३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ठूलीभेरीले तीन घर बगायो, ८ अझै जोखिममा 

हरि गौतम

रुकुम पश्चिम — निरन्तरको वर्षापछि ठूलीभेरी नदीले बस्ती कटान थालेको छ । आठबीसकोट नगरपालिका–६ मनकाबगरका ३ घर बगेका छन् भने ८ घर नदीको उच्च जोखिममा छन् । 

ठूलीभेरीले तीन घर बगायो, ८ अझै जोखिममा 

स्थानीय पत्रे बोहरा र भीमबहादुर थापाको घर बगाइसकेको छ भने अर्को एउटा घर आधा भन्दा बढी भत्केको छ । घर बगेपछि उनीहरुलाई आफन्तकोमा सारिएको प्रहरीले जनाएको छ ।


यस क्षेत्रमा हरेक दिन निरन्तर पानी परिरहेको छ । शनिबार २ घर बगाएको र आइतबार एक घर भत्काएको हो । उक्त बस्तीका अन्य ८ घर उच्च जोखिममा छन् । घर जोखिममा परेपछि स्थानीयलाई अन्यत्र सार्ने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।


अघिल्लो वर्ष ठूलीभेरीले सोही नगरपालिका–४ का आधा दर्जन बढी घर बगाएको थियो । जाजरकोट–सडक खण्ड निर्माणको क्रममा झरेका ढुङ्गा र माटोका कारण ठूलीभेरीले बहाब परिवर्तन गरेर बस्ती कटान गर्न थालेको नगरपालिकाले जनाएको छ ।

अघिल्लो वर्ष कटान गरिएको क्षेत्रमा संघीय, प्रदेश र आठबीसकोट सरकारले झण्डै २ करोड बराबरको तारजाली लगाएको थियो । आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले अघिल्लो वर्षको तुलनामा हालसम्म कम क्षति भएको बताए ।


अब पनि बाढी पहिरोबाट क्षति कम गर्न सबैतिर तयारी अवस्थामा रहेको भनाई नगरप्रमुख केसीको छ । ‘थप क्षति नहोस् र जोखिममा रहेका बस्तीलाई जोगाउनका लागि हामी तयारै छौं,’ नगरप्रमुख केसीले भने, ‘नगरपालिकाका साथै नगर प्रहरी, जनपथ लगायतको सुरक्षाकर्मी पनि तयारी अवस्थामा रहेको छन् ।’


आपतकालीन अवस्थाका लागि नगरपालिकामा एक हजार थान जाली र खाद्यान्न सामग्री तयारी अवस्थामा राखिएको छ । ६, ४, १२, १३ र ११ वडामा पहिरोको बढी जोखिम बढेको छ । केही दिन अघि १३ नम्बर वडामा एक महिलाको पहिरोले बगाएर मृत्यु भएको थियो भने केही घर बगेका थियाे ।

प्रकाशित : श्रावण २०, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?