तरकारीले नमुना बन्दै बरला

स्थानीय बजारमा भारतीय तरकारी आउनै छाडेपछि व्यावसायिक खेती गर्ने बढे, यसबाट भएको आम्दानीले बजारमा घर–घडेरी जोड्न सहज
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका ६, बरलाका ५७ वर्षीय लोकबहादुर भण्डारीको बारीमा सधैं बेमौसमी तरकारी फलिरहेको हुन्छ । तरकारीबाटै वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले यही व्यवसायबाटै घर–घडेरी जोडेका छन् ।

तरकारीले नमुना बन्दै बरला

उनका दाइ ६३ वर्षीय हेमराज भण्डारीले पनि तरकारीबाटै वार्षिक ५ लाख बढी रकम आम्दानी गरिरहेका छन् । हेमराजको ८ रोपनीमा तरकारी खेती छ ।


भण्डारी दाजुभाइ मात्र होइन, बरलाका अधिकांश घरधुरी व्यावसायिक तरकारी खेतीमा लागेका छन् । व्यावसायिक तरकारी खेतीबाटै कृषकको जीवनस्तर बदलएपछि बरला नमुना बन्दै गएको छ । पछिल्लो समय पढेलेखा युवासमेत तरकारी खेतीमा आकर्षित भएपछि विदेशमा मजदुरी गर्न जानेको संख्या घट्दै गएको छ ।


तरकारी खेतीका कारण बरला आसपासको क्षेत्र बाह्रैमहिना हराभरा देखिन्छ । १४ रोपनीमा १८ प्लास्टिक घर बनाइ लोकबहादुरले तरकारी खेती गरिरहेका हुन् । तरकारीबाट आएको रकमले उनले बरालामै ३० रोपनी खेत जोडिसकेका छन् । ‘कुनै बेला घर खर्च टार्नै समस्या थियो, परिवार पाल्न भारत जाने अवस्था आइलागेपछि तरकारी खेतीमा लाग्ने निर्णय गरे,’ उनले भने, ‘तरकारी खेतीमा लागेको ३० वर्षमा एक करोड बढीको सम्पत्ति जोडिसकेको छु ।’


तरकारी खेतीकै आम्दानीले उनले जेठा छोरालाई फिनल्यान्ड पठाएका छन् । छोरीले काठमाडौंमा बसेर कलेज पढिरेहकी छिन् । अहिले रोगकिराको प्रकोप देखिए आफैं उपचार गर्नसक्ने अवस्थामा पुगेको उनी बताउँछन् । उनी काठमाडौंमा रहेका कृषि चिकित्सक केदार बुढाथोकीसँग अनलाइनमै कुराकानी गरी बारीको प्राविधिक समस्या समाधान गर्छन् ।


अर्का किसान भीमबहादुर बुढाथोकीको बारीमा भान्टा, टमाटर र भेडेखुर्सानी फलिरहेका छन् । वार्षिक ७ लाख रुपैयाँ कमाउँदै आएका उनले तरकारी खेतीले आत्मसम्मानसँगै सन्तुष्टि दिएको बताए । ‘न बजारको समस्या छ, न खासै दुःख,’ उनी भन्छन्, ‘आम्दानी बर्सेनि बढ्दै गएको छ, तरकारी किन्न ग्राहक बारीमै पुग्छन् ।’


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २० लाख रुपैयाँ अनुदान दिएपछि क्रमशः तरकारी खेतीको क्षेत्र विस्तार गरिरहेको उनले जानकारी दिए । स्थानीय बजारमा भारतीय तरकारी आउन छाडेपछि खेती झनै फस्टाएको उनी बताउँछन् । उनका अनुसार सिजन अनुसार स्थानीय तरकारीको मूल्य बढ्दै गएकाले आम्दानीमा वृद्धि भइरहेको हो । आफूले उत्पादन गरेको तरकारी दाङ, रुकुमलगायत जिल्लामा समेत जाने गरेको उनले सुनाए ।


तरकारीबाट बरलाका किसान आत्मनिर्भर भएपछि आसपासका गाउँमा समेत किसानसमेत व्यावसायिक बन्न थालेका छन् । स्थानीय चेतबहादुर ओलीले विगतमा भारतमा मजदुरीका लागि जानेहरू अहिले तरकारी खेतीमा रमाइरहेको बताए ।


‘अहिले आसपासका क्षेत्रमा अन्नबाली उत्पादन हुनै छोडेको छ,’ उनले भने, ‘राम्रो आम्दानी भएपछि धान, गहुँ र मकै छोडेर तरकारी खेती गरिरहेका छौं ।’ उनका अनुसार अधिकांश घरधुरी आधुनिक तरकारीमा लागेपछि रोककिराको प्रकोप कम हुँदै गइरहेको छ भने उत्पादन बढिरहेको छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?