२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पासोमा परेको चितुवा मर्‍यो

कान्तिपुर संवाददाता

जाजरकोट — भेरी नगरपालिका ९, झुप्राखोलामा बयस्क चितुवा मरेको छ । चोरी सिकारीले थापेको पासोमा फसेको चितुवा सोमबार मरेको हो । स्थानीयले घाटीमा पासो लागेको चितुवा झुप्राखोला पुलमुनि फेला पारेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । 

स्थानीयबाट खबर पाएलगत्तै चितुवाको उद्धार गर्न डिभिजन वनका कर्मचारी र प्रहरी झुप्राखोला पुगेका थिए । पासोले घाटी काटेर अन्तिम अवस्थामा पुगेको चितुवा उद्धारटोली घटनास्थल पुगेको केही समयमै मरेको डिभिजन वन कार्यालयका रेञ्जर पूर्णबहादुर चन्दले बताए । चोरी सिकारीले थापेको पासो चुडालेर चितुवा घाइते अवस्थामा झुप्राखोला पुगेको उनको भनाइ छ । चितुवा कुन ठाउमा थापेको पासोमा परेर घाइते भएको थाहा हुन नसकेको चन्दले जनाए ।


मृत चितुवाको मंगलवार भेरी नगरपालिकास्थित पशुपन्छी विकास शाखामा पोस्टमार्टम भएको छ । चितुवालाई पोष्टमार्टमपछि डिभिजन वन कार्यालयले प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत लगायतको रोहवरमा मुचुल्का गरेर जमिनमुनि गाडेको रेन्जर चन्दले बताए ।


मोटरसाईकलको ब्रेक तारको पासो फसेर चितुवा मरेको पशुपन्छी बिकास शाखाका प्राविधिक धनबहादुर बिकले वताए । उनका अनुसार पोथी जातको उक्त चितुवा ५ फिट ५ इन्च लम्बाइ,४५ किलो तौल र ६ वर्षको थियो । पछिल्लो समय जाजरकोटका जंगलमा चितुवा, वाघलगायत बन्यजन्तु फेला पर्न छाडेको वन्यजन्तु तथा पन्छी खोजकर्ता गोविन्दबहादुर सिंहले बताए ।


अतिक्रमण तथा वन विनासका कारण पनि बन्यजन्तु तथा दुर्लभ पंक्षी संकटमा परेको सिंह बताउछन् । पछिल्लो समय वन्यजन्तुको चोरी शिकारी बढेको सिंहले जनाए । सम्बन्धित निकायले चोरी शिकारी नियन्त्रणमा ध्यान नदिदा चितुवा, वाघ, रेडपाण्डा, झारल, मृग, कस्तुरी, भालुलगायत बन्यजन्तु पाइन छाडेको सिंहको भनाइ छ । उनका अनुसार स्थानीयले सिनोमा विष हाल्ने, पासो थाप्नेलगायत गतिविधि गरी वन्यजन्तु तथा पंक्षीको चोरी सिकारी गर्ने गरेका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?