विष खुवाएको आरोपमा पक्राउ
रुकुम पश्चिम — जबरजस्ती विष खुवाएको आरोपमा आठबीसकोट नगरपालिकाका नायब पशुसेवा प्राविधिक सहायक विष्णु खडकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आठबीसकोट नगरपालिका ४, की २४ वर्षीया एक युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मौखिक उजुरीका आधारमा उनलाई वडा ४ बाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज (प्रहरी निरीक्षक) अच्युतराज आचार्यले बताए । विष खुवाइएपछि आइतबार सिकिस्त भएकी युवतीलाई आठबीसकोट नगर अस्पतालमा पुर्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि चौरजहारी अस्पताल पुर्याइएको छ । उनको अवस्था सुध्रँदै गएको छ ।
होस खुलेपछि मात्रै ती युवतीले आफूलाई खडकाले नै जबरजस्ती विष खुवाएको बताएकी थिइन् । सोही आधारमा खडकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खडका आठबीसकोट नगरपालिका ४, ५ र ६ वडा कार्यक्षेत्र रहने गरी करार सेवामा नियुक्त भएका हुन् ।
प्रकाशित : श्रावण २९, २०७६ १२:५६