सल्ली–जाजरकोट–डोल्पा सडक : १४ वर्षपछि फर्कियो सेना

कृष्णप्रसाद गौतम, विष्णुलाल बुढा

सुर्खेत र डोल्पा — १४ वर्ष अवधिमा रुकुम, जाजरकोट र डोल्पालाई सडक सञ्जालमा जोडेर नेपाली सेनाको टोली फिर्ता भएको छ । डोल्पा सदरमुकाम दुनैसम्मको सडकको ट्र्याक पूर्णरूपमा खोलिएपछि सेनाले ३ जिल्लाका ८ स्थानमा राखिएका बेस क्याम्प साउन दोस्रो साताबाट हटाएको हो । 

३ जिल्लामा सडक पुर्‍याउन ०६१ मा सल्यानको सल्लीबजारमा बेस क्याम्प राखी सेनाले सडक निर्माण थालेको थियो । रुकुमको चौरजहारी र जाजरकोट सदरमुकामलाई ०६५ मा सडक सञ्जालसँग जोडेसँगै जाजरकोट–डोल्पा सडक निर्माणको काम सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार जाजरकोट सडकअन्तर्गत १ सय १८ किलोमिटर सडकको ट्र्याक खोलिएको हो । सडक निर्माणको काम सकिएपछि जाजरकोटको मन्मै र तल्लु, रुकुमको मन्काबगर र त्रिवेणी तथा डोल्पाको खदाङ, घाउने र सुलिगाडमा राखिएका सुरक्षा बेस क्याम्प हटाइएको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख, प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए । उनी नेतृत्वकै टोलीले सल्लीबजार देवस्थल कैनकाँडा हुँदै चौरजहारीसम्मको ४१ किलोमिटर र सुर्खेतको राकम हुँदै जाजरकोट खलंगासम्मको १ सय ७ किलोमिटर सडक निर्माण गरेको थियो ।

०६५ देखि सुरु भएको जाजरकोट–डोल्पा सडकको काम सुरुमा रेखांकन विवादका कारण २ वर्ष रोकिएको थियो । मुडेचुला गाउँपालिका १ का लंकबहादुर रोकायाले सडकको ट्र्याक खुलेसँगै डोल्पाका बासिन्दामा खुसियाली छाएको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले सडकसँगै डोल्पामा समृद्धि भित्रन सुरु भएको बताए । सरकारले भेरी करिडोरमा यो सडकलाई समेटेर भारत र चीनसँग जोड्ने योजना बनाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मारिम्ला नाकाबाट तिन्जे, धो, लसिक्याप हुँदै डोल्पाको सदरमुकाम दुनै जोड्ने र दुनैबाट त्रिपुराकोट, खदाङ, त्रिवेणी, जाजरकोट, छिन्चु र नेपालगन्जबाट रुपैडिहा जोड्ने सरकारी योजना छ ।
सस्तियो भान्सा, बढे बजार
सदरमुकाम दुनैसम्म सडकको ट्र्याक खुलेपछि डोल्पाका ग्रामीण क्षेत्रको भान्सा सस्तिएको छ । सडकको ट्र्याक खुलेसँगै गाउँगाउँमा टुक्रे बजार फस्टाउँदै गइरहेका छन् । सदरमुकामलाई विभिन्न गाउँसँग जोड्न ग्रामीण सडक निर्माण गर्ने क्रम बढिरहेको छ ।

अहिले काइगाउँ, त्रिवेणी, खदाङ, चुंगाड, लिकु, त्रिपुराकोट, जुफाललगायत साना बजार फस्टाउँदै गएको स्थानीय वीरभद्र बुढाले बताए । डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढाले बजार भाउ सस्तो भएपछि स्थानीयको जनजीवन सहज बन्दै गएको बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

छबिसमा दियोबलाई

कान्तिपुर संवाददाता

बझाङ — छबिस पाथीभेरा गाउँपालिकामा साता दिनसम्म लाग्ने दियोबलाई पर्व सुरु भएको छ । छबिस क्षेत्रका बासिन्दाले चोखोनितो भएर दियो बालेर सुर्मा देवीको पूजा गर्छन् ।

