कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाँझो जग्गामा घाँस

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका ५, रानीकोटका आनन्द शाहीको घर नजिकैको पाखो ५ वर्षदेखि बाँझो थियो । खेतीयोग्य जग्गा बाँझिँदै गएपछि र अन्नबालीको उत्पादन बर्सेनि घटदै गएपछि उनले बाँझो जग्गामा घाँस खेती सुरु गरेका छन् ।

बाँझो जग्गामा घाँस

छिमेकी कमला बुढाथोकीको बाँझो बारीमा पनि अहिले घाँस फस्टाइरहेको छ ।


उनीहरू मात्र होइन, राष्ट्रिय कृषि विकास समूहमा आबद्ध २५ स्थानीयले ५ सय रोपनी बाँझो जग्गामा सामूहिक घाँसखेती थालेका हुन् । व्यावसायिक रूपमै सुपर नेपियर, बदामे, स्टाइलो, भिमल, कोइरालो, बकाइनोलगायत जातको उन्नत घाँस खेती सुरु गरिएपछि आम्दानी बढ्ने स्थानीयको अपेक्षा छ । केही परिवारले अन्नबाली लगाउने जग्गामा समेत घाँसखेती सुरु गरेको बुढाथोकीले बताइन् । आसपासका गाउँमा व्यावसायिक घाँसखेती सफल भएपछि उनीहरू सामूहिक घाँसखेती गर्ने निर्णयमा पुगेका हुन् ।


२५ घरधुरीले १०/१० हजार रुपैयाँ संकलन र १५ दिन श्रमदान गरी सामूहिक घाँसखेती थालेका हुन् । घरघरमा बाख्रापालन गर्ने र विभिन्न जातका घाँसको अनुसन्धान केन्द्र बनाउने उनीहरूको लक्ष्य छ ।


व्यावसायिक र दीर्घकालीन सोचका साथ घाँसखेती गरिएको कृषि फार्म व्यवस्थापन समिति अध्यक्ष कमलप्रसाद उपाध्यायले बताए । ‘घाँसखेती गर्दा खाली जग्गाको सदुपयोग हुनुका साथै पशुपालनको अवसर सिर्जना भएको छ,’ उनले भने, ‘घाँसबाटै सबै घरधुरीलाई आत्मनिर्भर बनाउने हाम्रो योजना हो ।’ सामूहिक रुपमा काम गर्दा सामाजिक एकता र सद्भावमा टेवा पुगेको उनी बताउँछन् । जंगलमा परिणत हुन थालेको जग्गालाई व्यावसायिक घाँसखेतीमार्फत उत्पादनशील बनाउन खोजिएको स्थानीय सुमित्रा शाहीले बताइन् ।


‘भर्खर घाँसका बेर्ना लगाएका छौं, उत्पादन दिन त केही समय लाग्ला,’ उनले भनिन्, ‘आसपासका क्षेत्रमा घाँसखेती सफल बन्दै गएपछि हामी पनि व्यावसायिक बनेका हौं, घाँसबाटै आत्मनिर्भर बन्ने हाम्रो योजना छ ।’ उनका अनुसार सुरुमै घाँसखेती सप्रिएकाले किसान हौसिएका छन् । उनले बर्सेनि घाँसखेतीको विस्तार गर्ने समूहको योजना सुनाइन् ।


नेपाल इन्भेस्टमेन्ट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खगेन्द्र शाहीले ५ सय रोपनीमा सुरु गरिएको घाँसखेतीबाट यो वर्ष करिब १२ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको जनाए । उनका अनुसार कृषकलाई व्यावसायिक पशुपालनमा अग्रसर बनाउन पनि घाँसखेती सुरु गरिएको हो ।


‘परम्परागत रुपमै यहाँका कृषकले २ सय बढी बाख्रा पालेका छौं, घाँस र प्राविधि ज्ञानको अभावमा व्यावसायिक बनाउन सकेका थिएनौं,’ उनले भने, ‘घाँसको उत्पादन सुरु भएपछि बाख्रापालनलाई पनि व्यवस्थित र व्यावसायिक बनाइनेछ ।’ घरघरमा व्यावसायिक बाख्रापालन सुरु भएपछि अधिकांश घाँस गाउँमै खपत हुने र बाँकी घाँस नजिकैका व्यापारिक केन्द्रमा पुर्‍याएर बिक्री गर्ने योजना रहेको उनको भनाइ छ ।


वर्षा र हिमपातले सप्रियो तरकारी

हुम्ला (कास)– अनुकूल वर्षा र हिमपातका कारण जिल्लामा तरकारी सप्रिएको छ । बर्सेनि खेती फस्टाउन थालेपछि वर्षायाममा स्थानीय तरकारीले नै सदरमुकाम सिमकोटको माग धान्न थालेको छ ।


जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पछिल्लो समय तरकारी उत्पादन राम्रो हुन थालेपछि व्यावसायिक किसान बढदै गएका छन् । समुद्र सतहदेखि ३ हजार मिटर उचाइको सिमकोट आसपासको क्षेत्र तरकारीले हरियो देखिन थालेको छ । सिमकोटका किसानले गोलभेडा, टमाटर, खुर्सानी, मुला, गाँजरलगायत तरकारी फलाउने गरेका हुन् ।


सिमकोट ५ का धर्मराज रोकायाका अनुसार कृषकले भान्टा, गोलभेडा, फर्सी, खुर्सानीलगायत तरकारी फलाउन थालेपछि सदरमुकाममा तरकारीको भाउ सस्तो हुन थालेको छ । ‘६/७ वर्षअघिसम्म बाहिरकै तरकारीमा निर्भर थियौं, जिल्लामा आलु मात्र उत्पादन हुन्थ्यो,’ उनले भने, ‘महँगो मूल्यमा जहाजमार्फत ढुवानी गरेर ल्याएको तरकारी खान बाध्य थियौं, अहिले वर्षायामको ५ महिनाको माग स्थानीय तरकारीले नै धानिरहेको छ ।’


सिमकोट ३, लाङुकी कारसाङमा लामाले बारीमा पहाड र तराईमा फल्ने विभिन्न जातका तरकारी खेती गर्दै आएको बताइन् । तरकारी खेतीले मनग्गे आम्दानी हुन थालेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?