महिनैपिच्छे बिग्रन्छ बिजुली

राजबहादुर शाही

मुगु — गमगाढ साना जलविद्युत् आयोजना महिनैपिच्छे बिग्रन थालेपछि जनजीवन प्रभावित हुन थालेको छ । नहरबाट पानी चुहिने, उपकरण बिग्रने, पहिरो जानेलगायत समस्याले विद्युत् सेवा पटक पटक अवरुद्ध हुन थालेपछि स्थानीय पीडित भएका छन् ।

महिनैपिच्छे बिग्रन्छ बिजुली

जेठ पहिलो साता पावरहाउसमा जडान गरिएको मेसिन बिग्रिएपछि स्थानीयले सातासम्म बिजुली बाल्न पाएनन् । मर्मत गरी विद्युत सुचारु भएको एक महिना नपुग्दै असार दोस्रो साता पहिरोले नहर भत्कियो ।


पहिरोले २ सातासम्म विद्युत् आपूर्ति बन्द भएको आयोजनाको मुहान शनिबार बाढीले बगाएको छ । मुहान र ट्यांकी बगाउँदा सदरमुकाम अन्धकार छ । विद्युत् अनिश्चित बनेपछि स्थानीय बासिन्दा टुकीको भरमा रात कटाउन बाध्य छन् ।


‘बत्तीले साह्रै दुःख दिन थाल्यो,’ स्थानीय दिनेश श्रेष्ठले भने, ‘महिना–महिनामा बिग्रँदा पनि स्थानीय सरकार मौन छ ।’ महिनाभरि बिजुली नबाले पनि महसुल तिर्नैपर्ने बाध्यता रहेको उनले गुनासो गरे । उनका अनुसार बत्ती नबाले पनि २० युनिटसम्मको प्रतियुनिट ३ र २१ देखि ४० युनिटसम्मको ४ रुपैयाँका दरले महसुल तिर्नुपर्ने बाध्यता छ ।


अनियमित विद्युतका कारण गमगढीमा सञ्चालित ३ रेडियोको प्रशारण अवरुद्ध हुँदै आएको छ । विद्युतको भरपर्दो व्यवस्था नहुँदा व्यवसायी समस्यामा परेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । उनले केन्द्रीय प्रशारण लाइन जोड्न र वैकल्पिक जलविद्युतको व्यवस्था गर्न माग गरिए पनि सरकारले बेवास्ता गरिरहेको उनको आरोप छ ।


‘पटकपटक बिजुली जाँदा अधिकांशको व्यवसाय चौपट हुन थालेको छ,’ उनले भने, ‘घरेलु तथा साना उद्योगीलाई विद्युत् समस्याकै कारण परिवार पाल्न समस्या भइरहेको छ ।’ गमगढी बजार क्षेत्रका मासु पसल, डेरी, पाउरोटी र चाउमिनलगायत उद्योग विद्युत् अवरुद्ध हुँदा बन्द भएका छन् । त्यस्तै कम्प्युटर इन्स्टिच्युट, इलेक्ट्रानिक व्यवसायी र फोटो स्टुडियो सञ्चालक बढी समस्यामा परेको उनको भनाइ छ ।


बाढीका कारण अवरुद्ध विद्युत् सुचारु गर्न कम्तिमा २ साता लाग्ने आयोजना प्रमुख पुष्कर सुनारले बताए । उनका अनुसार मुहानमा डोजर लगाइ मर्मत गर्ने आयोजनाको तयारी छ । २०६८ मा निर्माण गरिएको आयोजनामार्फत सदरमुकाम गमगढी र आसपासका गाउँमा विद्युत् सुविधा पुर्‍याइएको छ ।


करिव ४ सय किलोवाट क्षमताको आयोजनामार्फत २ हजार ३ सय घरधुरीमा विद्युत् सुविधा पुर्‍याइएको आयोजना प्रमुख सुनारले जानकारी दिए । पावरहाउसमा जडान गरिएका २ मेसिनमध्ये एउटाले मात्र विद्युत् प्रवाह गर्दै आएको उपभोक्ता समितिले जनाएको छ । अर्को मेसिन २ वर्षअघि नै बिग्रिएकाले समस्या भएको सुनारको भनाइ छ ।


बिजुली नहुँदा सरकारी कार्यालय, गैरसरकारी संघ–संस्था, बैंकलगायत वित्तीय संस्थाको काम प्रभावित हुने गरेको छ । गमगढीमा विद्युत् अवरुद्ध भएको मौका छोपी केही व्यवसायीले जेनेरेटर सञ्चालन गरी महँगोमा सेवा दिन थालेका छन् । एकप्रति फोटोकपीको २०, मोबाइल चार्जको ५० र ल्यापटप चार्ज गरेबापत सय रुपैयाँसम्म असुल्ने गरिएको स्थानीयको गुनासो छ । विद्युत् नहुँदा जिल्ला अस्पतालको उपचार पनि प्रभावित भइरहेको छ । अस्पतालका अनुसार भिडियो एक्सरे, एक्सरे, प्रयोगशाला परीक्षणलगायत सेवा प्रभावित भएका हुन् ।


पटकपटक विद्युत् अवरुद्ध हुन थालेपछि आयोजनाको विकल्पको खोजी गर्न थालिएको छायानाथरारा नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार शोभा, गम र बाम खोलाबाट १ मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना अघि सारिएको छ । ‘त्यसको सम्भाव्यता अध्ययनका लागि छिट्टै प्राविधिक टोली खटाइनेछ,’ उनले भने, ‘गमगाढको विकल्पमा विद्युत् योजना निर्माण गर्न प्रदेश र संघीय सरकारको सहयोग मागिनेछ ।’

प्रकाशित : भाद्र ३, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?