मुख्यमन्त्रीसँग 'हाम्मा कुडा’

तुलाराम पाण्डे

(कालिकोट) — ‘मुख्यामन्त्री भयादै कालिकोटका लागि क्याक्या अरेउ ? सबै भन (मुख्यमन्त्री भएपछि कालिकोटका लागि के–के गर्नुभयो, सबै भन्नुहोस्),’ खाँडाचक्र ५ का ७३ वर्षीय विष्णुबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पहिलो प्रश्न तेर्स्याए ।

मुख्यमन्त्रीसँग 'हाम्मा कुडा’

मुख्यमन्त्री शाही पनि के कम ? उनले स्थानीय लवजमै जवाफ फर्काए, ‘लाग्न त लाग्याकै छु, जनताकन महसुस हुन्या अरी त केई भयाको नाइँ (लाग्न त लागेकै छु, जनताले महसुस गर्ने गरी भने केही भएको छैन) ।’


‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रमको पहिलो शृंखला गृहजिल्लाबाट थाल्दा मुख्यमन्त्री शाहीले धेरै प्रश्नको सामना गरे । उनलाई स्थानीयले आफ्नै लवज र शैलीमा आफ्ना कुरा निर्धक्क राखे । जनतासँग जनताकै दैलोमा साक्षात्कार गर्ने यो कार्यक्रम कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि सुरु गरेको हो । कालिकोटको मान्ममा आयोजित कार्यक्रममा स्थानीयको उत्साहपूर्ण उपस्थिति थियो । उनीहरूले मुख्यमन्त्रीसँग आफ्ना जिज्ञासा, गुनासो, समस्या राखे । मुख्यमन्त्रीले पनि जनतासँग सहज रूपमा साक्षात्कार गरे । ‘तुम्मा जनप्रतिनिधिकन भ्रष्टाचार नअन्न निर्देशन दिएर जानुपड्यो,’ जिविसका पूर्वउपसभापति सत्यबहादुर शाहीले भने, ‘कर्णाली प्रदेश भ्रष्टाचारको अखडा भयो भन्ने सुनिन्छ, सुधार्नु पड्यो ।’


शिक्षामा गुणस्तर नभएको, शिक्षक दरबन्दी कम भएको, जनताले स्वास्थ्य सेवा नपाएको, सडक गतिला नबनेका, स्थानीय तहमा मनपरी भएको, द्वन्द्वपीडितले न्याय नपाएको जस्ता विषयमा स्थानीयले गुनासो गरेका थिए । ‘महिला उद्यमीलाई कोसेली घर निर्माण गर्ने भनेको कता अलपत्र पर्‍यो ?’ दाहाँकी मीना शाहीले सोधिन् । प्रसूतिका बेला स्थानीय महिलाले ज्यानै गुमाउनुपर्ने अवस्था रहेको उनले बताइन् । ‘कालिकोटमै फलाउन सकिने टमाटर, काउली, आलु तल (सहर) बाट आउँछन्, त्यहाँबाट आउनुपर्ने डाक्टर किन आउँदैनन् ?’ उनले प्रश्न गरिन् । यो प्रश्नले मुख्यमन्त्रीलाई गम्भीर बनायो ।


प्रदेश सरकारबाट आएको अधिकांश बजेट दुरुपयोग भएको कांग्रेस नेता दमनबहादुर शाहीले बताए । विकासको सवालमा सत्तापक्ष र प्रतिपक्षका रूपमा भेदभाव नगर्न उनले मुख्यमन्त्रीलाई सुझाए । मुख्ममन्त्रीसँगै एउटै मोर्चामा सशस्त्र द्वन्द्वमा सामेल घाइते, अपांग र सहिद परिवारका सदस्यले पनि गुनासो पोखे । स्थानीय शान्ति समितिका संयोजकसमेत रहेका मालकोटका ध्रुवविक्रम शाहीले भने, ‘सशस्त्र द्वन्द्वमा ‘क’ श्रेणीमा परेको कालिकोटलाई तपाईंकै सरकार आएपछि बेवास्ता किन गरियो ? द्वन्द्वपीडितले पाएका सुविधा किन कटौती भए ?’ पलाताका धनलाल महताराले सरकारले ज्येष्ठ नागरिक भत्ता दिने गरे पनि उक्त भत्ता छोराबुहारीले नदिने गरेको गुनासो गरे । पचालझरना, रास्कोट, सान्नी त्रिवेणीलगायत स्थानीय तहको साताव्यापी भ्रमणपछि मान्म आएका मुख्यमन्त्री शाहीले जनताले उठाएका जिज्ञासाको जवाफ दिए । साथै सर्वसाधारणले गरेको गुनासा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।


आफू मुख्यमन्त्री भएर आएपछि गाउँगाउँमा कृषि सडक पुर्‍याउन बजेट विनियोजन गरेको र लैंगिक असमानता हटाउन छोरीका लागि बैंक खाता खोलेर २० वर्षसम्म मासिक ५ सयका दरले रकम जम्मा गर्न थालेको उनले बताए । कर्णाली करिडोरलाई द्रुतमार्ग बनाउने, विद्युत् केन्द्रीय प्रसारणलाई सबै जिल्लामा पुर्‍याउने र स्थानीयलाई सहुलियत दरमा ऋण दिएर आत्मनिर्भर बनाउने सरकारको योजना रहेको उनको भनाइ छ । ‘कसैले विकासमा बेवास्ता गर्छ र अनियमितता गर्छ भने त्यसलाई कुनै हालतमा सहिन्न,’ उनले भने, ‘हाम्मो प्रदेश हामीले बनाउने हो, अरू कोही आएर बनाउँदैन ।’


प्रकाशित : भाद्र ४, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?