१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

खलंगामा बैरागी जात्रा

आधुनिक बन्दै गएपछि खलंगाको खस सभ्यता जोगाउन पनि सिंजामा बर्सेनि जात्राको आयोजना
एलपी देवकोटा

(जुम्ला) — सदरमुकाम खलंगामा खस बैरागी जात्रा निकालिएको छ । कर्णालीकै लामो र ठूलो गाईजात्राको चौथो दिन बैरागी जात्रा प्रदर्शन गरिएको हो । 

खलंगामा बैरागी जात्रा

पहिले नेवार समुदायले मात्र मनाउने गरेको गाईजात्रा केही वर्षयता सबै जाति र समुदायले मनाउने गरेका छन् । सिंजाको खस संस्कृति संरक्षणका लागि बैरागी जात्रा निकालिएको जात्रा समितिले जनाएको छ । हिमाली क्षेत्रमा विभिन्न फूल फुल्ने भएकाले सौन्दर्य र बासनाका कारण पाटनमै देवीदेवता बैरागी तरिकाले रमाउने भन्दै जात्रा निकाल्ने गरिएको हो । स्थानीय भाषामा यो जात्रालाई खस जात्राको रुपमा चिन्ने गरिएको छ । बैरागी जात्राका अवसरमा पल्टन, मिम वास्सा, खस धामी नाच, मारुती र भोटे नाचसमेत देखाइएको छ ।


वर्षायाममा बाघ, भालुलगायत वन्यजन्तुले मकैबाली नष्ट गर्ने भएकाले बाघ, भालु निकालेर जात्रामा मार्ने परम्परा रहिआएको जात्रा समिति महासचिव आनन्द अधिकारीले बताए । ‘सबै प्रकारका नाच एकै ठाउँमा प्रदर्शन गरी बाघ, भालु मार्ने गरिन्छ,’ उनले भने, ‘बाघ, भालु मार्न पल्टन जात्रा पनि निकाल्ने गरिएको छ ।’ बैरागी जात्राको दिनमा बाघ र भालु मारेपछि गाउँनजिकै वन्यजन्तु नआउने तथा आक्रमणको खतराबाट बचिने जनविश्वास रहेको जात्रा समितिका संस्थापक चित्रलाल श्रेष्ठले बताए । ‘मनोरञ्जन र स्थानीय संस्कृति बचाउन बर्सेनि जात्रा देखाउने गरेका हौं,’ उनले भने, ‘समाजमा भए/गरेका कुरितिलाई पनि व्यंग्यात्मक दृश्यमार्फत देखाउने गरेका छौं ।’


सिंजामा सांस्कृतिक जात्रा

सांस्कृतिक पहिचानका लागि ३ वर्षदेखि सिंजामा सांस्कृतिक जात्रा देखाउने थालिएको छ । यस वर्षको सांस्कृतिक जात्रा सुरु भएको जात्रा समितिले जनाएको छ । नेपाली भाषाको उत्पति सिंजाबाटै भएको हो । सिंजाका संस्कृति संरक्षणका लागि जात्राले टेवा पुर्‍याउने स्थानीयको भनाइ छ । खलंगा आधुनिक बन्दै गएपछि खस सभ्यता जोगाउन सिंजामा बर्सेनि जात्राको आयोजना गर्ने गरिएको स्थानीय हरिकृष्ण बुढाले बताए ।


‘घर निर्माण गर्ने क्रम बढेसँगै खलंगा साघुँरो बन्दा जात्रा प्रर्दशन गर्ने ठाउँको अभाव हुन थालेको छ,’ उनले भने, ‘सिंजाको पहिचान र संस्कृति जोगाउन परम्परागत जात्रा देखाउन थालेका हौं ।’ सिंजाको गोठिज्युला बजारमा जात्रा देखाइने गरिएको उनको भनाइ छ । उनका अनुसार जात्रा हेर्न आसपासका गाउँबाट स्थानीयको भीड लाग्ने गर्छ ।

प्रकाशित : भाद्र ४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?