वर्षामा सधैं सास्ती

‘ट्र्याक खोल्न करोडौं खर्चेका सडकमा यातायातका साधन सञ्चालन हुन नसक्नु दुःखद’
भीमबहादुर सिंह

जाजरकोट — ८० किमि लामो जाजरकोट ब्युलीढंगा–जुम्ला सडकअन्तर्गत पाँचकाटिया खण्डमा ट्र्याक खुलेको १२ वर्ष बित्यो । खलंगा–पाँचकाटीया खण्ड निर्माणका लागि २५ करोड खर्च भइसकेको छ ।

त्यस्तै जाजरकोट डोल्पा सडक (भेरी करीडोर) को सुरुको खण्ड खलंगा–रिम्नाको ट्र्याक खुलेको पनि करिब १४ वर्ष पुग्यो ।

निर्माण सकिएको दशक बित्दासमेत यी दुई सडकको स्तरोन्नति हुन सकेको छैन । स्तरोन्नति नहुँदा यी सडकमा वर्षायाममा यात्रुले सास्ती भोग्दै आएका छन् । वर्षाले सडकमा पहिरो खस्नु, हिलाम्मे हुनु, खाल्डाखुल्डी बढ्नु, खोलामा पुल अभावलगायत कारण यातायातका साधन सञ्चालनमा समस्या भएको हो । खलंगा–पाँचकाटीया र खलंगा–रिम्ना सडकमा नाली, तारजाली पर्खाल, ढल निकास, ग्राभेललगायत स्तरोन्नतिका काम नहुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य भएका हुन् ।

स्थानीय प्रेमबहादुर थापाले सडक स्तरोन्नति नहुँदा र खोलामा पुल नबन्दा वर्षौंदेखि सास्ती भोग्न बाध्य भइरहेको बताए । ट्र्याक खोल्न करोडौं खर्चेका सडकमा यातायातका साधन सञ्चालन हुन नसक्नु दुःखद भएको उनी बताउँछन् । उनका अनुसार वर्षाका ४ महिना गाडी नचल्दा घण्टौं पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

जाजरकोट–डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि भेरीे ‘जिरो प्वाइट’ पासागाडदेखि नै स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । १ सय १८ किमि जाजरकोट–डोल्पा सडकको पहिलो चरणको सडकको ट्र्याक खोल्ने कार्य मात्र पूरा भएको छ । वर्षाले यो सडकको खलंगा–रिम्ना–कालीमाटी–तल्लुसम्म गाडी सञ्चालन हुन सकेका छैनन् ।

हिउँदमा धुलाम्मे तथा वर्षामा हिलाम्मे सडकका कारण स्थानीय आजित छन् । डोल्पा सडकको कालेगाउँ, रावतगाउँ, पिपे, रिम्ना, रुकुमको छेपारे, पिपलचौरलगायत स्थानमा खाल्डाखुल्डी, पहिरो खस्दा र हिलाम्मे हुँदा यातायात सञ्चालनमा समस्या भएको हो । त्यस्तै खलंगा–पाँचकाटीया सडक २ महिनादेखि ठप्प भएको छ । सडक अवरुद्ध हुँदा सर्वसाधारण २/३ दिन पैदल हिँड्न बाध्य छन् ।

वर्षाले दैनिक उपभोग्य सामग्री र कृषि उत्पादनको ढुवानीमा समस्या भएको छ । भेरी करीडोर र जाजरकोट–जुम्ला जोड्ने रणनीतिक मार्ग बजेट अभावमा स्तरोन्नति हुन नसकेका हुन् । ट्र्याक खोल्नमै करोडौं खर्चेका सडकमा यातायातका साधन नगुडदा लगानी खेर गएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले वताए ।

‘सडकमा ट्र्याक्टर र जीपसमेत राम्ररी गुड्नसक्ने अवस्था छैन,’ उनले भने, ‘जसका कारण जनजीवन प्रभावित बनेको छ ।’ पाँचकाटीया–जुम्ला सडकको चौडाइ कम हुनु, नाली तथा ग्याबीङ पर्खाल नहुनु, अप्ठेरो रेखांकन, छोटा घुम्तीलगायत कारण यातायात सञ्चालन हुन नसकेको उनी बताउँछन् ।

सडक खण्डको गारराङ्सीदेखि नाउलीसम्मको रेखांकन गाडी चढ्नै नसक्ने गरी निर्माण भएको उनको भनाइ छ । उनका अनुसार जाजरकोटमा करोडौं बजेट खर्चेर निर्माण थालिएका ठूला ५ सहित करिव ४ दर्जन सडक अलपत्र छन् ।

प्रकाशित : भाद्र २, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्

‘साइकल सिटी’ बनाउन पहल

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — कर्णाली प्रदेशका प्रमुख सचिव केवल भण्डारी पछिल्लो समय विभिन्न गोष्ठी र कार्यक्रममा साइकल चढेरै उपस्थित हुन थालेका छन् । करिब एक महिनाअघि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १० साइकल खरिद गरी कर्मचारीलाई हस्तान्तरण गरे । प्रमुख सचिव नै साइकलमा हिँड्न थालेपछि कर्मचारीसमेत साइकलमै कार्यालय आउजाउ गर्छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीसमेत साइकल चढेरै आउजाउ गर्छन् । ‘सुरु सुरुमा म साइकलमा हिँडदा प्रमुख सचिवले साइकल चढेको सुहाएन भन्नेसमेत भेटिए,’ भण्डारीले भने, ‘तर अहिले उनीहरूले नै साइकल प्रयोग गर्न थालेका छन् ।’ अहिले भण्डारीकै अगुवाइमा वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाउने पहल थालिएको छ ।

