थपिँदै विशेषज्ञ

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — स्थापनाकालदेखि नै विशेषज्ञ डाक्टरको अभाव झेल्दै आएको प्रदेश अस्पताल सुर्खेतमा विशेषज्ञ चिकित्सक थपिँदै छन् । योसँगै बिरामीको चाप पनि पहिलेभन्दा बढ्न थालेको छ ।

प्रदेश अस्पतालमा बिहीबार एकैपटक ५ विशेषज्ञ डाक्टर थपिएका छन् । छाला तथा यौनरोग विशेषज्ञ डा. प्रभावसिंह राजपुत, नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. सन्तोष बस्नेत, बालरोग विशेषज्ञ डा. प्रदीप पौडेल आएका हुन् ।


यस्तै, फिजिसियन डा. सन्जीव भण्डारी र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सुभद्र श्रेष्ठले पनि अब प्रदेश अस्पतालबाटै विशेषज्ञ सेवा दिने भएका छन् । ५ डाक्टर थपिएसँगै अस्पतालमा दरबन्दी विकास समिति र छात्रवृत्तितर्फका गरी विशेषज्ञ डाक्टरको संख्या २० पुगेको छ ।


अस्पतालका अनुसार कर्णाली, सूदुरपश्चिम तथा ५ नम्बर प्रदेशबाट समेत गरी दैनिक ७ सयदेखि १ हजार बिरामी उपचारका लागि आउने गरेका छन् । सबैभन्दा बढी बिरामी आइतबार आउने गरेको अस्पतालले जनाएको छ । बिरामीको चाप बढदै जाँदा २० विशेषज्ञ डाक्टरले मात्रै प्रभावकारी सेवा दिन समस्या भइरहेको अस्पतालका मेडिकल रेकर्डर विनोद बस्नेतले जनाए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार १ डाक्टरले २० बिरामी हेर्नुपर्ने हुन्छ । तर प्रदेश अस्पतालमा भने १ जना डाक्टरले ७० भन्दा बढी बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको बस्नेतको भनाइ छ ।


अस्पतालमा ३० विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि २० जना मात्रै भएकाले प्रभावकारी उपचार सेवा दिन थप १० जना आवश्यक पर्ने मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खडकाले बताए । विशेषज्ञसहित २८ डाक्टर अस्पतालमा कार्यरत रहेको उनले बताए । विभिन्न १४ विभागमै अहिले विशेषज्ञ डाक्टर कार्यरत छन् । अब अस्पतालमा एनेस्थेसियोलोजिस्ट आवश्यक रहेको उनले जनाए ।


‘अस्पतालको नयाँ भवनको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘आवश्यक उपकरण आएपछि चाँडै नयाँ भवनबाट स्तरीय सेवा दिनेछौँ ।’ उनका अनुसार अबको ३ महिनाभित्र अस्पतालले सुविधा सम्पन्न भवनबाट बिरामीलाई उपचार सेवा दिने योजना बनाएको छ । प्रदेश अस्पतालले अहिले आईसीयू, एनआईसीयू, डायलोसिसलगायत सेवा दिँदै आएको छ ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?