कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खेतमा सुक्दै रोपो

पानी नपर्दा किसानले ढिलो गरी रोपे पनि अझै पलाउन सकेन

सल्यान र कालीकोट — पर्याप्त वर्षा नहुँदा बन्गाडकुपिण्डे नगरपालिकाको बन्गाड र संग्रही ज्युला आसपासका क्षेत्रमा रोपिएको धान फस्टाउन सकेको छैन । सिँचाइ सुविधा नभएपछि बन्गाड क्षेत्रका अधिकांश ठाउँमा आकासे पानीको भरमा खेती हुने गरेको छ ।

खेतमा सुक्दै रोपो

ढिलोगरी रोपेको धान राम्ररी पलाउन नसकेको किसानको गुनासो छ । धानबाली फस्टाउन नसकेपछि किसान चिन्तित बनेका छन् । सिँचाइ सुविधा भएका स्थानमा समेत खोलामा पानीको बहाव घटेपछि सिँचाइ गर्न समस्या भएको कृषक देवीलाल बुढाले बताए । ‘आसपासका गाउँमा सिँचाइ सुविधा भए पनि सिँचाइ गर्न रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘कुलोमा पानी घटेका कारण एक रोपनीमा सिँचाइ गर्न पनि ४/५ घण्टा लाग्ने गरेको छ ।’ उनले सिँचाइ सुविधा नभएका गाउँका किसान आकासे पानीको प्रतिक्षामा रहेको जनाए ।


यस वर्ष वर्षा कम भएका कारण बन्गाड खोला आसपासका खेतमा गत वर्षभन्दा कम रोपाइँ भएको छ । पर्याप्त वर्षा नहुँदा पाखो बारीमा लगाउने पाखेधान रोप्न नपाएको किसानको गुनासो छ । धान राम्ररी नफस्टाएकाले यस वर्ष धान उत्पादनमा गिरावट आउने सम्भावना भएको स्थानीय कृषक दिलमाया खडकाले बताइन् । ‘गत वर्ष अत्यधिक वर्षा भएकाले राम्रो धान उत्पादन भएन, यस वर्ष पानी नै नपर्दा समस्या भयो,’ उनले भनिन्, ‘रोपाइँ गर्दा राम्रै वर्षा भए पनि ३ सातायता पानी नै परेको छैन ।’ उनले उत्पादनमा गिरावट आएपछि जीविकोपार्जनमा समस्या हुने बताइन् । गत वर्ष अन्न उत्पादन राम्रो नहुँदा अधिकांश पुरुष भारतमा मजदुरी गर्न गएको उनको भनाइ छ ।


बन्गाड र संग्रहीज्युला खोला नजिकैका बस्ती भए पनि सरकारी बेवास्ताका कारण सिँचाइ सुविधा पुग्न नसकेको स्थानीय हेमलाल ओलीले बताए । उनले स्थानीय सरकारले समेत सिँचाइ समस्या सम्बोधन गर्न पहल नगरेको आरोप लगाए । ‘असार र साउनमा जति वर्षा हुनुपर्ने थियो, भएन,’ उनले भने, ‘पर्याप्त पानी नपर्दा धानबालीमा रोग किराको समस्या बढ्न थालेको छ ।’ ब्याड तयारी अवस्थामा राखे पनि वर्षा नभएका कारण कोदो रोप्न नसकिएको उनको गुनासो छ । उनले कोदोका बेर्ना छिप्पिन थालेको दुःखेसो पोखे ।


यस वर्ष धानको उत्पादन राम्रो नहुने भएपछि अधिकांश किसानलाई मजदुरीका लागि भारत जानुपर्ने बाध्यता आएको ओली बताउँछन् । ‘आफ्नो खेतबारीको उत्पादनले वर्षभरि खान नपुगे भारतमा मजदुरीका लागि नगए सुखै छैन,’ उनले भने, ‘कतिपय युवा मजदुरीका लागि भारत पसिसकेका छन् ।’


बन्गाडकुपिण्डे नगरपालिकामा १ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि शाखाले जनाएको छ । वर्षा पर्याप्त नभएपछि यस वर्ष उत्पादन घट्ने सम्भावना देखिएको कृषि शाखाकी सहायक कल्पना धमलाले बताइन् । उनले १/२ साताभित्र पर्याप्त वर्षा नभए धानबाली सुक्दै जाने बताइन् ।


