२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एउटै गाउँमा तीनवटा गुफा

हरि गौतम

रुकुम पूर्व — यहाँको एउटै गाउँमा तीनवटा गुफा फेला परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलमा अनौठा गुफा भेटिएको स्थानीयले बताएका छन् । तीनवटै गुफाको नामकरण मगर खाम भाषाबाट गरिएको छ ।

पहिलोको नाम मि कुङ राखिएको छ । खाम भाषामा मि भनेको मान्छे र कुङ भनेको गुफा हो । दोस्रोको सुनरी कुङ राखिएको छ । सुनरी भनेको सुनपानी हो । तेस्रो गुफाको नाम चाँदी राखिएको छ । गुफाभित्रको अवस्था र आकृतिका आधारमा स्थानीयले नामकरण गरेका हुन् ।


पहिलो गुफा सबैभन्दा ठूलो छ । त्यसमा एकैपटक ५० जनाभन्दा बढी मान्छे अँटाउन सक्छन् । त्यसभित्र मान्छेका जस्ता आकृति छन् । पुथाउत्तरगंगा–१२ का वडाध्यक्ष गंगा पुनमगरका अनुसार जमिनबाट २५ मिटरभित्र पसेपछि गुफाको सतह भेटिने उनले बताए ।


उनका अनुसार नजिकै रहको अर्को गुफाभित्र सुनका आकृति छन् । तेस्रो गुफाभित्र चाँदीका जस्ता देखिने थुप्रै आकृति छन् । मान्छेको आकृति भएको ठूलो गुफा एकतर्फ छ भने सुन र चाँदीका आकृति देखिने गुफा अर्कोतर्फ छन् । यी गुफामा गाउँबाट १५ मिनेटको पैदल यात्रापछि पुगिन्छ ।


गुफाभित्र कतै हात्तीको सुँडजस्ता, कुनै ठाउँमा गाईका थुनजस्ता आकृति छन् । गुफाभित्र कुनै वस्तु राखियो भने केही वर्षभित्रै ती वस्तुलाई चट्टानले छोपिदिने विशेषता छ । केही वर्षअघि गुफामा स्थानीयले काठ राखेका थिए । हाल ती काठ चट्टानजस्तै भएका छन् । स्थानीयले पहिलेदेखि देखेको भए पनि स्थानीय युवाले महत्त्व दिएपछि केही समयदेखि मात्रै गुफाप्रति चासो बढ्न थालेको हो ।


गाउँभन्दा तल गुफा भेटिए पनि यी गुफासम्म पुग्न गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको स्थानीयले बताए । धेरै वर्षअघि गुफाभन्दा दुई किलोमिटरमाथि रहेका अन्य गुफाबाट छिरेका कुकुर केही समयपछि नयाँ फेला परेका गुफाबाट निस्केको किम्वदन्ती रहेको स्थानीय मन्जित पुनले बताए ।


गाउँभन्दा माथि मगर खाम भाषामा निम कुङ भनिने अर्को गुफा छ । मगर खाम भाषामा निम भनेको भालु हो । भालु लुक्ने गुफा भएकाले यसलाई स्थानीयले निमकुङ नामकरण गरेका हुन् । यो गुफामा पनि जमिन सतहबाट उज्यालोको सहायताले २५ मिटरजति भित्र जान सकिन्छ ।


गुफा पत्ता लागेदेखि नै गुफा हेर्न जानेहरूको संख्या बढदै गएको छ । स्थानीयले यसको प्रवर्द्धनका लागि वडा, गाउँपालिका तथा प्रदेश सरकारसँग माग गरेका छन् ।


प्रदेशसभा सदस्य तेजबहादुर ओलीले हालसम्म भेटिएका गुफामध्ये यी तीन गुफा फरक विशेषताका भएको बताए । ‘प्रदेश सरकारबाट बजेट व्यवस्था गरेर यसलाई रुकुम पूर्वको पर्यटकीय गन्तव्य बनाउने गरी काम सुरु गर्ने छौं,’ उनले भने, ‘गाउँदेखि गुफासम्म र गुफा प्रवेशस्थलमा सिंढीको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गर्ने छौं ।’

प्रकाशित : श्रावण २६, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?