साउन शुक्ल त्रयोदशीबाट सुरु भई जनै पूर्णिमासम्म यो पर्वमा मेला लाग्ने गर्छ । मेलाको मुख्य आकर्षण पहिलो दिन दियोबालाई हो । गाउँभरीका मानिस व्रत बसेर आ–आफ्नो घरबाट निउज (चोयाले बुनेको टोकरीमा राखिएको जौं, फलफूल, दियो, घिउलगायतका सामग्री) लिएर मुम्लास्थित सुर्मा मन्दिर जाने गर्छन् ।

मन्दिरका पुजारीले गाउँभरिका बासिन्दाले ल्याएको निउजलाई एकै ठाउँमा मिसाउने र त्यो सबैको टोकरीमा राखी दियो बालेर फिर्ता दिने गर्छन् । सबैको पूजा सामग्रीमा एक साथ दियो बालिने भएकाले यो पर्वको नाम दियोबलाई रहन गएको यस क्षेत्रको संस्कृतिका जानकार दानबहादुर अयडीले बताए ।

दियोबलाई मेलाको अर्को रोचक पक्ष भनेको मन्दिरबाट आएको पूजा सामग्रीमा रहेको फलफूलका आधारमा गर्भवतीको पेटमा रहेको शिशुको लिंग भविष्यवाणी गर्नु हो । ‘कसको पाथो (चोयाले बुनेको टोकरी अर्थात् पाथी) मा कुन फलफूल छ । त्यसका आधारमा त्यो घरकी गर्भवतीले छोरा वा छोरी पाउनेबारे गरिएको अनुमान मिल्ने विश्वास छ,’ स्थानीय मधुकला अयडीले भनिन्, ‘त्यही भएर पनि यहाँ यो पर्वको विशेष महत्त्व छ ।’

उनले दियो बालेको पाथीमा नासपाती भए छोरा हुने, ओखर भए छोरी हुने बताइन् । त्यसैगरी, आरु भए छोरी, स्याउ भए छोरा, निबुवा भए छोरी र काँक्रो भए छोरा हुने गरेको जनविश्वास रहेको बताइन् । अन्य विभिन्न फलफूलका आधारमा गर्भवतीले छोरा पाउँछ कि छोरी भन्ने भविष्यवाणी हुने गरेको र त्यो मिल्ने अयडी बताउँछिन् ।

जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र सुर्मा सरोवरमा जनै पूर्णिमाको दिन लाग्ने विरिजात मेलाको तयारी स्वरूप छबिसमा यो पर्वको सुरु हुन्छ । दियोबलाई पर्व सुरु भएको दिनदेखि विरिजात मेलाको दिनसम्म सुर्मा सरोवर यात्रामा जानेले एकछाक मात्र खाने र खाली खुट्टा हिँड्ने परम्परा रहेको छबिस पाथीभेरा गाउँपालिका २ का अध्यक्ष विकास ऐडीले बताए ।

उनले विरिजातको बेला गाउँबाट समुद्र सतहदेखि ४ हजार ९ सय मिटरको उचाइमा रहेको सुर्मा सरोवर तालसम्म खाली खुट्टानै जानुपर्ने भएकाले त्यसको तयारी गर्न यस्तो चलन रहेको हुन सक्ने बताए । यसरी साता दिनसम्म व्रत बसेर सुर्मासरोवर जाने तीर्थालुलाई स्थानीय बोलीमा बालावीर भनिन्छ ।

पर्वको अवधिभरि छबिस क्षेत्रका महिला र पुरुषहरूले दैनिकजसो विभिन्न देवीदेवता र वीर गाथामा आधारित भारी खेल (कथानक देउडा गीत) खेल्ने, चाभाई (देव प्रशस्ती) गाउने गरेको सुर्मा मन्दिरका नाइक चन्दु कडायतले बताए । यस अवधिमा काम विशेषले गाउँ, जिल्ला तथा देशबाहिर रहेका यहाँका बासिन्दाहरू गाउँ फर्किने भएकाले गाउँको माहौल उत्सवमय हुने गरेको सुर्माका धामी भीमबहादुर अयडीले बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्