सुध्रँदै अस्पतालको सेवा

तुलाराम पाण्डे

(कालीकोट) — प्रसूति व्यथाले ३ दिनदेखि छट्पटिएकी रास्कोट १, लहरेलाकी २० वर्षीया सुनकेशा शाही र महाबै ३, ओदाकी २३ वर्षीया बसना शाही सिंहले नयाँ जीवन पाएका छन् । ढिलोगरी शनिबार राति ११ बजे जिल्ला अस्पताल ल्याइएका दुवैको अवस्था जटिल भएकाले तत्काल शल्यक्रिया गरिएको हो । दुवैले छोरी जन्माएका छन् ।

सुध्रँदै अस्पतालको सेवा

शल्यक्रियापछि आमा र शिशुको अवस्था सामान्य छ । गाउँमा सुत्केरी व्यथा लागेर स्वास्थ्य चौकी सिप्खाना पुर्‍याइएकी सुनकेशाको बच्चा उल्टो थियो । साल पहिले नै निस्किएकाले पनि उनको अवस्था जटिल बनेको थियो । बसनाको पाठेघरको मुख नखुलेपछि अवस्था जटिल बनेको हो । अस्पताल प्रमुख डा. भीष्मप्रसाद पोखरेलका अनुसार दुवैलाई रातिको ११ बजे अस्पताल पुर्‍याइएको थियो । उनीसहित डा. विष्णुप्रसाद श्रेष्ठ, डा. नहकुल शाहीको टोलीले शल्यक्रिया गरेको थियो ।


डेढ वर्षअघि सुत्केरी हुन जिल्ला अस्पताल पुर्‍याइएकी चन्दा शाहको शल्यक्रियापछि ज्यान गएपछि विवादित बनेको अस्पतालको सेवा पछिल्लो समय सुध्रँदै गएको छ । अस्पताल विकास समिति अध्यक्ष सरोज बोगटीले भौतिक पूर्वाधार थपिँदै गएपछि उपचार सहज बन्न थालेको बताए । जनशक्ति र उपकरण थप गरिएसँगै अस्पतालको उपचार गुणस्तरीय बनेको उनको भनाइ छ । ‘पूर्वाधार र उपकरण थपिरहेका छौं, औषधि व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको छ,’ उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मी बढदै गएपछि अन्यत्र रिफर गर्न छाडिएको छ ।’


अस्पताल पुर्‍याउनै कठिन व्यथा लागेका ग्रामीण क्षेत्रका महिलालाई स्वास्थ्य संस्थासम्म पुर्‍याउनै कठिन छ । जिल्ला अस्पतालले यातायात खर्चबापत दिने ३ हजार रुपैयाँ स्थानीयका लागि अपुग छ ।


सिप्खानाका दिनेश शाहीले गर्भवतीलाई जिल्ला अस्पताल पुर्‍याउन मात्र १० हजार रुपैयाँ खर्च हुने बताए । शनिबार मात्र रास्कोटबाट मान्म ल्याइएकी सुनकेशालाई अस्पताल पुर्‍याउन सिप्खानाबाट गाडी रिजर्भ गरी जितेसम्म ल्याउन ५ हजार र जितेदेखि मान्म ल्याउन २ हजार रुपैयाँ खर्च भयो । उनलाई गाडीबाट झारेर कर्णाली नदी तारेर छहरासम्म बोकेर ल्याउन गाउँबाटै ८ जना आउनुपर्‍यो । सडक पहुँचबाट टाढा रहेका नरहरिनाथ र सुभाकालिका गाउँपालिकाबाट विरामी बोकेर सदरमुकाम मान्म ल्याउन झनै कठिन छ । ‘रुप्साबाट कर्णाली राजमार्ग भेटिने कालेखोला र जिते पुर्‍याउनै दिनभर हिँड्नुपर्छ,’ नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरवहादुर विष्टले भने, ‘गर्भवतीलाई बोकाएर अस्पताल नपुर्‍याउँदै बाटैमा ज्यान जाने जोखिम छ ।’ सबै ठाउँका सुत्केरीलाई ३ हजार मात्र यातायात खर्च दिने सरकारी नीति गलत भएको नागरिक अगुवा मीनबहादुर बोगटी बताउँछन् । ‘ठाउँअनुसार रेट कायम गरे सुविधा हुने थियो,’ उनले भने ।


प्रकाशित : भाद्र ४, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?