२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बढ्दै भैंसी तस्करी

कान्तिपुर संवाददाता

जाजरकोट — भेरी नगरपालिका २, दारका विष्णुजंग शाहले भे.१ख १८५६ को ट्रकमार्फत १० भैंसी नेपालगन्ज लैजाँदै थिए । प्रहरीले शान्तिचौतारास्थित चेक प्वाइन्टमा भैंसी बोकेको ट्रकलाई २४ घण्टासम्म रोक्यो । ट्रकमा ८ भैंसी र २ राँगा थिए ।

प्रहरीले भैसी नेपालगन्ज लैजाँदै गरेका शाहसँग चलानी, सिफारिस, पशु स्वस्थ्य परीक्षण प्रतिवेदनलगायत कागजात माग्यो । तर, शाहसँग नलगाड नगरपालिकाको सिफारिसपत्रबाहेक केही थिएन । प्रहरीले कागजातसहित शाहलाई प्रशासनमा मंगलबारै बुझायो ।


प्रजिअ ललितकुमार बस्नेतले स्त्री चौपाया काटमारका लागि ओसापसार गर्न नपाइने भएकोले भैंसी लिन नदिने भन्दै सम्बन्धित निकायमा फिर्ता गरीदिन प्रहरीलाई निर्देशन दिए । तर प्रजिअ बस्नेतले भैंसी लिन नदिनू भन्ने निर्देशन गरेको करिव ४ घण्टा नबित्दै भैंसी लोड गरिएको ट्रक बुधबार निर्वाध नेपालगन्जतर्फ हिँड्यो । भेरी नगरपालिका पशुपंक्षी शाखाले प्रजिअ बस्नेतको निर्देशनविपरीत निकासी सिफारिस दिँदा ब्यापारीले भैंसी लिन पाएका हुन् ।


त्यस्तै २ साताअघि प्रहरीले छेडाबजार चेक प्वाइन्टमा १० भैंसी बोकेको ट्रक नियन्त्रणमा लियो । प्रहरीले उक्त भैंसी लोड ट्रक भेरी नगरपालिकाको कार्यालयमा पठायो । भेरीले भैंसी व्यापारीलाई भैंसी लिन नपाउने कागज गरी सम्बन्धित किसानलाई फिर्ता दिन निर्देशन गर्‍यो । तर व्यापारीले उक्त भैंसी नेपालगन्ज पुर्‍याई बिक्री गरेरै छाडे ।


जाजरकोटदेखि नेपालगन्ज लिएर भैंसी बिक्री गर्ने यी उदाहरण मात्र हुन् । जाजरकोटबाट भैंसी तस्करी हुन थालेको महिनौं बितेको छ । सयौं भैसीको तस्करी भइसकेको छ । स्थानीय तहले भैसी संरक्षण गर्ने र काटमारका लागि बाहिर लैजान नदिने निर्णय गरे पनि उक्त निर्णयविपरीत तस्करी हुने गरेको हो ।


संरक्षणको निर्णय गर्ने भेरी र नलगाड नगरपालिकाबाटै भैसी बाहिर पठाउने क्रम बढ्दो छ । जाजरकोटमा ३० देखि ४० हजार रुपैयाँमा किनिएको भैंसी बाँकेको हवाल्दरपुरमा ७० हजारसम्ममा बिक्री हुने गरेको छ । स्थानीय दानबहादुर ओलीका अनुसार नेपालगन्ज पुग्ने अधिकांश भैंसी मासुका लागि जाने गरेको छ ।


जिल्लाबाट ६ सय बढी भैंसीको तस्करी भएको पाइएको छ । आजभोलि गाउमा भैंसी नै पाउन छाडेको उनले वताए । आर्थिक प्रलोभनमा भैंसी बाहिर पठाउने क्रम बढदै गएको छ । नलगाड नगरपालिकाले भैंसी बाहिर लैजान रोकेको नगरप्रमुख टेकबहादुर रावलले वताए । ‘मैले यसअघि २ पटक भैंसी बाहिर जान लागेको थाहा पाएपछि रोकेको थिए,’ उनले भने, ‘पटकपटक किन बदमासी भइरहेको छ, यसबारे बुझिरहेको छु ।’

प्रकाशित : श्रावण २८, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?