साहित्यकारका कृति जोगाउनै मुस्किल

साहित्यकार मुक्तिप्रसाद श्रेष्ठका कृति बोरा, काठका घर्रा, दराज र खाटमुनि थन्किए 
राजबहादुर शाही

मुगु — छायानाथ–रारा नगरपालिकास्थित रोबाकी ६५ वर्षीया चन्द्रकुमारी श्रेष्ठलाई आफ्ना दिवंगत पति मुक्तिप्रसाद श्रेष्ठका कृति कसरी जोगाउने भन्ने पिरलो छ । २ वर्षअघि निधन भएका श्रेष्ठका करिब १८ सय बढी कृतिको संरक्षण गर्न परिवारलाई सकस भएको छ ।

श्रेष्ठले निबन्ध, कथा, गजल, मुक्तक, धारावाहिक नाटकलगायत करिब १८ सय कृति लेखेका थिए । साहित्यकार श्रेष्ठको २०७४ वैशाख १७ गते निधन भएको थियो । ‘उहाँले धेरै मिहिनेत गरेर रचना गरेका कृति जोगाउनै समस्या भयो,’ उनले दुःखेसो पोखिन्, ‘अधिकांश कृति बोरामा प्याक गरेका छौं, कीरा र मुसाले नष्ट गर्ने जोखिम छ ।’

उनका अनुसार श्रेष्ठले रचना गरेका कृति बोरा, काठका घर्रा, दराज र खाटमुनि थन्काएर राखिएको छ । दाङको घोराही जन्मिएका श्रेष्ठले अधिकांश समय छायानाथ–रारा नगरपालिकाको माथिल्लो रोबामा बिताए । शिक्षण पेसाका सिलसिलामा २०३५ सालमा मुगु आएका श्रेष्ठले सबै कृति यहीं बसेरै लेखेका हुन् । साहित्य लेखनमा बाधा पुगेपछि श्रेष्ठले २०६५ मंसिरबाट शिक्षणबाट अवकाश लिएका थिए ।

चन्द्रकुमारीका अनुसार श्रेष्ठले ३३ वर्षको अवधिमा लेखेका अधिकांश पुस्तक पाण्डुलिपिमै सीमित छन् । घरका सबै कोठा उनका कृतिले भरिएको उनले बताइन् । श्रेष्ठका फुटकर रचनाले छापिएका पत्रपत्रिका पनि संरक्षण गर्न समस्या भएको उनको गुनासो छ । ‘आफूले लेखेका कृति पुस्तकालय बनाएर राख्ने उहाँको धोको थियो,’ उनले भनिन्, ‘उहाँको जीवनकालमा त्यो पूरा नभएपछि अहिले कृति जोगाउन समस्या भएको हो ।’

श्रेष्ठ सरल र चोटिलो लेखनका कारण मोफसलमा राम्रो ख्याति कमाएका साहित्यकार मानिन्थे । श्रेष्ठले कर्णाली धाराबाहिक निबन्ध संग्रहमा कर्णालीको अवस्थाले चित्रण गरेका छन् । स्थानीय धर्म संस्कृतिमा आधारित रही श्रेष्ठले मागल, चम्फा, बालो र देउडाबारे दर्जनौ कृति लेखेका थिए ।

रोवा गाउँका गढबहादुर बुढाले कर्णालीका महत्त्वपूर्ण जडीबुटी, नदीनाला, धर्मसंस्कृति, रितिरिवाज, जीवनशैलीबारे श्रेष्ठले पुस्तक लेखेको जनाए । ‘कर्णालीप्रति राज्यको ध्यानाकर्षण गराउन श्रेष्ठ सरका कृतिले धेरै सहयोग पुर्‍याए,’ उनले भने, ‘कर्णालीको इतिहासमा समेत उहाँको राम्रो दखल थियो, त्यसबारे समेत धेरै पुस्तक लेख्नुभएको छ ।’

श्रेष्ठका कृति संरक्षणका लागि सरकारले सहयोग गर्न जरुरी रहेको उनको भनाइ छ । श्रेष्ठका अप्रकाशित कृति प्रकाशन गर्न पनि सरकारको सहयोग जरुरी रहेको स्थानीयको भनाइ छ । श्रेष्ठका कृति प्रकाशन गर्न सके कर्णालीको इतिहासबारे भावी पुस्ताले थाहा पाउने प्रभात माविका शिक्षक मैनादल बुढाले बताए ।

