जंगलछेउ हरित क्याम्पस

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — जंगल छेवैमा नयाँ भवनहरू । भवन बनाउँदा जंगलका कुनै बोटबिरुवा मासिएको छैनन् । गाई, माछा, कुखुरा, टर्किस, खरायो, हाँस पनि पालिएका छन् । त्यतिमात्र कहाँ हो र ? त्यहिँभित्र विभिन्न किसिमका फलफूल र तरकारी लगाइएको छ ।

झट्ट हेर्दा लाग्छ– कुनै कृषकले सञ्चालन गरेको कृषि फर्मजस्तो । वीरेन्द्रनगर नगरपालिका १, धारापानीमा रहेको यो कृषिफर्म नभई एउटा विद्यालय हो । कोपिला भ्याली सेवा समाजले सञ्चालन गरेको कोपिला भ्याली स्कुलले ग्रिन क्याम्पसको अवधारणा अगाडि सारेर नेपालकै नमुना विद्यालय बनाएको छ ।

सन् २०१३ मा इन्जिनियर प्रवल थापाले ग्रिन क्याम्पसको अवधारणा अगाडि सारेका थिए । सोही अवधारणाबमोजिम ३ वर्ष अगाडिदेखि ग्रिन क्याम्पस निर्माणको काम सुरु भएको कोपिला भ्याली स्कुलका सञ्चालक टोपबहादुर मल्लले जानकारी दिए । उनका अनुसार २०६७ मा विद्यालय स्थापना हुँदा बाँसको भवन बनाइएको थियो । अहिले बनेको नयाँ भवन पनि वातावरणमैत्री छ । समाजको नाममा रहेको करिब ३ बिघामा स्कुलको भवन भवन बनाइएको उनले बताए ।

विद्यालयमै ‘भोकेसनल साइट’ नाम दिएर तरकारी तथा फुलफूलखेती र पशुपालन गरिएको छ । विद्यालय वरिपरि करिब १ सय ५ प्रजातिका बोटविरुवा संरक्षण गरिएका छन् । विद्यार्थीलाई विभिन्न विषयको प्रयोगात्मक अभ्यास पनि विद्यालयभित्रै गराइन्छ । ग्रिन क्याम्पस अवधारणाअन्तर्गत पालन गरिएका ११ गाईबाट उत्पादन हुने दूधको उपभोक्ता पनि विद्यार्थी हुन् । पशुपक्षी पालनबाट उत्पादन हुने मल पनि तरकारी तथा फलफूलमा प्रयोग गरिने मल्लले बताए ।

करिब १५ करोड लागत अनुमान गरी निर्माण सुरु गरिएको ग्रिन क्याम्पसमा अहिलेसम्म करिब १३ करोड खर्च भइसकेको छ । ‘ब्लिङ नाउ फाउन्डेसन’ले विद्यालय निर्माणमा सहयोग गरेको छ । ‘अरू भवनको काम सकेर पढाइ पनि सुरु गरिसकेको छौं, अब बालविकास (ईसीडी) को भवन १ महिनाभित्र सकिन्छ,’ मल्लले भने, ‘बालविकास भवन निर्माण भएपछि साना बालबालिकालाई यहीँ राख्ने तयारी गरेका छौं ।’

ग्रिन क्याम्पसअन्तर्गत बनेका संरचना बालमैत्री, अपांगमैत्री छन् । विद्यालयमा २५ किलोवाटको सोलार प्यानल जडान गरी सोलारबाटै खाना पकाउने र अन्य विद्युतीय काम पनि गरिन्छ । केही दिन घाम नलागे पनि सोलारबाट सञ्चित भएको शक्तिले खाना पकाउन सकिने प्रविधिको व्यवस्था विद्यालयमा छ । मल्लका अनुसार विद्यालयमा ३ किलोवाट मात्रै खपत हुने गर्छ । बाँकी सोलार स्थानीय तहसँग छलफल र समन्वय गरी अन्य क्षेत्रमा प्रयोग गर्ने सोच बनाइएको छ ।

सुर्खेतमा भइरहने पानीको संकटलाई मध्यनजर गर्दै विद्यालयले ३ लाख लिटर क्षमताको ट्यांकीसमेत निर्माण गरी पानी सञ्चित गरेको छ । आकाशेपानी संकलन गर्ने प्रविधि पनि विद्यालयले बनाएको छ । यतिमात्र होइन, खेर गएको पानी प्रशोधन गरी पुनः प्रयोगसमेत गरिन्छ । डिप बोरिङ गरी पनि पानी तान्ने व्यवस्था स्कुलले गरेको छ ।

सुरुमा २४ अनाथ बालबालिकाबाट सुरु गरिएको विद्यालयमा अहिले करिब ४ सय जनाले अध्ययन गरिरहेका छन् । बाँसले बारेर सुरु भएको विद्यालय अहिले पूर्वाधारयुक्त बनेको छ । शिक्षक जगत कोइरालाले विद्यार्थीलाई जान्न सजिलाका लागि हरेक बिरुवामा नामसमेत लेखिएको बताए । व्यावसायिक क्षेत्रमा विद्यार्थीले फलफूल तथा तरकारी लगाउने गरेका छन् ।

