तीर्थयात्री बडीमालिका प्रस्थान

एलपी देवकोटा

जुम्ला — सरकारी प्रतिनिधिसहित तीर्थयात्रीको टोली पूजाका लागि सोमबार बडीमालिका प्रस्थान गरेको छ । बाजुरातर्फ लागेको टोली १८ दिनको पैदल यात्रापछि जुम्ला पुग्नेछ ।

सरकारी प्रतिनिधिसहित सैयौं तीर्थालुको टोलीलाई जिल्ला प्रहरी कार्यालय नजिकैबाट बिदाइ गरिएको हो । तत्कालीन जुम्ला र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने चलनअनुसार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको नेतृत्वमा बर्सेनि तीर्थालुको टोली बडीमालिका जाने गर्छ ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि विष्णुबहादुर महतको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्याय, चन्दननाथ नगरपालिका र मालपोत कार्यालयका प्रतिनिधिसहितको टोली तीर्थयात्रामा गएको हो । प्रत्येक वर्ष नाग पञ्चमीका दिन जुम्लाको टोलीलाई बडीमालिका पठाइने गरिएको प्रजिअ दुर्गा बन्जाडेले बताइन् । उनका अनुसार अञ्चलाधीश कार्यालयको मातहतमा चालिआएको पूजाआजा अहिले जिल्ला प्रशासनमार्फत हुने गर्छ ।

संस्कृतिसम्बन्धी जानकार चित्रलाल श्रेष्ठका अनुसार बडीमालिका माईको पूजा गरी मनोकांक्षा पूर्ण हुने जनविश्वास छ । टोलीले तीर्थयात्रामा जानुपूर्व बडीमालिका माई र चन्दननाथ भैरवनाथको मन्दिरमा पूजा गरेको उनले जानकारी दिए । जिल्ला प्रशासन अगाडिको दरबार मालिकाको मन्दिरबाट कृष्ण मन्दिर परिक्रमा गरी टोली हिँड्ने चलन रहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा नेपाली सेना र प्रहरीले सलामी दिएपछि टोली हिँडेको हो । उक्त टोली कृष्णाष्टमीको अघिल्लो दिनमा फर्किएपछि भोलिपल्ट लाखे काट्ने चलन छ । बिदाइ गर्न आएका स्थानीयले आफ्नो मनको इच्छा पूरा होस् भन्दै अक्षता नासो पठाउने गरेको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए । ‘जुम्लाबाट लिएको अक्षता र फूलपाति बडीमालिकामा लिएर चढाइन्छ,’ उनले भने, ‘वर्षौंदेखि यो परम्परा निरन्तर चलिआएको छ, संकटकालको समयमा हेलिकप्टरबाट पूजा सामग्री र पण्डित पठाइन्थ्यो ।’

बडीमालिका भगवतीका लागि जिल्ला प्रसासनले बर्सेनि गहना बनाएर पठाउने गरेको छ । यसपटक पनि भगवतीका लागि सुनको टीका, चाँदीको बिनायो, मुरली, काँगियो र छत्र बनाएर पठाएको जात्रा समितिले जनाएको छ । सोमबार हिँडेको टोली तातोपानीमा बास बस्नेछ ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

चोर भागेपछि...

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकामा पछिल्लो समय चोरीका घटना बढदै गएका थिए । विशेषगरी नगरपालिका केन्द्र रहेको वडा ९ को राडी र ११ को सिम बजारमा राति मोबाइल तथा किराना सामान चोरी भएको थियो ।

प्रहरी, सशस्त्र र नगर प्रहरीको नजिकै चोरीका घटना बढिरहेको भन्दै स्थानीयले आलोचना गरे । चोरी घटना बढेसँगै प्रहरीले सतर्कता अपनायो ।

साउन १८ गते राति १ बजे राडीको एक मोबाइल पसल चोर्न बसेको एक जनालाई प्रहरीको गस्ती टोलीले भेटायो । प्रहरीले पसल चोरी गर्दागर्दै रंगेहात भेटाउँदा पनि चोर भने समात्न सकेन । प्रहरीबाट फुत्केर भागेको चोर एकैछिनमा हरायो । १९ गते घटनाले अर्कै रूप लियो । स्थानीयले आठबीसकोट नगरपालिकाको कार्यालय घेराउ गरे । स्थानीयले ढुंगामुढा गरे भने प्रहरी र नगर प्रहरीले लाठी चार्ज गर्‍यो । वडा ९ कै एक स्थानीयले आफ्नो १३ वर्षीय छोरा बालकृष्ण परियारलाई प्रहरी र नगर प्रहरीले लखेटेर खोलामा हालेको आरोप लगाएपछि स्थानीय नगरपालिका घेर्न पुगेका थिए ।

बालकृष्ण होटलमा डेरा गरी बस्दै आएका थिए । बाबुले छोरा हराएको भनेपछि बालकृष्णको कोठामा समेत प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा यसअघि बजारका विभिन्न पसलबाट हराएका भनिएका सामग्री फेला पारेको प्रहरी नायब उपरीक्षक सुमित खडकाले बताए । उनले मोबाइलमा पसेको र हराएको व्यक्ति एउटै हो होइन भन्ने एकिन भईनसकेको बताए । ‘मोबाइल पसल चोर्न लागेका बेला भागेको र हराएको भनिएको एउटै व्यक्ति हो होइन भन्ने यकिन भइसकेको छैन,’ खडकाले भने,‘पसल चोर्न लागेका बेला प्रहरी र नगर प्रहरीले देखेपछि भागेको सही हो तर खोलामै गएको भन्ने पुष्टि भएको छैन, त्यो व्यक्ति एउटै हो भन्ने पनि प्रस्ट छैन ।’

प्रहरी र नगर प्रहरीले लखेटेको व्यक्ति खोलामा खसेको र त्यो बालकृष्ण नै हो भन्ने दाबीपछि देखिएको समस्या समाधान भएको छ । प्रहरीदेखि भागेको व्यक्ति र बालकृष्ण एउटै हो होइन भनेर खोजबिन गरिने भएपछि समस्या समाधान भएको हो । नगरपालिका, प्रहरी तथा स्थानीयबीच हराएका बालकृष्ण खोजबिन गर्ने सहमति भएको छ । चोरी गर्ने र हराएको बालकृष्ण खोजी गर्ने तथा चोरी, डकैती अपराध रोक्न एक(अर्कालाई सहयोग गर्ने सहमति भएको खडकाले बताए ।

वडा ९ को राडी बजार र ११ सिमबजारमा हरेक दिनजसो चोरी हुन थालेपछि प्रहरी र नगर प्रहरीले पछिल्लो समय गस्ती बढाएको छ । यसै क्रममा १६ गते राति पनि एउटा पसल चोर्दै गर्दा एक चोर भेटिएको थियो । त्यतिबेला पनि प्रहरीले चोर समात्न सकेको थिएन । उसले प्रयोग गरेको छाता र चप्पल भने प्रहरीले फेला पारेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्