२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हुलाकले हरायो अदालतको मिसिल

भीमबहादुर सिंह

जाजरकोट — हुलाकका कर्मचारीको लापरबाहीले जिल्ला अदालत जाजरकोटको सक्कल मिसिल हराएको छ । अदालतले ६ महिनाअघि जिल्ला हुलाक कार्यालय जाजरकोटमार्फत पठाएको मिसिल हालसम्म उच्च अदालत सुर्खेत पुगेको छैन । 

मिसिल समयमा नपुग्दा मुद्दाका पक्षलाई मर्का परेको अदालतका स्रेस्तेदार अधिकृत देवीराम भण्डारीले बताए ।


गत माघ १७ गते पठाएको जबरजस्तीकरणी उद्योग मुद्दाका २ मिसिल र गत फागुन १५ गते पठाएको निषेद्याज्ञाको १ गरी ३ मिसिल हुलाक कार्यालयको लापरबाहीले समयमा सम्बन्धित निकायमा नपुगेको उनले बताए । यातायातको सुविधा भएको अवस्थामा पनि ६/७ महिनासम्म चिठीपत्र सम्बन्धित निकायमा नपुग्नु हुलाक कर्मचारीको गैरजिम्मेवारी भएको उनको भनाइ छ ।


अदालतका मिसिल बा.५ख १८९२ नम्बरको डाँक गाडीले बुझेर लिएको निमित्त कार्यालय प्रमुख शेरबहादुर भण्डारीले बताए । हुलाक विभागले डाँक सेवा सञ्चालन गर्न वर्षभरिका लागि ३ लाख रुपैयाँमा भेरी अञ्चल यातायात व्यवसायी समितिसँग सम्झौता गरेको छ । मिसिल कुन स्थानमा पुग्यो भन्नेबारे अझै पत्ता लाग्न नसकेको उनले जानकारी दिए ।


हुलाक बैंकको ६० लाख निक्षेप हिनामिना

जिल्ला हुलाक कार्यालयले सञ्चालन गरेको ‘हुलाक बचत बैंक’ १ करोड ३० लाख रुपैयाँ घाटामा रहेको खुलेको छ । हुलाक बैंकका कर्मचारीले करिब ८ वर्षअघि हिनामिना गरेको ६० लाख रुपैयाँ असुली नभएपछि बैंक निष्क्रिय बनेको छ ।


निक्षेप घोटाला, निष्क्रिय निक्षेपलगायत कारण बैंक घाटामा गएको हो । विगतमा निक्षेपकर्ताको ६ करोड दायित्व बोकेको बैंक अहिले ५ करोड रुपैयाँमा झरेको छ । त्यो पनि ३ करोड रुपैयाँ निष्क्रिय निक्षेपका रुपमा छ । ६० लाख रुपैयाँ तत्कालीन कर्मचारीका नाममा बक्यौता छ ।


आनन्द बोहरा, राजेन्द्र अर्याल, शर्मिला थापा, कालिका नेपालीलगायत आधा दर्जन कर्मचारीले रकम हिनामिना गरेका हुन् । बोहराले ५७ लाख हजार २३ हजार, थापाले २ लाख, नेपालीले १ लाख २० हजार र अर्यालले ७० हजार निक्षेप हिनामिना गरेका छन् ।


सबैभन्दा बढी निक्षेप घोटाला गर्ने बोहराको ६/७ वर्षअघि मृत्यु भइसकेको छ । बोहराको मृत्यु भइसकेको छ । उनको घरका ब्यक्तिका नाममा निजी सम्पत्ति नहुँदा रकम असुल गर्न समस्या भएको निमित्त कार्यालय प्रमुख भण्डारीले बताए ।


कर्मचारीले हिनामिना गरेको केही रकम भने असुल भएको निमित्त प्रमुख भण्डारीले जनाए । निक्षेप रकम हिनामिना गर्ने कर्मचारी हुलाक विभागबाट सरुवा भएर अन्यत्र कार्यालयमा गइसकेको उनको भनाइ छ । बैंकको डेढ करोड बढी रकम निक्षेपकर्ताको ब्याजमा मात्र खर्च भएको छ ।


बैंकले निक्षेपकर्ता दैनिक भुक्तानी कारोबारीका लागि २ करोड रुपैयाँ सिटिजन्स बैंक र १ करोड केन्द्रीय धनादेश कार्यालयमा राखेको कार्यालयले जनाएको छ । त्यस्तै जाजरकोट हुलाक कार्यालयमा कार्यरत कर्मचारीलाई १८ लाख ऋण लगानी गरिएको छ ।


६ वर्षअघिसम्म ३ हजार निक्षेपकर्ता भएको उक्त बैंकमा अहिले २ हजार मात्र छन् । बैंक लथालिंग अवस्थामा पुगेपछि निक्षेपकर्ता घटेका हुन् । बैंकको आम्दानी शून्य हुँदा निक्षेपकर्तालाई वार्षिक २० लाख बढी ब्याज तिर्न समस्या भइरहेको छ ।


विगतमा निक्षेपकर्तालाई ५ प्रतिशत ब्याज दिने बैंकले पछिल्लो समय ७ प्रतिशत दिने गरेको छ । बैंकले लगानीका क्षेत्र फराकिलो पार्न नसक्दा घाटा भएको निमित्त प्रमुख भण्डारीले जनाए । ‘बैंकले आफ्नै कार्यालयका स्थायी कर्मचारी र क वर्गका बैकलाई लगानी क्षेत्र तोक्दा समस्या भएको हो । कर्मचारीले १० प्रतिशत र बैंकले साढे ७ प्रतिशत वार्षिक ब्याज तिर्नेगरी ऋण लिन पाउँछन् । हुलाक सेवा विभाग केन्द्रिय कार्यालयको निर्णयबिना अन्य क्षेत्रमा लगानी गर्न मिल्दैन ।


स्थायी कर्मचारीले ५ वर्षका लागि १ लाख ऋण लिन पाउने व्यवस्था छ । बैंक १६ वर्षअघि स्थापना भएको थियो । बैंकमा ब्यक्तिगत, संयुक्त र नाबालक खाता खोल्ने व्यवस्था छ । न्यून जनशक्ति, दक्ष तथा तालिम प्राप्त कर्मचारी नहुनु, छिटो सरुवा, अतिरिक्त सुविधा नहुनु, कमजोर भौतिक व्यवस्थापनलगायत कारण बैंकको कारोबार सञ्चालन गर्न समस्या भएको छ । १० वर्षअघिसम्म निक्षेप बचत बढी हुनेमा जाजरकोट मध्यपश्चिम क्षेत्रकै दोस्रो थियो ।


हुलाकका कर्मचारी बेकामे

पछिल्लो समय जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारी बेकामे बनेका छन् । अन्य सञ्चारमाध्यमको विकासका कारण हुलाकद्वारा चिठीपत्र आदानप्रदानमा कमी आएपछि कर्मचारी कामविहीन भएका हुन् । हुलाकमा सरकारी कार्यालयबाहेक चिठीपत्र आउन छाडेका छन् ।


कार्यालयको काम नहुँदा हुलाकका २ सय कर्मचारी बेकामे बनेका हुन् । बेकामे हुनेमा सबैभन्दा बढी हुलाकी र हल्कारा पदका कर्मचारी छन् । अधिकांश हल्कारा करार सेवामा कार्यरत छन् ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?