पुल भत्कँदा समस्या

एलपी देवकोटा

जुम्ला — तातोपानी गाउँपालिका ४ र ५ जोड्ने मूल बाटोको काठे पुल तिला नदीले भत्काएपछि आवतजावत गर्न कठिनाइ भएको छ । पुल भत्किएपछि बाटो नै अवरुद्ध भएको छ । ३० वर्षअघि निर्माण गरिएको पुल पुरानो भैसकेकाले नदीमा पानीको बहाव बढेसँगै बगाएको हो । 

पुल भत्कँदा समस्या

साविकको हांकु गाविसलाई जोड्ने यो पुल भत्किएपछि तातोपानी गाउँपालिकाका दुई वडाका बासिन्दाहरुले आउजाउ गर्न सकेका छैनन् । पुल जीर्ण बन्दा सरोकारवालाले ध्यान नदिँदा नदीले बगाएको स्थानीय नन्दराम चौलागाईले बताए ।


‘३० वर्षअघि निर्माण गरेको पुल नदीले बगाउने अवस्थामा पुग्दा समेत त्यहाँ नयाँ पुल निर्माणका लागि सरोकारवाला कसैले चासो दिएनन्’ चौलागाईँले भने, ‘अहिले पुल बगाएपछि आवतजावत नै ठप्प भयो । ’


पुल बगाएपछि त्यसतर्फ सुरक्षाकर्मीलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुल भत्कँदा मानवीय क्षति नभएको प्रमृख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । ‘पुल भएकै ठाउँमा पुगेर सुरक्षाकर्मी र स्थानीयको सहयोगमा हामीले काठलाई किनारा लगाएका छौँ’ उनले भनिन्,‘त्यही पुलबाट नै खानेपानी पनि सप्लाई भएकाले साविक ४ नम्बर वडालाई खानेपानीको वैकल्पिक व्यवस्था गर्ने तयारी गरिरहेका छौँ । ’


प्रशासनले भत्किएको पुल भन्दा दुई किलोमिटर तल तातोपानी गाउँपालिकातर्फ धौलापानी र तीन किलोमिटरमाथि खलंगातर्फ उम्गाडमा रहेको पुल प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?