आफ्ना पुस्तक संग्रह गरी पुस्तकालयमा राख्ने श्रेष्ठको योजना पूरा नभएको उनले जनाए । ‘केही समय अघिसम्म स्थानीय विद्यालयले उहाँका पुस्तकमार्फत नै धेरै पाठको शिक्षण गराएका थियौं,’ उनले भने, ‘उहाँका कृतिको संरक्षण गर्न नसके सबैले ज्ञानको क्षति व्यवहोर्ने छौं ।’ बाबुका कृति संरक्षणका लागि छोराहरू नरेश, अर्जन र हिमालले समेत पहल गरिरहेका छन् । उनीहरूले स्थानीय तहलाई यसबारे पटकपटक ध्यानाकर्षण गराइएको जानकारी दिए ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तीर्थयात्री बडीमालिका प्रस्थान

एलपी देवकोटा

जुम्ला — सरकारी प्रतिनिधिसहित तीर्थयात्रीको टोली पूजाका लागि सोमबार बडीमालिका प्रस्थान गरेको छ । बाजुरातर्फ लागेको टोली १८ दिनको पैदल यात्रापछि जुम्ला पुग्नेछ ।

सरकारी प्रतिनिधिसहित सैयौं तीर्थालुको टोलीलाई जिल्ला प्रहरी कार्यालय नजिकैबाट बिदाइ गरिएको हो । तत्कालीन जुम्ला र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने चलनअनुसार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको नेतृत्वमा बर्सेनि तीर्थालुको टोली बडीमालिका जाने गर्छ ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि विष्णुबहादुर महतको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्याय, चन्दननाथ नगरपालिका र मालपोत कार्यालयका प्रतिनिधिसहितको टोली तीर्थयात्रामा गएको हो । प्रत्येक वर्ष नाग पञ्चमीका दिन जुम्लाको टोलीलाई बडीमालिका पठाइने गरिएको प्रजिअ दुर्गा बन्जाडेले बताइन् । उनका अनुसार अञ्चलाधीश कार्यालयको मातहतमा चालिआएको पूजाआजा अहिले जिल्ला प्रशासनमार्फत हुने गर्छ ।

संस्कृतिसम्बन्धी जानकार चित्रलाल श्रेष्ठका अनुसार बडीमालिका माईको पूजा गरी मनोकांक्षा पूर्ण हुने जनविश्वास छ । टोलीले तीर्थयात्रामा जानुपूर्व बडीमालिका माई र चन्दननाथ भैरवनाथको मन्दिरमा पूजा गरेको उनले जानकारी दिए । जिल्ला प्रशासन अगाडिको दरबार मालिकाको मन्दिरबाट कृष्ण मन्दिर परिक्रमा गरी टोली हिँड्ने चलन रहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा नेपाली सेना र प्रहरीले सलामी दिएपछि टोली हिँडेको हो । उक्त टोली कृष्णाष्टमीको अघिल्लो दिनमा फर्किएपछि भोलिपल्ट लाखे काट्ने चलन छ । बिदाइ गर्न आएका स्थानीयले आफ्नो मनको इच्छा पूरा होस् भन्दै अक्षता नासो पठाउने गरेको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए । ‘जुम्लाबाट लिएको अक्षता र फूलपाति बडीमालिकामा लिएर चढाइन्छ,’ उनले भने, ‘वर्षौंदेखि यो परम्परा निरन्तर चलिआएको छ, संकटकालको समयमा हेलिकप्टरबाट पूजा सामग्री र पण्डित पठाइन्थ्यो ।’

बडीमालिका भगवतीका लागि जिल्ला प्रसासनले बर्सेनि गहना बनाएर पठाउने गरेको छ । यसपटक पनि भगवतीका लागि सुनको टीका, चाँदीको बिनायो, मुरली, काँगियो र छत्र बनाएर पठाएको जात्रा समितिले जनाएको छ । सोमबार हिँडेको टोली तातोपानीमा बास बस्नेछ ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT