१७ वर्षपछि पुलको ठेक्का

हरि गौतम

रुकुम पश्चिम — राप्ती लोकमार्गको ट्र्याक खुलेको १७ वर्षपछि पुल निर्माणका लागि ठेक्का लागेको छ । राप्ती लोकमार्गअन्तर्गत मुसीकोट नगरपालिका १२, मा रहेको पितिबाङ खोलामा मोटरेबल पुल बनाउन ठेक्का लागेको हो । 

१७ वर्षपछि पुलको ठेक्का

राप्ती लोकमार्गमा हरेक वर्षाको समयमा यात्रुले सबैभन्दा बढी दुःख पाउने खोला यही हो । जिल्ला बाहिरिने तथा भित्रिने अर्को विकल्प नहुँदा यात्रुले बर्सेनि सास्ती भोग्नुपर्छ । वर्षामा आउने बाढीले दैनिक सयौं मालवाहक तथा यात्रुवाहक सवारीसाधनले समस्या व्यहोर्दै आएका हुन् ।


सडक डिभिजन कार्यालय, चौरजहारीले पुल निर्माणका लागि ठेक्का लगाइसकेको जनाएको छ । डिभिजन प्रमुख नरेन्द्र भट्टका अनुसार २ वर्षमा पुल निर्माण गर्नेगरी ५ करोड २८ लाख रुपैयाँमा ठेकेदार कम्पनीलाई जिम्मा दिइएको हो । संरक्षण निर्माण सेवासँग २०७८ वैशाख ८ गतेभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको उनले जानकारी दिए ।


गत वर्ष खोला बढेका कारण स्थानीय युवाले मोटरसाइकल तथा मान्छे बोकेर खोला वारपार गराउने गरेका थिए । नगद रकम लिएर जोखिम मोल्दै युवाले स्थानीय तथा सवारी साधनलाई वारपार गराएका थिए । २ महिनासम्म सवारी बोकेका युवाले उनीहरूबाट ज्यालाबापत ७ लाख रुपैयाँ आम्दानी गरेका थिए ।


‘मान्छे अलपत्र हुन्थे जोखिम मोलेरै भए पनि मान्छे र मोटरसाइकल तारियो,’ स्थानीय युवा पहलबहादुर पुनले भने, ‘यात्रुको काम पनि हुने आम्दानी पनि हुने भएपछि अघिल्लो वर्ष खोला तार्ने काम गरियो ।’


यस वर्ष भने सडक डिभिजनले खोलामा ‘कजवे’ निर्माण गरेपछि आउजाउ सजिलो बनेको छ । केही ह्युम पाइप हालेर कजवे बनाइएको छ । ‘पितिबाङमा यात्रुले दुःख पाउने दिन अब सकिए,’ डिभिजन प्रमुख नरेन्द्र भट्टले भने, ‘यो वर्ष बनाएको कजवेले यो वर्षा र २०७७ को वर्षा कटाउला ।’ २०७८ को वर्षामा पुल बनिसक्ने उनको दाबी छ । पुल नबनेकै कारण यात्रुले दुःख पाएको गुनासो गरेपछि आफू आउनबित्तिकै पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाएको उनी बताउँछन् ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?