कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हाइड्रो क्षेत्रमा जग्गा किनबेच बढ्यो

भीमबहादुर सिंह

(जाजरकोट) — नलगाड हाइड्रोपावर कम्पनीको बाँधस्थल आसपासका क्षेत्रमा जग्गा किनबेच बढेको छ । कम्पनीले चालु आवमा मुआब्जा वितरण गर्ने भएपछि जग्गा किनवेच बढेको हो ।

कम्पनीको बाँधस्थल (डुबान क्षेत्र) बारेकोट गाउँपालिका १, २, ५, ६, ७, ८ र ९ मा जग्गा बिक्री बढदै गएको छ । वडा ९ का अध्यक्ष शशिराम गौतमका अनुसार नलगाड हाइड्रोपावरले विद्युत् गृह निर्माणस्थल र बाँधस्थलको ६ हजार रोपनी अधिकरण गरी मुआब्जा वितरण गर्न लागेको हो । कम्पनीले चालु आवमा मुआब्जाका लागि २ अर्ब ७२ करोड बजेट छुट्याएको छ ।


कम्पनीले यसअघि प्रतिरोपनी ४ लाख ७५ हजारका दरले ४ सय रोपनीको मुआब्जा वितरण गरिसकेको छ । नलगाड हाइड्रोपावरले अधिकरण गर्न लागेको जग्गाको बिक्री बढेको गौतमले जनाए । डुबान क्षेत्रका जग्गाधनीले कम्पनीको मुआब्जा दरभन्दा आधा कम मूल्यमा जग्गा बिक्री गर्ने गरेको उनले जानकारी दिए । जग्गा किन्न काठमाडौं, दाङ, बाँके, सुर्खेतलगायत ठाउँका मानिस आएको उनले सुनाए । ‘कम्पनीले अधिकरण गर्ने भनिएको डुबान क्षेत्रमा जिल्लाभित्र र बाहिरका गरी सयौंले सस्तो मूल्यमा जग्गा किनिसकेका छन्,’ उनले भने ।


बारेकोटको सेपु खोला, अधेरी खोला, सक्ला, कार्की जिउला, लिम्सा, गोलखारा, जुगेना, काउलीलगायत ठाउँको जग्गा बिक्री बढेको हो । कम्पनीको डुबान क्षेत्रमा गत वर्ष डेढ सयले जग्गा किनबेच गरेको मालपोत कार्यालयका प्रमुख अभीबहादुर गिरीले वताए । गत वर्ष डुबानको जग्गा किनबेचबाट कार्यालयले ६ लाख रुपैयाँ राजस्व संकलन गरेको उनको भनाइ छ । ‘डुबान क्षेत्रमा दिनदिनै जग्गा किनबेच बढेको छ,’ उनले भने, ‘साउनमा मात्रै ३६ जनाले जग्गा किनबेच गरेका छन् ।’


मालपोत कार्यालयका अनुसार गत वर्ष १८ सय जनाको जग्गा किनबेचबाट ९२ लाख राजस्व संकलन भएको छ । जिल्लामा सबैभन्दा कम जग्गा किनबेच जुनीचाँदेमा हुने गरेको कार्यालले जनाएको छ । जग्गा किनबेच कारोबार गर्नेमा बारेकोट गाउँपालिका पहिलो र भेरी नगरपालिका दोस्रो छन् ।


इन्टरनेट समस्याले सेवाग्राहीलाई सास्ती

मालपोत कार्यालयमा अनलाइन प्रणालीबाट काम सुरु गरिएपछि सेवाग्राहीलाई सास्ती भएको छ । बेलाबेला अवरुद्ध भइरहने र न्यून गतिको इन्टरनेटका कारण जग्गा कारोबार गर्न आएका सेवाग्राहीले घण्टौं कुर्नुपर्ने बाध्यता भएको हो । मालपोत कार्यालयले सेवाप्रवाह छिटोछरितो गर्न गत असार पहिलो सातादेखि अनलाइन पद्धतिबाट जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण सुरु गरेको हो । तर सेवा सुस्त बनेपछि सेवाग्राहीले पहिलेभन्दा झन्

सास्ती भोग्नुपरेको छ । अनलाइन सेवा सञ्चालन गर्नुअघि दैनिक ४५ वटासम्म हस्तलिखित लालपुर्जा बन्ने गरेकोमा अहिले मुस्किलले ५ पुर्जा बन्ने गरेको कार्यालयले जनाएको छ ।


लेखापढी व्यवसायी खमप्रसाद सिंहले अनियमित अनलाइन सेवाका कारण मालपोतमा जग्गा दर्ता, नामसारी, कित्ताकाटलगायत काममा ढिलाइ हुने गरेको बताए । इन्टरनेट सेवा नियमित नहुँदा आफ्नो जग्गाको नामसारी गर्न एक साता कुर्नुपरेको बारेकोट गाउँपालिका ७ का सूर्यबहादुर सिंहले वताए । विद्युत् अभाव, इन्टरनेटको समस्या र अन्य प्राविधिक कारणले सेवाग्राहीको काम ढिलो हुने गरेको कार्यालयले जनाएको छ । मालपोतमा सुबिसुले जडान गरेको इन्टरनेट ३ सातादेखि बन्द हुँदा समस्या भएको खरिदार चन्द्रबहादुर खडकाले बताए । विद्युत् र इटरनेटको समस्याका कारण सेवाग्राहीलाई चाहेअनुसार सेवा दिन नसकेको उनले जनाए ।


अहिलेको इन्टरनेट सेवा भरपर्दो नभएपछि वर्ल्ड लिंकको इन्टरनेट जडान गर्दासमेत नियमित हुन नसकेको उनको भनाइ छ । अनलाइन सेवाले सम्पूर्ण अभिलेख सिंहदरबार केन्द्रित हुने, छिटोछरितो सेवा र आर्थिक हित कायम राख्ने उनले जानकारी दिए । उनका अनुसार भू–अभिलेख तथा स्रेस्ता व्यवस्थित गर्न, जग्गाधनी तथा मोहीको हक संरक्षण गर्न र भूमि व्यवस्थापन कार्यलाई सेवामुखी तथा सूचनामूलक बनाउन अनलाइन प्रविधिमार्फत कामकाज थालिएको हो ।


प्रकाशित : भाद्र ४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?