कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गमगढी–नाग्मा सडक : गाडी नचल्दा भाउ अकासियो

गाडी चालक भन्छन्, ‘जताततै पहिरोको जोखिम छ, सामान्य वर्षा भए पहिरो खस्न थाल्छ, यस्तोमा कसरी गाडी चलाउनु ?’
राजबहादुर शाही

मुगु — अविरल वर्षाले ठाउँठाउँमा हिलाम्मे बनेपछि गमगढी–नाग्मा सडकको बेहाल भएको छ । पहिरो र हिलोका कारण यातायातका साधन सञ्चालनमा समस्या भएपछि यात्रुले सास्ती भोग्दै आइरहेका छन् ।

गमगढी–नाग्मा सडक : गाडी नचल्दा भाउ अकासियो

गमगढीदेखि घुच्चीलेकसम्मको २३ किमि सडक वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको छ । तलितुमदेखि मइतुलेकसम्मको ठाउँठाउँमा पानी जमेपछि यातायातका साधन फस्ने गरेको छ ।


सडकको जीर्ण अवस्थाकै कारण जहाजमार्फत रारा विमानस्थलमा ओर्लिएका यात्रु हिँडेरै गमगढी पुग्न बाध्य छन् । सडकमा सानादेखि ठूला सवारीसाधन चल्न समस्या भएको काञ्जीरोवा यातायात प्रालिका रमेश मल्ल बताउँछन् । उनका अनुसार यातायातका साधन ठाउँठाउँमा फसेर अलपत्र छन् ।


गाडी चल्न नसकेपछि यात्रुलाई बीच बाटोमै झारेर हिँडाउनुपर्ने बाध्यता भएको उनको भनाइ छ । रारा विमानस्थलमुनिको १२ मिटर सडकमा पहिरोको जोखिम बढेको उनले जानकारी दिए । ‘जताततै पहिरोको जोखिम छ, सामान्य वर्षा भए पहिरो खस्न थाल्छ,’ उनले भने, ‘यस्तोमा कसरी गाडी चलाउनु ?’


स्थानीयका अनुसार ताल्चादेखि पिना, झ्यारी, सातमोडलगायत स्थानमा पहिरो खस्ने क्रम बढ्दै गएको छ । सोरु गाउँपालिका ६ का केशर शाहीले सडकमा यातायातका साधन नचल्दा दिनभर हिँड्नुपर्ने बाध्यता भएको सुनाए । उनका अनुसार गमगढीदेखि रारा गिलाह–तारापानीसम्मको २३ किमि सडक पनि वर्षाका कारण अवरुद्ध छ । ‘ठाउँठाउँमा पहिरो छ, पहिरोले सडकमै रुख ढलेका छन्,’ उनले भने, ‘सम्बन्धित निकायले पहिरो नहटाउँदा सर्वसाधारणलाई सास्ती भयो ।’


गमगढी–रारा–गिलाह सडकमा पनि यातायातका साधन नचल्दा समस्या भएको सोरु गाउँपालिका ४, का गंगबहादुर शाही बताउँछन् । उनका अनुसार गमगढीदेखि चैन–बालैसम्मको सडकको अवस्था पनि जीर्ण छ । सवारीसाधन चल्न छोडेपछि स्थानीयलाई गमगढी आउआउ गर्न मुस्किल भएको उनले सुनाए ।


‘दैनिक उपभोग्य वस्तु र विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएपछि भाउ अकासिएको छ,’ उनले भने, ‘गाउँमा उत्पादित कृषिजन्य उत्पादन कुहिने अवस्था छ ।’ जुम्लाको गोठिज्युलादेखि कालाकाडा हुँदै गम्थासम्मको ३५ किमि सडकमा यातायातका साधन १ महिनादेखि चल्न सकेका छैनन् ।


ढुवानी समस्याले दैनिक उपभोग्य सामग्रीको मूल्य १५ प्रतिशतसम्म बढाउनुपरेको गम्थाका व्यापारी लोकराज दाहाल बताउँछन् । ‘ढुवानी सहज हुनबित्तिकै सामानको भाउ घट्नेछ,’ उनले भने, ‘सडकको अवस्था हेर्दा अझै १/२ महिना यातायातका साधन सञ्चालनमा समस्या हुने देखिएको छ ।’


नाग्मा–गमगढी सडकको ट्र्याक खुलेको दशक पुगे पनि स्तरोन्नति नहुँदा हिमपात र झरीले यातायातका साधन अवरुद्ध हुने गरेको छ । साउन तेस्रो सातादेखि वर्षा हुन थालेपछि सडकको अवस्था बेहाल हुन थालेको हो । सडक डिभिजन कार्यालय जुम्लाले अवरुद्ध सडक खुलाउन चासो नदेखाएको स्थानीयको गुनासो छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?