सल्यानका सडक बन्द

कान्तिपुर संवाददाता

सल्यान — अविरल वर्षाका कारण सडकमा पहिरो र खाल्डाखुल्डी बढेपछि जिल्लाका करिव दर्जन सढकमा यातायात सेवा बन्द भएको छ । ग्रामीण सडक अबरुद्ध भएपछि यात्रु घण्टौं हिडेर गन्तव्यमा जान बाध्य छन् । वर्षाका कारण लान्ती–लेखपोखरा–दहखोला, लान्ती–स्यानीखाल, ढाडचौर–गुरदासे–तिमिलेलगायत सडक बन्द भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मोख्ला–दमाचौर–झ्।्याम–सुवाओराल, शंखमुल–झिम्पे, शंखमुख–कारागिरी, कोटमौला–पातीहाल्ना, खरिबोट–बाफुखोला, रारेचौर–दार्मा, सिमखोली र खलंगा–बालुवासंग्रही सडकमा पनि यातायातका साधन चल्न सकेका छैनन् । प्रहरीले सल्लीबजार–बामे, खलंगा–मार्के–कालीमाटी, खलंगा–लक्ष्मीपुर, रागेचौर–चौरजहारी, फारुला–नेटाबजार सडकमा समेत गाडीको आउजाउ बन्द भएको जनाएको छ ।

सल्यान–रुकुम यातायात प्रालिका डायल इन्चार्ज सुनील थापाले अधिकांश कच्ची सडक हिलाम्मे भएकाले यातायातका साधन सञ्चालन गर्न समस्या भएको जानकारी दिए । उनका अनुसार कच्ची सडकको स्तरोन्नति नहुँदा वर्षेनि सडक अबरुद्ध हुने गरेको उनको भनाइ छ ।

वर्षायाममा कच्ची सडक हिलाम्मे हुँदा मुख्य सडकमा पनि गाडी धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको मूलखोलाका दिपक भण्डारीले बताए । उनले ग्रामीण सडकमा गाडी बन्द भएपछि विरामीलाई अस्पताल लैजान समस्या भएको गुनासो गरे । ‘गाडी नचल्दा ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषिजन्य सामग्रीले बजार पाउन सकेको छैनन्,’ उनले भने, ‘दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ ।’

राप्ती लोकमार्ग, छिन्चु–जाजरकोट र खलंगा –सल्लीबजार सडक भने नियमित सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ती सडकमा यातायात सेवा बन्द हुन नदिन स्थानीय तहका डोजर तयारी अवस्थामा राखिएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले कच्ची सडकमा यातायात बन्द हुँदा जरुरी कामका लागि बाहिर जाने, विरामी र बृद्धतथा बालबालिका बढी समस्यामा परेको जनाए ।

प्रकाशित : श्रावण २, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

उमेर नपुगेका ७ विवाह बदर

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — रुकुम जिल्ला अदालतले ७ विवाह बदर गरेको छ । उमेर नपुगी गरिएका ती विवाह बदर गरिएको अदालतले जनाएको छ । विवाह बदरका लागि परेका १४ मध्ये ०७५/७६ मा ७ वटा मुद्दा फर्स्यौट भएका हुन् ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, स्थित रुकुम जिल्ला अदालत । तस्बिर : कान्तिपुर

बाँकी ७ मुद्दा चालु वर्ष ०७६/७७ का लागि सरेर आएका छन् । उमेर नपुगी भएका विवाह बदरका लागि परेका मुद्दामध्ये ७ वटा विवाह बदर भएको रुकुम जिल्ला अदालतले जनाएको छ । गत भदौभन्दा अघि परेका केही र भदौ पछि परेका दुबै खाले मुद्दा अदालतमा परेका थिए । गत भदौ १ देखि लागि भएको देवानी संहितामा उमेरनपुगी भएको विवाह स्वत बदर हुने उल्लेख छ ।

विवाह स्वत बदर भएको घोषणा अदालतले गर्ने भएकाले त्यस्ता मुद्दा गत आर्थिक वर्षमा परेको जिल्ला न्यायाधीश आत्मदेव जोशीले बताए । उमेर नपुग्दै विहे गर्ने र उमेर पुगेपछि सबै कुरा बुझै जाँदा विवाह बदर माग गरेर अदालत जाने गरेका छन् । ‘उमेर नपुग्दै विहे भयो, जीवनमा धेरै गर्न बाँकी जस्तो महसुस भएर विवाह बदरको मुद्दा दिएको थिएँ,’ मुसीकोट नगरपालिकाकी मनकला पुन मगरले भनिन्, ‘अदालतबाटै विवाह बदर भएपछि फेरि पठनपाठनमा जोडिएकी छु ।’ उनले सानै उमेरमा सबै ख्याल नगर्दा अन्जानमै विहे भएकाले पछि पछुतो भएको बताइन् ।

रुकुम जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्धा फर्स्यौट गरेको जनाएको छ । अदालतका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा अदालतबाट ५० प्रतिशत मुद्धा फर्स्यौट भएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा राखिएको लक्ष्यभन्दा ६६ थान बढी मुद्धा फर्स्यौट गरेको अदालतले जनाएको छ ।

अदालतले आर्थिक वर्ष २०७५/०७६ मा २ सय ७४ थान मुद्दा फर्स्यौट गर्ने लक्ष्य राखेकामा ३ सय ४० जान मुद्दा फर्स्यौट गरेको थियो । अदालतमा रहेका ५ सय २९ मुद्धा मध्य ३ सय ४० मुद्धा फर्स्यौट गरिएको हो । अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा परेका ४१ किसिमका मुद्धामध्ये सबैभन्दा बढी १ सय ९६ मुद्धा सम्बन्ध विच्छेदका छन् ।

त्यसमध्यमा ६५ मुद्धा फर्स्यौट भएका छन् भने ५१ मुद्धा यो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका छन् । जसमध्ये १ सय १७ थान मुद्धा महिलाको तर्फबाट सम्बन्ध विच्छेदको लागि माग गर्दै परेका थिए भने ३७ थान मुद्दा पुरुषको तर्फबाट परेका थिए । छुट्टै ४२ जना महिलाले अंशसहित सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गरेका थिए ।

पुरुष बादी बनेर दर्ता भएका ३७ मुद्धामध्ये १९ फर्स्यौट भएका छन् भने १८ बाँकी छन् । गत भदौ १ गतेदेखि लागु भएको संहिता अनुसार सम्बन्ध विच्छेदका लागि पुरुषले पनि सोझै अदालतमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था छ ।

प्रकाशित : श्रावण २, २०७६ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्