कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चोर भागेपछि...

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकामा पछिल्लो समय चोरीका घटना बढदै गएका थिए । विशेषगरी नगरपालिका केन्द्र रहेको वडा ९ को राडी र ११ को सिम बजारमा राति मोबाइल तथा किराना सामान चोरी भएको थियो ।

चोर भागेपछि...

प्रहरी, सशस्त्र र नगर प्रहरीको नजिकै चोरीका घटना बढिरहेको भन्दै स्थानीयले आलोचना गरे । चोरी घटना बढेसँगै प्रहरीले सतर्कता अपनायो ।


साउन १८ गते राति १ बजे राडीको एक मोबाइल पसल चोर्न बसेको एक जनालाई प्रहरीको गस्ती टोलीले भेटायो । प्रहरीले पसल चोरी गर्दागर्दै रंगेहात भेटाउँदा पनि चोर भने समात्न सकेन । प्रहरीबाट फुत्केर भागेको चोर एकैछिनमा हरायो । १९ गते घटनाले अर्कै रूप लियो । स्थानीयले आठबीसकोट नगरपालिकाको कार्यालय घेराउ गरे । स्थानीयले ढुंगामुढा गरे भने प्रहरी र नगर प्रहरीले लाठी चार्ज गर्‍यो । वडा ९ कै एक स्थानीयले आफ्नो १३ वर्षीय छोरा बालकृष्ण परियारलाई प्रहरी र नगर प्रहरीले लखेटेर खोलामा हालेको आरोप लगाएपछि स्थानीय नगरपालिका घेर्न पुगेका थिए ।


बालकृष्ण होटलमा डेरा गरी बस्दै आएका थिए । बाबुले छोरा हराएको भनेपछि बालकृष्णको कोठामा समेत प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा यसअघि बजारका विभिन्न पसलबाट हराएका भनिएका सामग्री फेला पारेको प्रहरी नायब उपरीक्षक सुमित खडकाले बताए । उनले मोबाइलमा पसेको र हराएको व्यक्ति एउटै हो होइन भन्ने एकिन भईनसकेको बताए । ‘मोबाइल पसल चोर्न लागेका बेला भागेको र हराएको भनिएको एउटै व्यक्ति हो होइन भन्ने यकिन भइसकेको छैन,’ खडकाले भने, ‘पसल चोर्न लागेका बेला प्रहरी र नगर प्रहरीले देखेपछि भागेको सही हो तर खोलामै गएको भन्ने पुष्टि भएको छैन, त्यो व्यक्ति एउटै हो भन्ने पनि प्रस्ट छैन ।’


प्रहरी र नगर प्रहरीले लखेटेको व्यक्ति खोलामा खसेको र त्यो बालकृष्ण नै हो भन्ने दाबीपछि देखिएको समस्या समाधान भएको छ । प्रहरीदेखि भागेको व्यक्ति र बालकृष्ण एउटै हो होइन भनेर खोजबिन गरिने भएपछि समस्या समाधान भएको हो । नगरपालिका, प्रहरी तथा स्थानीयबीच हराएका बालकृष्ण खोजबिन गर्ने सहमति भएको छ । चोरी गर्ने र हराएको बालकृष्ण खोजी गर्ने तथा चोरी, डकैती अपराध रोक्न एक(अर्कालाई सहयोग गर्ने सहमति भएको खडकाले बताए ।


वडा ९ को राडी बजार र ११ सिमबजारमा हरेक दिनजसो चोरी हुन थालेपछि प्रहरी र नगर प्रहरीले पछिल्लो समय गस्ती बढाएको छ । यसै क्रममा १६ गते राति पनि एउटा पसल चोर्दै गर्दा एक चोर भेटिएको थियो । त्यतिबेला पनि प्रहरीले चोर समात्न सकेको थिएन । उसले प्रयोग गरेको छाता र चप्पल भने प्रहरीले फेला पारेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?