कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

च्याउ लागेर १२ बिरामी

हरि गौतम

रुकुम पश्चिम — जंगलबाट ल्याएको विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । शनिबार दिउँसो जंगलबाट ल्याएका च्याउ खाएर सुतेकाहरु रातिदेखि बिरामी परेका थिए । मुसीकोट नगरपालिका-१, चन्दननाथ टोलका १२ जना बिरामी परेका हुन् ।

सोही टोलका ८ वर्षीया अन्जु केसी, ६ वर्षका अनोज केसी, १२ वर्षका रमेश केसी, १५ वर्षका नविन केसी र १७ वर्षकी कल्पना केसी बिरामी परेका छन् ।


यसैगरी ५४ वर्षीया चन्द्रकुमारी गिरी, २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी पनि विषालु च्याउ खाएर बिरामी परेका छन् । ३० वर्षीया मनिषा बुढा, ६० वर्षकी देवी खनाल, वर्ष १३ को नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि च्याउ खाएकै कारण बिरामी परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।


बिरामी सबैको मुसीकोट नगरपालिका–१, स्थित साझा अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।


वान्ता हुने, वाकवाकी लाग्ने, पेट ढुस्स हुने जस्ता लक्षण देखिएपछि उनीहरुलाई अस्पताल ल्याइएको थियो । पहिला आउने बिरामी शनिबार राति ९ बजे आएका थिए भने अन्तिममा आउने बिरामी बिहान २ बजे अस्पताल पुगेका थिए । हाल सबैको अवस्थामा सुधार आइसकेको उपचारमा संलग्न डा.दिपक पुनले बताए । सुरुमा बालबालिकालाई समस्या देखिएपछि अरु पनि आत्तिएको भनाई डा.पुनको छ ।

प्रकाशित : असार २९, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?