने गरेको उनले जानकारी दिए ।


स्थानीय बासिन्दा किन्न नआउँदा संस्थानका डिपोमा चामल मौजदात रहेको हो । चामल बिक्री नभएपछि खाद्य संस्थानको घोगी डिपोमा ५ सय, घाट डिपोमा ३ सय र चौखा डिपोमा १ हजार ७ सय क्विन्टल गत आर्थिक वर्षकै चामल मौज्दात छ ।


त्यस्तै खलंगास्थित गोदाममा १ हजार ७ सय क्विन्टल चामल मौज्दात रहेको संस्थानले जनाएको छ । संस्थानका अनुसार डिपो र शाखा कार्यालयमा अरुवा मध्यम चामल मौज्जात रहेको हो ।


नायकबाडाका भक्तबहादुर बस्नेतले अनुदानको चामल र स्थानीय बजारमा पाइने विभिन्न ब्राण्डका चामलको मूल्य एउटै हुँदा पनि संस्थानको चामल नबिकेको बताए । जाजरकोटमा संस्थानका ४ डिपो छन् । संस्थानले दशेरा र घोगी डिपोका लागि नेपालगन्जबाट टेण्डर गरेर चामल ढुवानी गर्छ भने घाट र चौकाका लागि खलंगाबाट ढुवानी हुने गरेको छ ।


खलंगा गोदाम र गाउँका डिपोमा चामल किन्न स्थानीयबासी फाट्टफुट्ट आउने गरेको निमित्त कार्यालय प्रमुख रामप्रसाद पौडेलले बताए । गत आर्थिक बर्षमा १० हजार क्विन्टल अरुवा मध्यम चामल आपूर्ति भएको उनको भनाइ छ । जसमध्ये करिव ५ हजार क्विन्टल बिक्री हुन बाँकी रहेको उनले उनले जानकारी दिए । ‘दशेरा डिपोमा भने चामल मौज्दात छैन्,’ उनले भने, ‘दुर्गम क्षेत्रमा वर्सेनि असार र साउन महिनामा खाद्यान्नको माग बढी हुने गरेको छ, तर असार महिनामा ढुवानी नभएका कारण बिक्री कम भएको हो ।’

प्रकाशित : भाद्र ७, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?