उनका अनुसार नगरपालिकाको अधिकांश क्षेत्रमा आकासे पानीका भरमा धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक रेशमकुमार बस्नेतका अनुसार जिल्लामा अझै १० प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । उनले धान रोपिए पछि पर्याप्त आकासे पानी नपर्दा जिल्लाभरको धानबालीमा असर पुगेको जनाए । उनका अनुसार वर्षा नहुँदा काभ्रा र कपुरकोटमा मकैबालीमा रोग देखा परेको छ । केन्द्रका अनुसार जिल्लाभर ७ हजार १ सय ४० हेक्टर खेतमा धान खेती हुने गरेको छ । जिल्लामा करिव ४० प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ सुविधा रहेको केन्द्रले जनाएको छ ।



पलातामा खाद्य कचहरी

बर्सेनि खाद्य संकटसँग जुध्दै आएको कालीकोटको पलाता धौलागोहमा खाद्य कचहरी सञ्चालन गरिएको छ । सुक्खा खडेरीले समयमै खेती लगाउन नपाइने बाध्यता रहेको धौलागोहका बासिन्दाले दिर्घकालीन सिँचाइ योजना, थोपा सिँचाइ र किसानलाई अनुदानका कार्यक्रम सञ्चालन गर्न कचहरीमार्फत माग गरेका छन् ।


पलाता २ को आयोजनामा धौलागोहको राडुनेटामा सञ्चालित खाद्य कचहरीमा कर्णाली नदीको पानी पम्पिङ गरी बस्तीमा पुर्‍याउन माग गरिएको हो । ‘पानी परेको वर्ष उब्जाउ राम्रै हुन्छ,’ पालता २, मिजुवाडाका ५१ वर्षीय परिलाल न्यौपानेले भने, ‘खडेरीले यस वर्ष पनि खाद्य अभावको सम्भावना देखिएको छ ।’


कालीकोटको पलाता गाउँपालिकास्थित धौलागोह राडुनेटामा आयोजित खाद्य कचहरीमा समस्या राख्दै स्थानीय बासिन्दा ।तस्बिर : कान्तिपुर

उनका अनुसार पलाताबासीले खाद्यान्नको जोहो गर्नकै लागि भोगिरहेका समस्यामाथि छलफल गर्दै दीर्घकालीन समस्या समाधान गर्न कृषि र पशुपालनमा जोड दिने प्रतिबद्धता गरिएको छ । सरकारले सुक्खा क्षेत्रका बासिन्दाका लागि पलाता र पचालझरनामा खाद्य संस्थानको चामल ढुवानी अनुदानमा बिक्री गर्दै आएको छ ।


स्थानीय उत्पादन कोदो, मकै, फापरलाई संरक्षण गर्नेबारे समेत कचहरीमा छलफल गरिएको पलाता २ का वडाध्यक्ष बिरी विश्वकर्माले बताए । ‘जिल्लामा सबैभन्दा बढी खाद्यान्न अभाव हुने क्षेत्र धौलागोह हो,’ कचहरीको अध्यक्षता गरेका विश्वकर्माले भने, ‘ढुवानी अनुदानको चामलमा मात्र भर नपरेर दीर्घकालीन खाद्य सुरक्षाका लागि सिँचाइ योजना, उन्नत बीउ र औजार र अनुदानको माग गरिएको छ ।’


कचहरीमार्फत सबै टोलबाट निर्माण भएका कार्ययोजना पूरा गराउन स्थानीय सरकारको ध्यानाकर्षण गराइने सहभागीले जनाएका छन् । कचहरीमा कामको प्रभावकारिता जाँच गर्न ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । यसअघि गत वैशाखको कचहरीमा वृक्षरोपण गर्ने, नगदे बालीमा जोड दिने, पशुपालनलाई व्यावसायीकरण गर्नेलगायत निर्णय गरिएको थियो । खाद्य अभावले बालबालिकाका र किशोरीमा देखिएको कुपोषण समस्या कम गर्न खाद्य आनीबानीमा सुधार गर्ने निर्णयसमेत गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताए ।


खाद्य अभाव भइरहने गाउँपालिकाका अधिकांश युवा मजदुरीका लागि भारत जाने गरेका छन् । आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने भएपछि युवालाई मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको हो । पुरुष कमाइका लागि घर बाहिर जाँदा महिलामाथि घरयसी र पारिवारिक बोझ पर्ने गरेको छ । हिउँदमा खडेरीले उत्पादन कम हुने पलातामा वर्षायाममा पानी धेरै परेको वर्ष कोदो खेती बढी हुने गरेको छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?