कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जीर्ण सडकले दुर्घटना बढ्यो

विप्लव महर्जन

सल्यान — जिल्लामा बर्सेनि दुर्घटना बढदै गएको छ । सडक जीर्ण बन्दै जानु, तीव्र गति, ट्राफिक नियम उंलघन, मादक पदार्थ सेवनलगायत कारण दुर्घटना बढेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव ०७३/७४ मा ४६ दुर्घटना हुँदा १२ जनाको मृत्यु भयो भने ४२ घाइते भए ।

त्यस्तै ०७४/७५ मा ३७ दुर्घटना हुँदा २० जनाको मृत्यु भयो भने १ सय २९ घाइते भए । चालु आवको साउनदेखि असारसम्म ९१ गाडी दुर्घटनामा हुँदा १८ जनाको ज्यान गएको छ भने १ सय ६० घाइते भएका छन् । मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा बढी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । जिल्ला ट्राफिक इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) ज्ञानेन्द्र शर्माले चालकको लापरबाही र यान्त्रिक खराबीले पनि दुर्घटना बढदै गएको जानकारी दिए ।


दुर्घटना न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । जोखिमयुक्त सडकमा सूचना बोर्ड टाँस गरिएको प्रहरीको भनाइ छ । ‘गत वर्षको तुलनामा यस वर्ष ठूला घटना बढी भएका छन्,’ शर्माले भने, ‘सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् ।’ उनले ठूला गाडीले बढी रकम आम्दानी गर्ने लोभमा तीव्र गतिमा सञ्चालन गर्दा दुर्घटना बढेको बताए । यात्रुबाहक गाडीले क्षमताभन्दा बढी यात्रु र सामान राख्दा पनि दुर्घटनाको जोखिम बढेको उनले बताए ।


चालु आवमा ९ ट्रक, ९ बस, १३ ट्र्याक्टर, १८ जिप र ४२ मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर दैनिक २ सय ५० बढी यातायातका साधन सञ्चालन हुने गरेका छन् । विगतको तुलनामा सवारी साधनको चाप बढदै गएका पनि दुर्घटनाको दर बढेको हो । सबैभन्दा बढी दुर्घटना सल्लीबजार आसपास र कपुरकोटदेखि लुहामसम्मको क्षेत्रमा हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले सडक जीर्ण, साघुँरो र खाल्डाखुल्डीसहितको भएकाले दुर्घटनाको बढेको बताए ।


उनका अनुसार कच्ची सडकमा बढी दुर्घटना हुन थालेका छन् । उनले सोमबार मात्रै कपुरकोट गाउँपालिका ३, मा ना.४ख ९७११ नम्बरको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु र ८ जना घाइते भएको जानकारी दिए । उनले विद्यालयमा समेत सचेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गरिएको जनाए । नियम उल्लंघन बढेसँगै राजस्व पनि बढेको प्रहरीको भनाइ छ । कार्यालयका अनुसार गत वर्ष १० हजार ३ सय सवारीसाधन कारबाहीमा पर्दा ५४ लाख रुपैयाँ जरिवाना संकलन भएको छ । यस वर्ष ५० लाख रुपैयाँ बढी राजस्व संकलन भएको इञ्चार्ज शर्माले जानकारी दिए ।

प्रकाशित : असार २५, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?