कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डिजेल प्लान्टबाट बिजुली

कान्तिपुर संवाददाता

जुम्ला — लोडसेडिङको चर्को मार खेपिरहेको सदरमुकाम खलंगामा डिजेल प्लान्टबाट बिजुली बालिएको छ  । घुघुत्तीमा रहेको साना जलविद्युत् उपभोक्ता समितिको विद्युत गृहमा खराबी देखिएपछि ९ महिनादेखि खलंगामा विद्युत् आपूर्ति अनियमित थियो  ।

जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषको पैसाबाट डिजेल प्लान्ट ल्याएका हुन् । २ सय केभी क्षमताको जेनेरेटरबाट १ सय ६० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । साना जलविद्युत् उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुडथापाले मागअनुसार आपूर्ति गर्न नसकिए डिजेल प्लान्टबाट केही मात्रामा भए पनि राहत मिलेको बताए ।

उनका अनुसार डिजेल प्लान्टबाट निस्किने विद्युतबाट बिहान १० देखि ३ र साँझ ७ देखि १० बजेसम्म विद्युत वितरणको व्यवस्था गरिएको छ । सांसद विकास कोषको पैसा आउन केही समय लाग्ने भएकाले चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिएर डिजेल प्लान्ट खरिद गरिएको उनले बताए ।


जुम्लामा दैनिक करिब ४ सय किलोवाट विद्युत् आवश्यक पर्छ । साना जलविद्युत् उपभोक्ता समितिको विद्युतगृहबाट २ सय २० किलोवाट मात्र आउँथ्यो । यस्तो अवस्थामा डिजेल प्लान्ट आए पनि विद्युतको सास्ती घटेको छैन । डिजेल प्लान्टका लागि आवश्यक पर्ने जेनेरेटरको मूल्य २४ लाख ६० हजार परेको छ ।

यद्यपि डिजेल र अन्य खर्चसमेत गरी ५० लाखमा जडान गरिएको अध्यक्ष बुडथापाले बताए । समितिले साउनमा उपभोक्ताबाट विद्युत् शुल्क नलिने जनाएको छ । भदौमा उपभोक्तासँग छलफल गरी शुल्क तोकिने अध्यक्ष बुडथापाले बताए ।


यसैबीच, नेपाल विद्युत् प्राधिकरणले पनि खलंगामा ३ सय केभीको डिजेल प्लान्ट उपलब्ध गराउने भएको छ । प्राधिकरणले एक अधिकृतस्तरको कर्मचारीसहित डिजेल प्लान्ट उपलब्ध गराउने भएको सांसद महतले बताए । जुम्लाको विद्युत् समस्याबारे संसदमा कुरा राखेपछि ऊर्जामन्त्री वर्षमान पुनले ३ सय केभीको डिजेल प्लान्ट राख्ने जानकारी गराएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २९, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?