प्रजनन स्वास्थ्य सुधार्न सासू–बुहारी भेटघाट

पहिले स्वास्थ्य जाँच गर्न समय नदिने घरपरिवारले बुहारीलाई अस्पताल पठाउन थालेका छन् 
तुलाराम पाण्डे

कालीकोट — नरहरिनाथ–३ का ८० वर्षीय गन्जे विश्वकर्मा, उनकी पत्नी ७२ वर्षीया मन्दरा र जेठी बुहारी मनसरासँग भेटघाट गर्न अहेब अनीता बुढा बुधबार उनीहरूको घरमै पुगिन् । यसको कारण थियो, सासू–ससुरा र बुहारीलाई सँगै राखेर प्रजनन स्वास्थ्यबारे जानकारी दिने ।

प्रजनन स्वास्थ्य सुधार्न सासू–बुहारी भेटघाट

‘पहिले–पहिले त घरका सबै जनालाई सँगै राखेर परिवार नियोजन, गर्भावस्थाका कुरा गर्दा लाजले खुल्न चाहँदैनथे,’ अहेब बुढाले भनिन्, ‘त्यही लाज भगाएर प्रजनन स्वास्थ्यमा सुधार ल्याउन सासू–बुहारी घेटघाट कार्यक्रम अभियानकै रुपमा चलाइएको हो ।’ परम्परागत मान्यता बदल्न सासू–ससुरा र बुहारी सँगै राखेर छलफल गर्दा प्रभावकारी हुने उनले बताइन् ।


मनसराका सासू–ससुरा पनि सुरुमा यो विषयमा खुल्न चाहेनन् । उनीहरूको ध्यान खिच्न अहेब बुढाले कलिलैमा बिहे गर्दा बच्चा जन्माउन नसकेर दुई महिनाअघि सुर्खेत लैजाने क्रममा बाटोमै मरेकी माल्कोटकी १९ वर्षीया मिनाको घटना सुनाइन् । त्यसपछि भने परिवारका सबैले प्रजनन स्वास्थ्यबारे चाख लिएर कुरा सुन्न थाले ।


अहेब बुढा दुई महिनायता हप्तापिच्छे फरक–फरक घरमा गएर पारिवारिक योजनाबारे छलफल चलाउँछिन् । गाउँपालिकाका स्वास्थ्य संयोजक लंक बटाला घरमा सासू–ससुराले कुरा नबुझेसम्म गर्भवती महिलाको स्वास्थ्य हेरचाह राम्ररी हुन नसक्ने बताउँछन् ।


कम उमेरमा विवाह नगर्ने, विवाह गरिहाले पनि छिटो बच्चा नजन्माउने, बच्चा जन्माउने भएमा पोसिलो खानेकुरा खाने, आराम र नियमित जाँच गर्नेजस्ता कुरामा सासूको बढी भूमिका हुने उनको भनाइ छ । ‘यही कुरालाई ख्याल राखेर गाउँपालिकाको समन्वयमा सासू–बुहारी भेटघाट कार्यक्रम राखेका हौं,’ उनले भने, ‘यसले छोटो समयमा राम्रो प्रभाव पनि पारेको छ ।’ पहिले स्वास्थ्य जाँच गर्न समय नदिने घरपरिवारले अहिले बुहारीलाई अस्पतालसम्मै पठाउन थालेका उनले बताए ।


रासकोट नगरपालिका ५, रानागाउँकी ३५ वर्षीया ठेसी सार्की पाँच सन्तानकी आमा हुन् । उनको अहिले ८ महिनाकी गर्भवती छिन् । उनलाई बच्चा जन्माउने रहर नभए पनि श्रीमान्ले परिवार नियोजन गर्दा कमजोर भइन्छ भनेकाले यस्तो अवस्था आएको अनमी छाया केसीले बताइन् । ‘सामान्य कुरा नबुझ्दा धेरै महिलाले यसरी नै दुःख पाएका छन्, यस्तोमा सासूको भूमिका सकारात्मक हुनुपर्छ,’ उनले भनिन्, ‘सामान्य बुझाइमा हुने कमजोरी हटाएर पनि महिलाको प्रजनन स्वास्थ्य सुधार्न सकिन्छ ।’


जिल्लाका नरहरिनाथ, रासकोट र खाँडचक्र गरी तीनवटा स्थानीय तहमा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन सासू–बुहारी भेटघाट कार्यक्रम सञ्चालन गरिएको छ । नेपाली युवाहरूका लागि स्वस्थ रुपान्तरण परियोजना र स्थानीय तहको समन्वयमा अभियान सञ्चालन गरिएको हो ।


गाउँगाउँमा खटिएका सामाजिक परिचालकले किशोरकिशोरी, नवदम्पती र उनीहरूका सासू ससुरासँग संयुक्त झेटघाट र अन्तक्रिया गर्दा प्रजनन स्वास्थ्यबारे जानकारी दिन सहज भएको खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्टले बताइन् । ‘स्वास्थ्य संस्थामा १० देखि ४ बजेको ड्युटी खटाएर मात्र नहुने देखियो,’ बिहीबार जनजीवन अविवाहित किशारी समूह ताडीको अगुगमनका क्रममा विष्टले भनिन्, ‘प्रजनन स्वास्थ्यसम्बन्धी पारिवारिक योजना बनाउन र त्यसबारे बुझाउन सासूससुरा, आमाबाबु र छोराबुहारी सँगै राखेर परामर्श दिन महत्त्वपूर्ण छ ।’


पछिल्लो दुई महिनामा तीनवटा स्थानीय तहका ४१ सासू–बुहारी, १ सय २८ जना महिलाका श्रीमान् र २६ जना नवदम्पतीसँग भेटघाट गरेर प्रजनन स्वास्थ्यसम्बन्धी पारिवारिक योजना बनेको छ ।

प्रकाशित : श्रावण १२, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?