शिक्षणसँगै कुखुरापालन

राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका १, का ४९ वर्षीय रत्नसिंह मल्ल महाकाली माविका स्थायी शिक्षक हुन् । शिक्षणसँगै उनी २ वर्षदेखि व्यावसायिक कुखुरापालनमा रमाइरहेका छन् ।

फुर्सद र बिदाका दिनमा कुखुरापालनमै व्यस्त रहने मल्ल २०७४ देखि व्यावसायिक बनेका हुन् । उनको रत्न ह्याचरी फार्ममा अहिले ४ सय ८५ कुखुरा छन् । प्रत्येक बिहीबार मेसिनमार्फत १ सय ७५ चल्ला उत्पादन गर्ने गरेको मल्लको भनाइ छ । ‘२७ वर्षदेखि शिक्षण पेसामा आबद्ध छु, साँझ–बिहान र फुर्सदको समय फार्ममा सदुपयोग गर्दा आत्मसन्तुष्टि मिलको छ,’ उनले भने, ‘आम्दानी बढदै गएपछि व्यवसायमा हौसला बढिरहेको छ ।’ कुखुरापालनको आधारभूत तालिम लिएपछि ह्याचरी खोल्ने निर्णयमा पुगेको उनी बताउँछन् ।

ह्याचरी सुरु गरेको एक वर्षमै १ हजार ५ सय चल्ला उत्पादन गरी ५ लाख आम्दानी गरेको उनले सुनाए । उनका अनुसार फार्ममा पालन गरिरहेका कुखुरा किलोका दरले घरबाटै बिक्री भइरहेको छ । सुरुमा ग्रामीण क्षेत्रबाट स्थानीय जातका कुखुराका अन्डा खरिद गरी मल्लले व्यवसाय सुरु गरेका थिए । तराईबाट आएकाविभिन्न जातका कुखुराभन्दा स्थानीय जातको माग धेरै भएकाले ह्याचरी उद्योगको स्थापना गरेको उनले जानकारी दिए । ‘गाउँबाट अन्डा संकलन गरी सातामा एकपटक चल्ला उत्पादन गर्ने गरेको छु,’ उनले भने, ‘स्थानीय जातका अन्डा कम उत्पादन भइरहेकाले अरू दिन चल्ला उत्पादन गर्न समस्या छ ।’

उनको कुखुरा फार्ममा परिवारका ३ सदस्यले नियमित सहयोग गरिरहेका छन् । स्थानीय जातका अन्नबाट दाना उत्पादन गरी कुखुरालाई खुवाइरहेको उनको भनाइ छ । उनले कुखुरा उत्पादनका लागि ३ मेसिन ६ सोलार प्यानल आफ्नै लगानीमा खरिद गरेका छन् ।

मल्ल कुखुरामा केही समस्या आए आफैं उपचारमा खटिने गरेका छन् । फार्ममा करिब २० लाख रुपैयाँ लगानी गरेको लगानी गरेको उनले सुनाए । ‘३ महिनाभित्रै फार्मबाट दैनिक २ हजार चल्ला उत्पादन गर्ने लक्ष्यका साथ खटिएको छु,’ उनले भने, ‘कुखुरा किन्न ग्राहक घरमै आउने गरेकाले व्यवसायमा खासै समस्या छैन, बजारको माग धान्नै मुस्किल भइरहेको छ ।’

गाउँमै व्यवसाय गरे मनग्गे आम्दानी हुने भएकाले कमाइका विदेश जान नपर्ने उनको सुझाव छ । उनले गाउँका अन्य युवालाई कृषि र पशुपालनमा लाग्न सुझाव दिइरहेको जनाए । मल्लले कुखुरापालनसँगै घरवरिपरि विभिन्न जातका फलफूल खेती गरिरहेको सुनाए ।

प्रकाशित : श्रावण १०, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

काठे साँघुकै भरमा २ सय परिवार

कान्तिपुर संवाददाता

सल्यान — छत्रेश्वरी गाउँपालिका १, सिन्दुरेका बासिन्दा धोबाटे खोला वारपारका लागि अझै काठे साँघुको भर पर्न बाध्य छन् । बर्खामा वारपार गर्न समस्या भएपछि स्थानीयले सल्लाको साँघु निर्माण गरेका हुन् ।

पटकपटक खोलामा पुल निर्माण गर्न विभिन्न निकायमा आग्रह गरिए पनि बेवास्ता भएपछि काठे साँघु निर्माण गरिएको स्थानीयको गुनासो छ । खोलामा पुल नहुँदा दमाचौर र सिन्दुरेका २ सय परिवार जोखिमपूर्ण तरिकाले साँघुबाटै वारपार गर्न बाध्य छन् । खोलामा पानीको बहाव बढदै गएकाले बाढीले साँघु बगाउने खतरा बढेको स्थानीय स्थानीय वेदबहादुर चन्दले बताए । उनका अनुसार वर्षाको पानीले साँघु भिज्ने गरेकाले चिप्लिने जोखिम छ ।

‘सरकारी निकायले वास्तै गरेनन्, बाढीले साँघु बगाए खोलापारिका गाउँसँग हाम्रो सम्बन्धविच्छेद हुन्छ,’ उनले भने, ‘अहिले जोखिम मोलेरै भए पनि काठको फडकोबाट पारपार गर्न बाध्य छौं ।’ उनका अनुसार वडा १ को कार्यालयमा सरकारी कामकाजका लागि जाने सेवाग्राही र पारिको गाउँमा अध्ययन गर्ने विद्यार्थीले दैनिक साँघु प्रयोग गर्ने गरेका छन् ।

साँघु तर्न नसक्दा केही बालबालिका करिब १ महिनादेखि पठनपाठनबाट वञ्चित भएका छन् । गत वर्ष साँघु तर्ने क्रममा खोलामा खसेर एक जनाको ज्यान गएको थियो । २०३६ सालमा खोलामा पुल बनाउन भन्दै सर्भे गरिए पनि अहिलेसम्म पुल नबनेको स्थानीय अगुवा होमराजमल्लले बताए ।

‘प्रत्येक वर्षको बाढीले फडको बगाउँछ, वर्षेनि वर्षा लाग्नुअघि श्रमदान गरी फडको निर्माण गर्ने गरेका छौं,’ उनले भने, ‘बालबालिका र वृद्धहरू डरले फडको तर्न मान्दैनन्, जरुरी कामले वारिपरि गर्नेले जोखिम मोल्नुको विकल्प छैन ।’ उनले फडको तर्दा खोलामा खस्ने जोखिम उत्तिकै रहेको जनाए । स्थानीय तहले समेत पुल निर्माणमा चासो नदेखाएको उनको दुःखेसो छ । दैनिक सय बढी सर्वसाधारण साँघुमार्फत वारपार गर्ने गरेको उनी बताउँछन् ।

प्रकाशित : श्रावण १०, २०७६ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्