कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अनियमित लोडसेडिङले सास्ती

विप्लव महर्जन

(सल्यान) — वर्षा सुरु भएसँगै जथाभावी लोडसेडिङ बढदै गएको छ । अनियमित लोडसेडिङले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । जानकारीबिनै लोडसेडिङ हुन थालेपछि सरकारी कार्यालय र सर्वसाधारणका काम प्रभावित भएको छ ।

अनियमित लोडसेडिङले सास्ती

सदरमुकाम खलंगा र आसपासको क्षेत्र ३ दिनदेखि विद्युत् छैन । सामान्य वर्षा भए पनि बिजुलीको लाइन काटिँदा जनजीवन प्रभावित बनेको हो । कथं विद्युत् आए पनि भोल्टेजको समस्या उस्तै छन् । विद्युत् नहुँदा जिल्लामा सञ्चालित २ दर्जन बढी घरेलु उद्योग सञ्चालनमा समस्या भएको छ । शीतलपार्टीस्थित सब–स्टेसनको काम पूरा भए पनि लोडसेडिङले सास्ती भएको स्थानीय बताउँछन् । दशकदेखि अलपत्र सब–स्टेसनको काम गत वर्ष पूरा भएको थियो ।


नेपाल विद्युत प्राधिकरणका प्राविधिक समेत लाइन कहाँ बिग्रिएको हो भन्नेमा अनभिज्ञ भएपछि मर्मतमा समस्या भएको छ । केन्द्रका अनुसार बिजुलीका पोल गाडेका र तार तानेको क्षेत्र वरिपरि रुख नकाटिँदा समस्या भएको हो ।


सरकारी कार्यालयमा कम्प्युटरबाट हुने काम रोकिएका छन् । ग्रामीण क्षेत्र (टाढा) बाट आएका सेवाग्राही काम नहुँदा त्यतिकै फर्कन बाध्य छन् । केही व्यवसायीले अनियमित लोडसेडिङको फाइदा उठाउँदै जेनेरेटरमार्फत मोबाइल चार्ज, फोटोकपी, फ्याक्सलगायत काममा दोब्बर बढी रकम असुलिरहेका छन् । वर्षाकै कारण ३ दिनदेखि सदरमुकाम खलंगा विद्युतविहीन भएको स्थानीय दुर्गाबहादुर थापाले बताए ।


‘पानी परेको दिन दिनभरि नै बिजुली जाने समस्या छ,’ उनले भने, ‘केही समययता राति पनि बत्ती नआउँदा अन्धकारमा बस्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार एक महिनायता दैनिक कम्तिमा ५ घण्टासम्म अनियमित लोडसेडिङ हुने गरेको हो ।


सिद्धकुमाख गाउँपालिकास्थित चाँदेकरेन्जीका भद्रबहादुर पुन मालपोत र नापी कार्यालयको कामका लागि २ दिनदेखि सदरमुकाम खलंगामै छन् । ‘जेनेरेटरबाट एक प्रति फोटोकपी गरेको १० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘विद्युत् नहुँदा १/२ घण्टामा हुने कामका लागि दुई दिन सदरमुकाममै बस्नुपरेको छ ।’


खलंगा बजारमा फर्निचर उद्योग सञ्चालन गरिरहेका पर्वत सिंहले अनियमित विद्युतकै कारण आम्दानी पनि घटदै गएको बताए । उनले ३ दिनदेखि बत्ती नआउँदा दैनिक ५ हजार रुपैयाँ बढी घाटा लागिरहेको गुनासो गरे । प्राधिकरणको सल्यान वितरण केन्द्रमा पटक–पटक फोन गर्दा पनि फोन उठेन । केन्द्रमा फोन नउठ्नु पहिलेदेखिकै समस्या हो ।


प्रकाशित : असार ३०, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?