१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘गुटबन्दीले जनताको विश्वास गुम्यो’

वीरेन्द्रनगर — नेपाली कांग्रेसका तल्लो तहका नेताले पार्टी भित्रको गुटबन्दीका कारण जनताले विश्वास नगरेको बताएका छन् । नेतृत्व तहमा देखिएको गुटबन्दीले कार्यकर्ता तथा मतदाता विभाजित भएको उनीहरूको गुनासो छ ।

‘गुटबन्दीले जनताको विश्वास गुम्यो’

केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी कार्यकर्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।


कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन वृहत एकताको आवश्यकता रहेको कांग्रेसका दैलेख जिल्ला सभापति कृष्णकुमार बीसीले बताए । ‘सबै तहका कार्यकर्ताले पार्टीलाई एक बनाउन लाग्नुपर्छ,’ उनले भने, ‘पार्टीभित्र गुटबन्दी भईराखेमा जनताले दुःख पाईरहनेछन् ।’ कांग्रेस कमजोर भएका कारण लोकतन्त्र कमजोर हुँदै गएको उनले जिकीर गरे । जनताका आधारभुत आवश्यकता पूरा गर्न नेतृत्वबाट एकताको सुरुवात गर्न आवश्यक रहेको कार्यकर्ताको भनाइ छ ।


नेतृत्व तहमा देखिएको अहमताका कारण कार्यकर्ता विभाजित भएको केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य मोतिराज बमले टिप्पणी गरे । ‘माथि पुगिसकेपछि कार्यकर्ता बन्न नचाहने नेतृत्वमा घमण्ड छ,’ उनले भने, ‘यस्तो सोच त्यागेर म जनता र कार्यकर्ताको नेता हुँ भन्ने सोचेर नेतृत्वले सबैलाई एकतामा बाँध्न सक्नुपर्छ ।’

कांग्रेस कार्यकर्ता चुके बादीले गुटबन्दी अन्त्य नभएसम्म कांग्रेस सधैँ पछाडि पर्ने बताए । ‘नेतृत्व सधैँ लडिरहे कार्यकर्ता पनि मिल्न सक्दैनन्,’ उनले भने, ‘अहिले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण नै जनताले विश्वास गर्दैनन् ।’


नेतृत्वबाटै गुटबन्दी सुरु भएको भन्दै उनले आगामी चुनावमा पहिलो पार्टी बनाउन सबै कार्यकर्तालाई एकतामा बाँध्ने कामको सुरुवात गर्नुपर्ने बताए । अहिले पार्टीले सुरु गरेको प्रशिक्षणले पनि एकताको सुरुवात गर्ने विश्वास कर्णालीका कांग्रेस नेता तथा कार्यकर्ताले लिएका छन् ।


कांग्रेस रुकुमका पूर्वसभापति मानबहादुर नेपालीले कांग्रेसलाई बलियो बनाउन नेतृत्वले नै सुरु गरेको गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । ‘दुईटा नाउमा खुट्टा राखेर सफल भईँदैन,’ उनले भने, ‘यसरी विभाजित भएपछि आगामी निर्वाचनमा झन् नराम्रो हार बेहोर्नुपर्नेछ ।’


बिहीबार सम्पन्न हुने

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अब जनताको भरोसाको केन्द्र नै कांग्रेस हुने दाबी गरे ।


कम्युनिस्ट सरकारले जनताका सपनामाथि खेलबाड गरेको भन्दै उनले अब कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन आधारस्तम्भ खडा गनुपर्ने बताए । ‘विगतका कमजोरी औँल्याएर सबै एक हुन आवश्यक छ,’ उनले भने, ‘यो प्रशिक्षणले पार्टीमा नेता(नेताबिच देखिएको मतभेद पनि अन्त्य हुने विश्वास लिएको छु ।’


कांग्रेस उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई बलियो बनाउन सक्रिय कार्यकर्तालाई अगाडि ल्याउनुपर्नेमा जोड दिए । उनले गुटभन्दा पनि पार्टीको सिद्धान्तलाई प्राथमिकतामा राखेर अब अगाडि बढ्ने बेला आएको बताए ।


जनतासँग अन्तर्क्रिया तथा भेटघाट गरी उनीहरूका समस्या बुझ्ने कामको सुरुवात गर्न उनले कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?