कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुख्यमन्त्री पछ्याउँदै विस्फोट

वर्ष दिनमा पाँचपटक गृहजिल्ला कालीकोट पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी विस्फोट र कालो झन्डा देखाएका घटना
तुलाराम पाण्डे

कालिकोट — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृहजिल्ला जतिपटक आउँछन्, त्यति नै पटक नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले बम विस्फोट गराउने गरेका छन् । उनको भ्रमण प्रभावित गराउन चन्द समूहका कार्यकर्ताले कालो झन्डा देखाउने र विस्फोटन गराउने गरेका हुन् ।

मुख्यमन्त्री पछ्याउँदै विस्फोट

एक वर्षको अवधिमा पाँचपटक गृह जिल्ला पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी चन्द समूहले ठाउँठाउँमा विस्फोट गराए ।


पछिल्लोपटक साउन २८ मा पचालझरनाको विशेष गाउँसभा उद्घाटनका लागि जान लागेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी विस्फोट गराइयो । गाउँसभाका लागि खार्दु जाँदै गर्दा करिब २ सय मिटर टाढा चन्द समूहले विस्फोट गराएका थिए । घटनाले स्थानीयमा त्रास भए पनि शाहीले आफ्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । चन्द समूहका जिल्ला सेक्रेटरी मनिलाल ऐडी भन्छन्, ‘मुख्यमन्त्री जहाँ जान्छन्, त्यहीं बमले स्वागत गर्छौं ।’


पटकपटक विस्फोटनका घटना भएपछि मुख्यमन्त्री शाहीले राजनीतिक चरित्र नभएकाहरूले गैरजिम्मेवार काम गरेको प्रतिक्रिया दिए । बम पडकाएर आतंक सिर्जना गर्नुभन्दा सक्नेले जनतासहित प्रतिरोधमा उत्रन सक्नुपर्ने उनले चन्द समूहलाई चुनौती दिए । ‘१/२ जना बम पडकाएर भाग्छन्,’ उनले भने, ‘जनाधार छ भने जनतासहित प्रतिरोधमा आउनुपर्‍यो नि ।’


असार ९ मा नेकपाको शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री आएको बेलासमेत जिल्ला समन्वय समिति नजिकै प्रहरीको भान्साअगाडि विस्फोट गराइएको थियो । यस्तै जेठ १५ मा पलाता गाउँपालिकामा आयोजना गरिएको राष्ट्रपति रनिङ सिल्ड र रेडियो पलाता उद्घाटनमा आएका बेला पनि चन्द समूहले बम पडकाएका थिए । हेलिकप्टरबाट मुख्यमन्त्री आउँदै गर्दा थिर्पू जिउलोमाथिको पाखामा प्रेसरकुकुर बम विस्फोट गराइएको थियो । जेठयता महिनैपिच्छे मुख्यमन्त्रीलाई लक्षित गरी बम विस्फोटका घटना भएको प्रहरीले जनाएको छ ।


कर्णाली सरकारको पहलमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार, कोटवाडा विमानस्थलको स्तरोन्नति र फुगाड हाइड्रो निर्माणको काम सुरु गरिएको छ । ती आयोजनाको अवलोकनसँगै मुख्यमन्त्रीले पार्टीका काममा सहभागिता जनाइरहेका छन् । मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिहंले विस्फोटले पूर्वनिर्धारित कार्यक्रममा कुनै समस्या नआएको बताए ।


सचिवालयले यस्तो दाबी गरे पनि पचालझरना र रास्कोटको विस्फोटपछि मुख्यमन्त्रीले आफू जाने कार्यक्रबारे गोप्य राख्न थालेको स्रोतले जनाएको छ । गत वर्षको असोज १ मा नरहरिनाथ गाउँपालिकाले कुमाल गाउँमा आयोजना गरेको अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित घोषणा कार्यक्रममा आएका मुख्यमन्त्री शाहीलाई चन्द समूहका कार्यकर्ताले कालोझन्डा देखाएका थिए ।


सरकारले गत माघमा चन्द समूहमाथि प्रतिबन्ध लगाएपछि उनीहरूको प्रभाव क्षेत्र मानिने कालीकोटमा गतिविधि बढदै गएको छ । ‘नजिक आउन सक्दैनन्,’ जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्माले भने, ‘टाढाबाट उपस्थिति देखाउन छिटपुट विस्फोटका घटना हुने गरेका छन् ।’ उनले प्रहरी सक्रियताले चन्द कार्यकर्ताको भागाभाग भएको दाबी गरे ।


चन्द्र समूहका प्रवक्ता खडबहादुर विश्वकर्मा, पोलिटब्युरो सदस्य भरत बम, कर्णाली ब्युरो इन्चार्ज एटम बीसी, पूर्वसंविधानसभा सदस्य धीरेन्द्र उपाध्याय, पूर्वस्थानीय विकास राज्यमन्त्री नवीन विश्वकर्मालगायत नेताको कालीकोट गृहजिल्ला हो । मुख्यमन्त्री शाही प्रदेशसभा चुनावमा कालीकोट ‘ख’ निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

प्रकाशित : भाद्र १, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?