१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हेलिकोप्टरबाटै गाडी

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा ५ दर्जन गाडी गुडिरहेका छन्, हेलिकोप्टरमा एउटा गाडी पुर्‍याउन ११ देखि १७ लाख रुपैयाँसम्म पर्छ
छपाल लामा

हुम्ला — राष्ट्रिय सडक सञ्जालसँग जिल्ला जोडिएको छैन । तर, यहाँ पाँच दर्जन जिप तथा ट्र्याक्टर गुडिरहेका छन् । यी सवारीसाधन हेलिकोप्टरमा महँगो भाडा तिरेर ढुवानी गरिएका हुन् ।

हेलिकोप्टरबाटै गाडी

उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाको हिल्सादेखि केर्मीसम्म र सदरमुकाम सिमकोटदेखि खार्पुनाथको हेप्कासम्म जिप र ट्र्याक्टर चलिरहेका छन् । यी सवारी साधनका लागि प्रयोग हुने इन्धन पनि हेलिकोप्टर र खच्चडबाट महँगो भाडा तिरेर ल्याउने गरिएको छ ।


खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले सुर्खेतमा २५ लाख परेको एउटा बोलेरो जिप हुम्ला पुर्‍याउँदा थप ११ लाख रुपैयाँ लाग्ने बताए । उनका अनुसार सिमकोट गाउँपालिकामा ६ बोलेरो जिप र १५ ट्र्याक्टर सञ्चालनमा छन् । ‘यी सबै हेलिकोप्टरमा ल्याइएका हुन्, अरु त विकल्पै छैन,’ उनले भने, ‘राष्ट्रिय सडक सञ्जालसँग नजोडिए पनि जिल्लामा धमाधम सडक खुलिरहेकाले हेलिकोप्टरबाटै भए पनि ल्याउनुपरेको हो ।’ ट्र्याक्टर ढुवानी गर्न भने १७ लाख खर्च भएको उनले बताए ।


सर्केगाड गाउँपालिकामा पनि एउटा बोलेरो जिप छ । उक्त जिप सर्केगाडदेखि चंखेली गाउँपालिकाको सीमा सरीसल्लासम्म चल्ने गर्छ । गाडीधनी छवि बुढाले उक्त बोलेरो सुर्खेतदेखि मुगुसम्म स्थलमार्ग बाटा र मुगुदेखि सर्केगाडसम्म हेलिकोप्टरमा ल्याइएको बताए । नाम्खा गाउँपालिकाको हिल्सादेखि केर्मीसम्म ७५ किमि खण्डमा १४ बोलेर जिप र २२ ट्र्याक्टर सञ्चालनमा छन् । ती सवारीसाधन भने तिब्बत हुँदै हिल्सा नाकाबाट भित्र्याइएका नाम्खा गाउँपालिका सदस्य लातार लामाले बताए ।


यी सवारी सञ्चालनका लागि आवश्यक पर्ने इन्धन पनि महँगो भाडा तिरेर ढुवानी गर्ने गरिएको छ । यातायात व्यवसायी चिन लामाका अनुसार हवाइजहाजबाट ढुवानी गर्दा प्रतिलिटर ७ सय रुपैयाँ पर्छ । तर, पछिल्लो समय हेलिकोप्टरबाट ढुवानी नगरी मुगुबाट खच्चडमा ढुवानी गर्ने गरिएको छ । मुगुदेखि खच्चडबाट खार्पुनाथसम्म प्रतिलिटर ३ सय ५० रुपैयाँ र सिमकोटसम्म ५ सय रुपैयाँ पर्ने गरेको लामाले बताए ।


उनका अनुसार दैनिक प्रतिट्र्याक्टर ३५ लिटर र प्रतिजिप १२ लिटर इन्धन खपत हुने गरेको छ । ‘इन्धन ल्याउन निकै मुस्किल छ, त्यसैले हिउँदका लागि अहिले नै ल्याएर स्टोर गर्छौं,’ उनले भने, ‘नभए हिउँदमा हिउँ पर्ने भएकोले इन्धन ढुवानीमा समस्या भई गाडी चलाउनै सकिँदैन ।’


गाडीको महँगो ढुवानी भाडा र इन्धनसमेत ल्याउन महँगो पर्दा यातायात भाडासमेत महँगो छ । सदरमुकाम सिमकोटदेखि खार्पुनाथ र हेप्काखोलासम्म २ सय ५० रुपैयाँ भाडा रहेको छ । यी दुई ठाउँसम्मको दूरी १३ देखि १५ किमि छ ।


त्यस्तै, सिमकोटदेखि बरगाउँसम्म ९ किमिको भाडा २ सय रुपैयाँसम्म लिने गरिएको सवारीचालक नरबहादुर लामाले । नाम्खा गाउँपालिकाको हिल्सादेखि केर्मीसम्म ७५ किमि दूरीको भाडा हजार रुपैयाँ तोकिएको छ । सर्केगाडदेखि सरिसल्लासम्म १० किमिको भाडा ५ सय रुपैयाँ रहेको जिपधनी छवि बुढाले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?