२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

गमगढी–नाग्मा सडक अवरुद्ध

कान्तिपुर संवाददाता

मुगु — अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक अवरुद्ध भएको छ । वर्षाका कारण जताजतै सडक हिलाम्मे बनेपछि सवारी साधन आउजाउमा मुस्किल भएको हो ।

सडकमा यातायातका साधन नचल्दा स्थानीय बासिन्दा घण्टौं यात्रा गरी गन्तव्यमा पुग्न बाध्य छन् । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ ।


जुम्लाको आचार्यलिइदेखि गोठीज्यूलासम्मको सडक हिलाम्मे हुँदा यातायातका साधन अलपत्र पर्न थालेका छन् । कालिकोट हुँदै नाग्मादेखि जुम्लाको आर्चायलिइसम्म मात्र ठूला सवारी साधन आउने गरेका छन् । त्यहाँबाट यात्रु पैदल गन्तव्यसम्म हिडेर यात्रा गर्न बाध्य छन् । आर्चायलिइबाट ट्र्याक्टरमा समान ढुवानी गर्ने गरिए पनि सडक हिलाम्मे हुँदा फस्ने गरेको चालकको गुनासो छ ।


सडकमा पानी जमेपछि सवारी साधन चल्न बन्द भएको कामना स्टोरका प्रोपराइटर बाँचुकला रावतले बताइन् । ‘ट्याक्टरमा ढुवानी गरिएका सामान गमगढी पुर्‍याउन मुस्किल छ,’ उनले भनिन्, ‘वर्षा नरोकिए सडक सुचारु हुने सम्भावना छैन ।’ मुगुको सातमोड क्षेत्रको सडक हिलाम्मे हुँदा दुर्घटनाको जोखिम बढै गएको छ । पानी निकास हुने ढलको व्यवस्था नहुँदा अधिकांश सडक हिलाम्मे बनेको उनको भनाइ छ । गमगढीदेखि ताल्चासम्मको ९ किलोमिटर सडकमा पनि पानी जमेपछि यातायातका साधन सञ्चालन गर्न समस्या छ ।


रारा विमानस्थलदेखि गमगढीसम्म यात्रु बोक्न सञ्चालन भएका जिप सडक हिलाम्मे बनेपछि चल्न समस्या भएको स्थानीय अंकबहादुर बुढाले बताए । ‘सडक स्तरोन्नतिका नाममा वर्सेनि ठेकेदारले स्काभेटर लगाएर माथिको माटो सडकमा बिछ्याउने गरेकाले वर्षा सुरु हुनवित्तिकै पहिरो जान र सडक हिलाम्मे हुन थाल्छ,’ उनले भने, ‘यो वर्षौदेखि भोग्दै आएको समस्या हो, सडक कालोपत्रे नहुँदा जिल्लाबासीले बर्खा र हिमपातका बेला सास्ती भोग्दै आइरहेका छौं ।’


स्थानीय जयबहादुर मल्लका अनुसार कालोपत्रे नहुँदा नाग्मा–गमगढी खण्डमा वर्षमा ६ महिना मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् । २०६९ सालदेखि सडकको ट्रयाक खोलि यातायात सेवा सञ्चालन गरिए पनि कालोपत्रे नहुँदा रारा घुम्न आउने पर्यटकले सास्ती भोग्दै आएको उनी बताउँछन् ।


हिलाम्मे सडकका कारण रारा घुम्न आउने पर्यटकको संख्या घटै गएको पर्यटन व्यवसायी बताउँछन् । सडक अवरुद्ध हुँदा जरुरी कामका लागि तराइ झर्ने यात्रु र बिरामी बढी समस्यामा परेका छन् । वर्षाका कारण हवाइसेवासमेत नियमित प्रभावकारी नहुँदा यात्रुले सास्ती भोग्नुपरेको उनी बताउँछन् ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?