कुहिँदै बरामद काठ

कान्तिपुर संवाददाता

सल्यान — डिभिजन वन कार्यालयले ३ वर्षअघि छायाक्षेत्र गाउँपालिका २, को पेदीखोला सामुदायिक वनबाट बरामद गरेको काठ कार्यालय परिसरमा अलपत्र परेको छ । लिलामी नहुँदा १ सय ८९ क्युफिट काठ कार्यालय हाताभित्रै कुहिने अवस्थामा पुगेको हो ।

कार्यालयले टेन्डर गरे पनि बोलपत्र नपर्दा काठ अलपत्र परेको वन कर्मचारीको भनाइ छ । नियमविपरीत रूख काटेको भन्दै डिभिजन वनले आव ०७२/७३ मा ६८ थान सालका काठ बरामद गरेको थियो । कार्यालयका नायब सुब्बा विजय पुलामीका अनुसार बरामद गरिएका सालको काठ ३ लाख २ हजार रुपैयाँ नघट्ने गरी लिलामी गर्न सूचना प्रकाशित गरिएको थियो । तर कसैले पनि बोलपत्र दर्ता नगराएपछि लिलाम हुन नसकेको उनको भनाइ छ ।

बरामद गरेको काठ लिलामभन्दा अन्य प्रक्रियाबाट बिक्री गर्न नपाइने भएकाले अलपत्र परेको डिभिजन वनले जनाएको छ । बरामद गरिएका काठ वन कार्यालयअघि थुपारिएको छ । अवैध रुपमा रूख काटेको भन्दै छाया क्षेत्रका यज्ञबहादुर विष्टसहित १७ जनालाई कारबाहीको प्रक्रियामा ल्याइएको कार्यालयले जनाएको छ । अदालतले मुद्दा फैसला गरेपछि उनीहरू धरौटीमा रिहा भएका छन् ।

सालको काठ कुहिए पनि मूल्यांकन गर्दा दररेट घटाउन नमिल्ने भएकाले लिलामीमा समस्या भएको डिभिजन कार्यालयका नासु टोपेन्द्रबहादुर थापाले बताए । उनका अनुसार पहिलोपटक सूचना प्रकाशित गर्दा कसैले पनि आवेदन नदिएकाले लिलामीमा समस्या भएको छ ।

उनका अनुसार सालको काठ सरकारी दरअनुसार प्रतिक्युफिट १ हजार ६ सय रुपैयाँमा लिलाम हुने गरेको छ । यसअघि पनि कार्यालयले बरामद गरेका केही सल्ला र चाँपका काठसमेत कार्यालय परिसरमै थन्किएको उनले जानकारी दिए । उनले लिलाम गर्न नसक्दा यसअघि बरामद भएका सबै काठ कुहिएर गएको जनाए ।

रोल्पाको माडिगाउँ गाउँपालिका ७, झिनबाबाट जितबहादुर ओलीले दाङ लैजाने क्रममा बरामद भएको ९ हजार ४ सय ५० रुपैयाँको चाँपको काठ पनि लिलाम हुन नसकेको कार्यालयले जनाएको छ ।

त्यस्तै शारदा नगरपालिका १३, कागखोलाबाट गत चैत ६ गते प्रहरीले बरामद गरेको काठसमेत अलपत्र परेको छ । कार्यालयका अनुसार बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारबाट नेपालगन्ज लैजाँदै गरेको अवस्थामा बरामद गरिएको चुत्राको बोक्रा पनि लिलाम हुन सकेको छैन ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

विपन्न परिवारलाई सौर्यऊर्जा

कान्तिपुर संवाददाता

सल्यान — त्रिवेणी गाउँपालिकाले ७ वटै वडाका विपन्न तथा दलित गरी ५४ परिवारलाई ५० वाटको सौर्यऊर्जा वितरण गरेको छ । गाउँपालिकालाई उज्यालो बनाउने कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई निःशुल्क सोलार सेट वितरण गरिएको हो । 

प्रत्येक वडाका ८ घरधुरीलाई करिब १० लाख रुपैयाँको सौर्यऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । विद्युतीकरण नभएका र अति विपन्न परिवारका लागि सोलार सेट वितरण गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको थियो ।

गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले गाउँमा बत्ती पुगे पनि अहिलेसम्म बिजुली जडान गर्न नसकेका परिवारलाई लक्षित गरी सोलार सेट वितरण गरिएको जानकारी दिए । उनका अनुसार ५० वाटको सोलारबाट न्यूनतम ५ बल्ब बाल्न सकिन्छ । टुकीका भरमा वर्षौंदेखि जीविका चलाउँदै आएका स्थानीयलाई क्रमशः विद्युतको पहुँचमा ल्याउन उज्यालो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

सौर्यऊर्जा जडान भएपछि जनजीवन सहज हुने लक्षितवर्गको भनाइ छ । सल्लाको दियालो बालेर दैनिकी चलाउँदै आएका परिवारलाई सोलार वितरण गरेर स्थानीय सरकारले गुन लगाएको वडा २ की कमली विकले बताइन् ।

‘अहिलेसम्म सल्लाको दियालोले रात गुजार्दै आएका छौं,’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर हुँदा गाउँमै उत्पादन गरिएको लघु जलविद्युतको लाइन जडान गर्न सकेका थिएनौं, सोलारले अब दैनिकी सहज बनाउनेछ ।’ रिखेबगरका नवीन नेपालीले सोलार भएपछि बालबालिकाको पठनपाठनमा समेत सहयोग पुग्ने बताए । उनले विपन्न परिवारका लागि रोजगारीका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्