ठाकुरज्यूको ‘गाथ’ छायानाथमा

कान्तिपुर संवाददाता

मुगु — छायानाथ–रारा नगरपालिकाको चैन गाउँबाट ठाकुरज्यूको मन्दिरको ‘गाथ’ मुगमकार्मारोङ गाउँपालिकास्थित छायानाथ मन्दिरमा लगिएको छ । चैन गाउँको मन्दिरमा रहेको शिवको ‘गाथ’ बाजागाजासहित पुजारीले बोकेर छायानाथ लिएका हुन् ।

ठाकुरज्यूको ‘गाथ’ छायानाथमा

धार्मिक परम्पराअनुसार बर्सेनि ठाकुरज्यूको ‘गाथ’ छायानाथ मन्दिरमा लिने गरिएको छ । तीर्थालुसहित सुरक्षाकर्मीसँगै बिहीबार पुजारीले ‘गाथ’ लिएको व्यवस्थापन समितिले जनाएको छ । मुगमकार्मारोङ गाउँपालिकाको डोल्फूमा रहेको छायानाथ तीर्थस्थलमा जनैपूर्णिमामा हुने विशेष पूजाका लागि ठाकुरज्यूको ‘गाथ’ लिइएको हो । चैनबाट हिँडेको तीर्थालुको टोली लुम्स गाउँमा गएर बास बस्नेछ ।


जनै पूर्णिमाका दिन ठाकुरज्यूको ‘गाथ’को दर्शन गर्न र पूजापाठ गर्न छायानाथमा धामीझाँक्री र तीर्थालुको घुइँचो लाग्ने गरेको पुजारी भीमचन्द चौलागाईले बताए । उनका अनुसार जुम्ला, कालिकोट र हुम्लाबाट समेत तीर्थालु पूजाका लागि आउने गरेका छन् । ठाकुरज्यूको ‘गाथ’को पूजा गरे मनोकांक्षा पूर्ण हुने जनविश्वास छ ।


प्रचार र भौगोलिक विकटताले छायानाथ तीर्थस्थल ओझेलमा परेको पुजारी लक्ष्मीप्रसाद चौलागाईले बताए । उनका अनुसार अप्ठ्यारो बाटोमा सातादिनको पैदलयात्रा गरी तीर्थालु पूजाका लागि छायानाथ पुग्ने गरेका छन् ।


‘सुनालिनी, रुपालिनी, सुनपानी, बाइपासलगायत स्थानको बाटो जोखिमपूर्ण भएकाले तीर्थयात्रीलाई आउजाउमा समस्या छ, स्थानीय सरकारलाई पटकपटक ध्यानाकर्षण गराए पनि बेवास्ता भयो,’ उनले भने, ‘बसोबासका लागि पर्याप्त धर्मशाला नहुँदा भक्तजनले सास्ती भोगिरेहका छन् ।’

प्रकाशित : श्रावण २४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?