कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘असारे विकास रोक्नुस्’

मुगु — संघीय संरचना लागू भएको डेढ वर्षसम्म पनि असारमा मात्रै बढी बजेट खर्चिने प्रवृत्ति नरोकिएकोमा सरोकारवालाले आपत्ति जनाएका छन्  । उनीहरूले आगामी वर्षमा समयमै बजेट कार्यान्वयन गर्ने गरी योजना बनाउन स्थानीय तहलाई सुझाव दिएका छन्  ।

‘असारे विकास रोक्नुस्’

छायाँनाथरारा नगरपालिकाको पाँचौं नगरसभा उद्घाटन बोल्दै जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले व्यवस्था बदलिए पनि काम गर्ने तौरतरिका नबदलिएको बताए । ‘११ महिनासम्म जनप्रतिनिधि हात बाँधेर बस्ने, असार लागेपछि हतारहतार योजना सम्झौता गर्ने प्रवृत्ति अहिले पनि देखियो,’ उनले भने, ‘यसले विकास होइन, विनाश निम्त्याउँछ ।’ उनले असारे विकास तुरुन्त रोक्न सबै स्थानीय तहलाई आग्रह गरे ।


नगरसभामा सहभागी अन्यले भागबन्डा गरेर बजेट सिध्याउने काम भएको भन्दै आपत्ति जनाए । जिल्ला नागरिक सञ्जालका संयोजक चित्रबहादुर मल्लले आर्थिक स्वार्थका लागि उपभोक्ता समितिमा बस्न हानथाप हुनु दुर्भाग्य भएको बताए ।

‘गाउँमा घुमफिर गर्न जाँदा नयाँ विकास केही देख्न पाइँदैन, राज्यबाट आएको करोडौं बजेट कहाँ गइरहेको छ ?’ उनले भने, ‘नगरपालिकामा दुई वर्षको बजेट खर्च भएर अहिले तीन वर्षमा लाग्दै छ तर विकासको उपलब्ध भने अत्यन्तै न्यून छ ।’ कतिपय सहभागीले कर्मचारी र प्राविधिकको आनीबानीले विकासले गति लिन नसकेको बताए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीय तहका जनप्रतिनिधिले जवाफदेही, पारदर्शिता र उत्तरदायी भएर काम गरेमा परिणाम देखिने बताए । नगरप्रमुख हरिजंग शाहीले सरोकारवालाले दिएको सुझावअनुसार नगरको समृद्धिमा काम गर्ने बताए ।

प्रकाशित : असार २९, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?