अविरल वर्षाले ५ दिनदेखि हवाई सेवा अवरुद्ध
डोल्पा — अविरल वर्षा कारण डोल्पाको हवाई सेवा ५ दिनदेखि अवरुद्ध हुँदै आएको छ । जसका कारण यात्रुहरु लामो समयदेखि होटेलमा बस्न तथा पैदल यात्र गरेर नेपालगञ्ज, सुर्खेत तर्फ झर्न बाध्य छन् ।
वर्षा र बादलका कारण नेपलगञ्ज र सुर्खेतबाट डोल्पाका लागि हुने सम्पूर्ण हवाई उडानहरु ५ दिनदेखि अवरुद्ध रहेका छन् । हवाई यातायात अवरुद्ध भए पछि यात्रुहरु डोल्पाबाट विभिन्न शहरमा झर्ने यात्रुहरु विमानस्थल जुफालमा ५ दिनदेखि अलपत्र परेको विमानस्थलको ठूलीभेरी नगरपालिकाको ८ नम्बरका वडाअध्यक्ष हरिप्रसाद डाँगीले बताए ।
हप्ताअघि देखि उठेको कुहिरोले आकाश पूर्ण रुपमा अन्धकारमय बनाएको छ । कुहिरो सँगै अविरल वर्षा भैरहेकाले हिडेर यात्रा गर्न पनि बाढी र पहिरोको जोखिम बढेको छ । पैदल यात्रा पनि जोखिमपूर्ण र हवाई यातायात पनि अवरुद्ध भए पछि आर्थिक वर्षको अन्तिम भूक्तानी लिन कर्णाली प्रदेश केन्द्र सुर्खेत झर्न नपाएर समस्या सिर्जना भएको शुभकामना आधारभूत विद्यालय रह डोल्पाका प्रधानाध्यापक शेरबहादुर राउतले बताए ।
वर्षाले हवाई सेवा अवरुद्ध हुनुका साथै पैदल यात्रा पनि बाढी पहिरोका कारण जोखिमपूर्ण बने पछि शिक्षक सेवा आयोगमा सफल भएका शिक्षकहरु अन्तर्वार्ता दिन झर्नेहरु, एसइइ उत्तिर्ण भई कक्षा ११ मा भर्ना हुन झर्नेहरु, विभिन्न विकास योजनाको भूक्तानी लिन सुर्खेत झर्नेहरु लगायतका यात्रुहरुलाई निकै समस्या परेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए ।
अविरल वर्षाले विभिन्न खोला नालाहरुमा पानीको उच्च बहाव बढेको छ । पानीको वहाव उर्लेको भए पनि त्यसले शनिबार दिउँसोसम्म जिल्ला भरी शान्त रहेको प्रमुख जिल्ला अतिकारी मुकेशकुमार केसरीले जानकारी दिए । उनका अनुसार वर्षाले जिल्लाका विभिन्न खोलानालाहरुमा पानीको उच्च बहाव बढेको छ ।
जतिवेला पनि बाढीपहिरोले क्षति गर्न सक्छ । बाढीपहिरोबाट बच्न सबैलाई सचेत गराइएको छ । प्राकृतिक प्रकोपबाट बच्नका लागि बनाइएको प्रतिकार्य योजना अनुसार सूचना संकलन, बाढी पहिरो जान सक्ने अवस्थाको म्यापिङ् गर्ने, विपद जोखिम न्यूनीकरण गर्नका लागि सबैसँग सहयोग र सहकार्यका लागि आग्रह गर्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी केशरीले बताए । उनले थपे सम्पूर्ण सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।
प्रकाशित : असार २८, २०७६ १३:३४