कोपिलाले नर्सरीमा मात्रै २५ अनाथ, असहाय, विपन्न बालबालिको भर्ना लिँदै आएको छ । मल्लका अनुसार कोपिलाले अहिले विद्यार्थी कक्षा ८ मा पुग्नेबित्तिकै प्रत्येकलाई १०/१० हजार रुपैयाँका दरले बैंकमा खाता खोलिदिने गरेको छ । यसले विद्यार्थीमा बचत गर्ने बानीको विकास हुने मल्लको भनाइ छ ।

‘आफूले केही गरी कमाएको रकम थप्न पनि सक्छ र आवश्यक परेको खण्डमा विद्यालयको अनुमतिमा खर्च गर्न सक्छ,’ उनले भने, ‘यसले बालबालिकाको आत्मविश्वास पनि बढाएको छ ।’ १२ कक्षा उत्तीर्ण भएको प्रमाणपत्र देखाएपछि विद्यार्थीले उक्त रकम आफूखुसी खर्च गर्न पाउने उनले बताए ।

जसले बनायो सीएनएन हिरो
२०६४ मा कोपिला भ्याली समाजका रूपमा स्थापना भएको गैरसरकारी संस्थाले स्कुल पनि सञ्चालन गरेको हो । अमेरिकाको न्युजर्सी घर भएकी म्यागी डोइन १२ वर्षयता सुर्खेतमा बसेर समाज सेवा गर्दै आएकी छन् । मानव सेवा गरेबापत म्यागी सन् २०१५ मा अमेरिकाको केबल न्युज नेटवर्क (सीएनएन) बाट हिरो अफ द इअरको उपाधि प्राप्त गर्न सफल भएकी थिइन् । उनले उक्त उपाधिबाट पुरस्कारस्वरूप प्राप्त गरेको १ लाख १० हजार अमेरिकी डलर पनि कोपिला भ्याली स्कुलमै लगानी गरेकी छन् ।

कोपिला भ्याली समाजकी संस्थापक रहेकी म्यागी भोलेन्टियरका रूपमा भारतको एक संस्थामा रहँदा उनको भेट कालीकोट घर भएका मल्लसँग भएको थियो । मल्लसँग उनले आफूलाई अनाथ बालबालिकाको सेवा गर्ने इच्छा भएको बताएकी थिइन् । मल्लले नेपालमा बालबालिकाको अवस्था झन् दयनीय रहेको बताएपछि उनी नेपाल आएकी थिइन् । म्यागीले पहिलोपटक नेपालमा आफ्नो कामको आरम्भ कोपिला भ्याली सेवा समाज नामक गैरसरकारी संस्थाबाट गरिन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

पासोमा परेको चितुवा मर्‍यो

कान्तिपुर संवाददाता

जाजरकोट — भेरी नगरपालिका ९, झुप्राखोलामा बयस्क चितुवा मरेको छ । चोरी सिकारीले थापेको पासोमा फसेको चितुवा सोमबार मरेको हो । स्थानीयले घाटीमा पासो लागेको चितुवा झुप्राखोला पुलमुनि फेला पारेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । 

स्थानीयबाट खबर पाएलगत्तै चितुवाको उद्धार गर्न डिभिजन वनका कर्मचारी र प्रहरी झुप्राखोला पुगेका थिए । पासोले घाटी काटेर अन्तिम अवस्थामा पुगेको चितुवा उद्धारटोली घटनास्थल पुगेको केही समयमै मरेको डिभिजन वन कार्यालयका रेञ्जर पूर्णबहादुर चन्दले बताए । चोरी सिकारीले थापेको पासो चुडालेर चितुवा घाइते अवस्थामा झुप्राखोला पुगेको उनको भनाइ छ । चितुवा कुन ठाउमा थापेको पासोमा परेर घाइते भएको थाहा हुन नसकेको चन्दले जनाए ।

मृत चितुवाको मंगलवार भेरी नगरपालिकास्थित पशुपन्छी विकास शाखामा पोस्टमार्टम भएको छ । चितुवालाई पोष्टमार्टमपछि डिभिजन वन कार्यालयले प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत लगायतको रोहवरमा मुचुल्का गरेर जमिनमुनि गाडेको रेन्जर चन्दले बताए ।

मोटरसाईकलको ब्रेक तारको पासो फसेर चितुवा मरेको पशुपन्छी बिकास शाखाका प्राविधिक धनबहादुर बिकले वताए । उनका अनुसार पोथी जातको उक्त चितुवा ५ फिट ५ इन्च लम्बाइ,४५ किलो तौल र ६ वर्षको थियो । पछिल्लो समय जाजरकोटका जंगलमा चितुवा, वाघलगायत बन्यजन्तु फेला पर्न छाडेको वन्यजन्तु तथा पन्छी खोजकर्ता गोविन्दबहादुर सिंहले बताए ।

अतिक्रमण तथा वन विनासका कारण पनि बन्यजन्तु तथा दुर्लभ पंक्षी संकटमा परेको सिंह बताउछन् । पछिल्लो समय वन्यजन्तुको चोरी शिकारी बढेको सिंहले जनाए । सम्बन्धित निकायले चोरी शिकारी नियन्त्रणमा ध्यान नदिदा चितुवा, वाघ, रेडपाण्डा, झारल, मृग, कस्तुरी, भालुलगायत बन्यजन्तु पाइन छाडेको सिंहको भनाइ छ । उनका अनुसार स्थानीयले सिनोमा विष हाल्ने, पासो थाप्नेलगायत गतिविधि गरी वन्यजन्तु तथा पंक्षीको चोरी सिकारी गर्ने गरेका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्