३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बिदामा पनि उपचार

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिकाका स्वास्थ्यचौकीमा बिदाका दिनमा पनि उपचार थालिएको छ । चालु आवदेखि शनिबार र अन्य बिदाका दिनमा पनि स्वास्थ्यचौकी खुल्ने भएका हुन् ।

गाउँपालिकाले कार्यपालिका बैठकमार्फत शनिबार र बिदाका दिनमा पनि स्वास्थ्यचौकी खोल्ने निर्णय गरेको थियो । शनिबार र बिदाका दिन स्वास्थ्य सेवा प्रवाह नहुँदा स्थानीय बासिन्दा उपचारबाट वञ्चित हुनुपरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामार्फत ४ स्वास्थ्यचौकी र २ सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भइरहेका छन् ।


अन्य दिन उपचारका लागि आउन नसकेका र आकस्मिक अवस्थाका बिरामीलाई लक्षित गर्दै शनिबार पनि सेवा आरम्भ गरिएको स्वास्थ्य शाखा प्रमुख प्रभातकुमार श्रेष्ठले बताए । उनका अनुसार बिदाको दिनमा पनि सेवा दिने स्वास्थ्यकर्मीलाई दैनिक ७ सय भत्ता दिने व्यवस्था मिलाइएको छ । शनिबार पनि स्वास्थ्य सेवा प्रवाह गर्दा ७ वटै वडाका १५ हजार बढी बासिन्दा लाभान्वित बन्ने उनको भनाइ छ ।


कारागिठी स्वास्थ्यचौकी इन्चार्ज शंकर थापाका अनुसार बिदाको दिन स्वास्थ्यचौकी खुल्दा बिरामीले मेडिकलमा तिर्नुपर्ने महँगो शुल्कबाट मुक्ति पाएका छन् । ‘बिदाका दिन पालो मिलाएर उपचार गर्ने गरी स्वास्थ्यकर्मीको कार्यविभाजन गरेका छौं,’ उनले भने, ‘अझै पनि गाउँगाउँमा यसबारे सूचना प्रवाह हुन सकेको छैन, आगामी दिनमा बिदाको दिनमा पनि बिरामीको संख्या बढ्ने अपेक्षा छ ।’ गाउँपालिकाभित्रका बासिन्दाको उपचार सहज, सरल, गुणस्तरीय र प्रभावकारी बनाउन बनाउन वर्षभरि स्वास्थ्यचौकी सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए ।


‘बिदामा पनि सर्वसाधारण बिरामी हुन्छन्, स्वास्थ्य चौकी नखुल्दा महँगो शुल्क तिरेर निजी मेडिकलमा उपचार गराउनुपर्ने बाध्यता हटाउन खोजिएको हो,’ उनले भने, ‘गाउँपालिकाको यो निर्णयले आकस्मिक अवस्थाका बिरामी र गर्भवतीको उपचार सहज बनाउने विश्वास छ ।’


उनले बिदाको दिनमा पालोअनुसार स्वास्थ्यकर्मी परिचालन गरिएको र उनीहरूलाई थप पारिश्रमिकको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार पर्याप्त औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गरी सबै स्वास्थ्यचौकीको उपचार सेवा क्रमशः प्रभावकारी बनाइएको छ । उनले क्रमशः स्वास्थ्यचौकीमा पूर्वाधार र उपकरण थपिँदै लगिएको सुनाए ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?