१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठे साँघुकै भरमा २ सय परिवार

कान्तिपुर संवाददाता

सल्यान — छत्रेश्वरी गाउँपालिका १, सिन्दुरेका बासिन्दा धोबाटे खोला वारपारका लागि अझै काठे साँघुको भर पर्न बाध्य छन् । बर्खामा वारपार गर्न समस्या भएपछि स्थानीयले सल्लाको साँघु निर्माण गरेका हुन् ।

पटकपटक खोलामा पुल निर्माण गर्न विभिन्न निकायमा आग्रह गरिए पनि बेवास्ता भएपछि काठे साँघु निर्माण गरिएको स्थानीयको गुनासो छ । खोलामा पुल नहुँदा दमाचौर र सिन्दुरेका २ सय परिवार जोखिमपूर्ण तरिकाले साँघुबाटै वारपार गर्न बाध्य छन् । खोलामा पानीको बहाव बढदै गएकाले बाढीले साँघु बगाउने खतरा बढेको स्थानीय स्थानीय वेदबहादुर चन्दले बताए । उनका अनुसार वर्षाको पानीले साँघु भिज्ने गरेकाले चिप्लिने जोखिम छ ।


‘सरकारी निकायले वास्तै गरेनन्, बाढीले साँघु बगाए खोलापारिका गाउँसँग हाम्रो सम्बन्धविच्छेद हुन्छ,’ उनले भने, ‘अहिले जोखिम मोलेरै भए पनि काठको फडकोबाट पारपार गर्न बाध्य छौं ।’ उनका अनुसार वडा १ को कार्यालयमा सरकारी कामकाजका लागि जाने सेवाग्राही र पारिको गाउँमा अध्ययन गर्ने विद्यार्थीले दैनिक साँघु प्रयोग गर्ने गरेका छन् ।


साँघु तर्न नसक्दा केही बालबालिका करिब १ महिनादेखि पठनपाठनबाट वञ्चित भएका छन् । गत वर्ष साँघु तर्ने क्रममा खोलामा खसेर एक जनाको ज्यान गएको थियो । २०३६ सालमा खोलामा पुल बनाउन भन्दै सर्भे गरिए पनि अहिलेसम्म पुल नबनेको स्थानीय अगुवा होमराज मल्लले बताए ।


‘प्रत्येक वर्षको बाढीले फडको बगाउँछ, वर्षेनि वर्षा लाग्नुअघि श्रमदान गरी फडको निर्माण गर्ने गरेका छौं,’ उनले भने, ‘बालबालिका र वृद्धहरू डरले फडको तर्न मान्दैनन्, जरुरी कामले वारिपरि गर्नेले जोखिम मोल्नुको विकल्प छैन ।’ उनले फडको तर्दा खोलामा खस्ने जोखिम उत्तिकै रहेको जनाए । स्थानीय तहले समेत पुल निर्माणमा चासो नदेखाएको उनको दुःखेसो छ । दैनिक सय बढी सर्वसाधारण साँघुमार्फत वारपार गर्ने गरेको उनी बताउँछन् ।

प्रकाशित : श्रावण १०, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?