उपत्यकालाई ‘साइकल सिटी’ बनाइए धुलो धुँवाबाट मुक्ति पाइने उनी बताउँछन् । उनले साइकल सामाजिक समानताको प्रतीक भएकाले युवापुस्तालाई प्रोत्साहित गरिरहेको जनाए । मुख्य बजारलाई ‘वान वे’ बनाउनसके पर्यटन आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ । वातारणमैत्री सहर बनाउन पनि साइकललाई प्राथमिकता दिनुपर्ने भण्डारी बताउँछन् ।

शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सरोकारवालाले वीरेन्द्रनगर नगर प्रमुख देवकुमार सुवेदीलाई ‘साइकल सिटी’ बनाउन माग गरे । प्रमुख सुवेदीले अब निर्माण हुने सबै सडकमा ‘साइकल लेन’ बनाइने प्रतिबद्धता ब्यक्त गरे । उनका अनुसार मंगलगढीदेखि गणेश चोकसम्म ‘साइकल लेन’ को कार्ययोजना तयार पारिएको छ ।

नयाँ सबुज गणका प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले वीरेन्द्रनगरमा ‘साइकल संस्कृति’ विकास गर्न जरुरी रहेको बनाए । उनले वीरेन्द्रनगरको सौन्दर्य बढाउन, भेदभाव कम गर्न र वातावरणमैत्री सहर निर्माण गर्न ‘साइकल सिटी’ बनाइनुपर्ने जनाए । स्थानीय सरकार र प्रदेश सरकारले नीति तथा कार्यक्रममा यसलाई समेट्न जरुरी रहेको उनको भनाइ छ ।

वीरेन्द्रनगर ९, का विशाल केसीले सबै सडकमा ‘साइकल लेन’ अनिवार्य गर्न सरकारको ध्यानाकर्षण गराए । ‘२ लेनको सडक छ तर, साइकल र पैदलयात्रु हिँड्ने ठाउँ नै छुट्याइन,’ उनले भने, ‘ठूला–साना सवारी साधन चल्ने रुट नछुट्याइ सडक मात्र ठूलो बनाइएकाले दुर्घटना बढदै गएका छन् ।’ सवारी दुर्घटना रोक्न ‘साइकल लेन’ जरुरी रहेको उनी बताउँछन् ।

साइकल अभियान्ता माधव चौलागार्ईले सुर्खेतका विभिन्न स्थानमा जिपिएसमार्फत साइकल रूटको अध्ययन सुरु गरिएको जानकारी दिए । ‘पर्यटकीय सम्भावनाका दृष्टिले पनि सुर्खेतमा साइकल अत्यन्तै सान्दर्भिक देखिएको छ,’ उनले भने, ‘यहाँका धार्मिक तथा ऐतिहासिक स्थल, डाँडापाखा, जंगल, खेतबारी र बस्ती साइकलबाटै भ्रमण गर्न उपयुक्त छ ।’

कर्णाली प्रदेश सरकारले आव ०७६/७७ को नीति तथा कार्यक्रममा पनि वीरेन्द्रनगरमा साइकल सवारीलाई प्राथमिकता दिने उल्लेख गरेको छ । राजधानी सहर भएकाले वीरेन्द्रनगरलाई धुँवा र धूलोमुक्त क्षेत्र कायम गरी साइकल सवारीलाई प्रवर्द्धन गर्न जरुरी रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सुर्खेतलाई साइकलमैत्री सहर बनाउन ‘कर्णाली राइडर्स क्लब’ गठन गर्न थालिएको छ । प्रदेश अस्पतालका डा. नवराज केसीले साइकलमैत्री सहर बनाउन अहिलेकै सडक संरचना पर्याप्त रहेको जनाए । उनले वीरेन्द्रनगरका पर्यटकीय तथा धार्मिक स्थल बुलबुले, काँक्रेबिहार, देउती बज्यैजस्ता ठाउँमा जान साइकल लेन बनाए पर्यटकको आकर्षण बढ्ने बताए ।
साइकल प्रयोगमा आकर्षण बढाउन गत जेठ २० गते विश्व साइकल दिवसको अवसरमा वीरेन्द्रनगरमा साइकल यात्रासहित सिटी राइड कार्यक्रमको आयोजना गरिएको थियो । अहिले मुख्यमन्त्री तथा मन्त्रिमन्त्रिपरिषद् कार्यालयमा १४ साइकल छन् ।

‘मर्निङ वाक गर्दा पनि मास्क प्रयोग गर्नुपर्ने, सवारीसाधन तथा पैदलयात्री धुलाम्मे भएर हिँड्नु पर्नेलगायत समस्याले साइकलको प्रयोग नभएको हो,’ प्रमुख सचिव भण्डारी भन्छन्, ‘सुर्खेतलाई साइकलमैत्री सहर बनाउने अभियान हाम्रो मन्त्रालयबाट सुरु गरेका छौं, साइकल प्रयोगकर्ताको संख्या बढदै जाने हाम्रो विश्वास छ ।’ उनले सरकारी इन्धनको प्रयोग रोकी खर्च घटाउन पनि साइकलको प्रयोग जरुरी रहेको बताए ।

प्रकाशित : भाद्र २, २०७६ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्