१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

उपत्यका खानेपानीमा विवाद

वीरेन्द्रनगर — सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा कर्मचारी भर्ना प्रक्रियालाई लिएर विवाद चुलिएको छ । संस्थाले कार्यालय प्रमुख डम्बरबहादुर गौतमलाई एक तह घटुवा गर्दै प्रमुखको जिम्मेवारीबाट हटाएपछि विवाद बाहिर आएको हो ।

कोषाध्यक्ष रामबहादुर गौतमले मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्षले बहुमतको नाममा मनपरि गरेका आरोप लगाए ।


कार्यालयमै बुधबार आयोजित पत्रकार सम्मेलनमा गौतमले संस्थाको विधानविपरित अध्यक्ष कुलमणि देवकोटाले काम गरेको भन्दै आपत्ति जनाए । ‘कार्यालय प्रमुखलाई झुटा मुद्दा लगाएर सफाइको समेत मौका नदिई पद घटुवा गरी प्रमुखको पदबाट हटाइयो,’ उनले भने, ‘मनपरिविरुद्ध बाध्य भएर संस्थाको विवाद बाहिर ल्याएको हुँ ।’ अदालतले कमर्मचारी नियुक्ति प्रक्रिया रोक्न आदेश दिएपछि आफ्ना सालालाई इन्जिनियर बनाउने योजना असफल भएकाले यस्तो काम भएको आरोप लगाए ।


संस्थाका अध्यक्ष देवकोटाले भने कार्यालय प्रमुखले आफ्नो जिम्मेवारी निर्वाह गर्नुको सट्टा संस्थालाई आघात पुग्ने काम गरेकोले स्पष्टीकरण लिई कानुनी प्रक्रियाबाटै हटाइएको दाबी गरे । १५ वर्षदेखि ज्यालादारी र करारमा रहेका कर्मचारीलाई कानुनसम्मत रूपमा स्थायी गर्ने प्रक्रिया थाल्दा कार्यालय प्रमुख नै संस्थाविरुद्ध अदालत गएको उनले बताए ।


‘हामीले चौबीस घण्टाभित्र जवाफ मागेका थियौं, कार्यालय प्रमुखले भने ३ दिनपछि त्यही पनि झारा भ्रमपूर्ण रूपमा जवाफ पठाउनुभयो,’ उनले भने, ‘पदमा राखिरहँदा संस्था चल्नै नसक्ने भएपछि जिम्मेवारीबाट वञ्चित गरिएको हो ।’ संस्थाका कर्मचारीले समेत अल्टिमेटम दिएर कार्यालय प्रमुखलाई हटाउन दबाब दिएका उनले बताए ।


सुर्खेत उपत्यकामा खानेपानी वितरण गर्ने जिम्मा लिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा करिब १७ हजार सदस्य छन् । संस्थामा हरेक ३ वर्षमा चुनाव हुने गर्छ । चुनावमा प्रत्यक्ष रूपमा राजनीतिक दलहरू प्यानल बनाएरै लड्ने गर्छन् ।

प्रकाशित : भाद्र ५, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?